प्रधानमन्त्री बाँडिरहेका प्रचण्ड

देशमा प्रधानमन्त्रीको ‘भ्याकेन्सी’ खुलेको छ । उपयुक्त उम्मेदवारको आह्वान गर्दै राष्ट्रपति डा. रामवरण यादवले भ्याकेन्सीको म्याद दोस्रोपटक थप गरेका छन् । सडकमा थुपै्र उम्मेदवार पैदा भएका छन् तर ‘योग्यता’ नपुगेका । यस पदका लागि न्यूनतम योग्यता हो, सबै दलहरूको समर्थनप्राप्त भएको हुनुपर्ने । तर,  त्यस्तो योग्यता कुनै पनि उम्मेदवारले पुर्‍याउन सक्ने सम्भावना निकट भविष्यमा देखिँदैन । देशको राजनीतिक ‘मुड’ हेर्दा या त राष्ट्रपतिले भ्याकेन्सीको म्याद अनन्तकालसम्म लम्ब्याइरहनुपर्ने हुन्छ, या त न्यूनतम योग्यता खारेज गरेर एकजनालाई आफैँले टीका लगाइदिएर कुर्सीमा बसाल्नुपर्ने हुन्छ । न हाँसको चाल न कुखुराको चालमा रहेका राष्ट्रपति यतिबेला सम्भवत: चरम द्विविधामा छन् ।
अहिलेको कचपल्टिएको राजनीतिक माहोल कसैका लागि सबैभन्दा अनुकूल बनेको छ भने त्यो केवल एमाओवादी अध्यक्ष पुष्पकमल दाहालका लागि छ । उनी यस्तै माहोलमा खेल्न र लडिबुडी गर्न चाहने राजनीतिज्ञ जो हुन् । यतिबेला प्रचण्डको खल्तीभरि प्रधानमन्त्रीहरू छन् । आफूले भेटेजतिका सबैलाई (सम्भवत: आफैँलाई पनि) प्रधानमन्त्री बाँडिरहेका छन् । आफ्नै पार्टीका उपाध्यक्ष प्रधानमन्त्रीको कुर्सीमा रहे पनि यो सरकारसित उनको भावनात्मक सम्बन्ध छैन । यो सरकार ढलेमा उनलाई दु:ख–मनाउ हुने कुनै कारण पनि छैन । त्यही भएर, यी सर्वसक्तिमान नेता बाटोमा जो भेट्छन्, उसलाई प्रधानमन्त्रीको अफर गर्छन् । आखिर अफर गर्दैमा उनको के जाने हो र ? कांग्रेसका शेरबहादुर देउवादेखि एमालेका माधवकुमार नेपालसम्म, आफ्नै पार्टीका नारायणकाजी श्रेष्ठदेखि आफ्नो पार्टीबाट फुटेर बनेको नेकपा–माओवादीका रामबहादुर थापासम्म दर्जनौँ नेतालाई प्रधानमन्त्री पदको आश्वासन बाँडिसकेका छन् उनले । उनको आश्वासनबाट पछिल्लोपटक घाइते भएका थिए, नेपाली कांग्रेसका अध्यक्ष तथा ‘सन्त नेता’ सुशील कोइराला । अघिल्लो दिन प्रचण्डले कांग्रेसलाई भने, प्रधानमन्त्रीको उम्मेदवार लिएर आऊ, हामी समर्थन गर्छौं । कांग्रेसले भोलिपल्टै सभापति कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गर्‍यो । बूढा कोइराला फिसिक्क हाँसे ।
तर, भोलिपल्टै प्रचण्डको बोली फेरियो । उनले अत्तो थापे, संविधानका आधारभूत विषयमा सहमति नभईकन केको प्रधानमन्त्री, केको नयाँ सरकार ? कोइराला जिल्ल परे । कांग्रेस स्तब्ध बन्यो । अहिले प्रचण्डले फेरि आफ्नो खल्तीबाट एकथान प्रधानमन्त्री झिकेर मधेसी दलहरूलाई देखाएका छन् । प्रचण्ड भन्छन्, ‘अब पालो तिमीहरूको हो । सुशीलको नाममा कुनै हालतमा सहमति हुन सक्दैन । त्यसैले मधेसी मोर्चाबाट प्रधानमन्त्री बनाउनुपर्छ ।’ प्रस्ट छ, प्रचण्डको यस्तो अभिव्यक्तिले मधेसी मोर्चाका केही नेता शिरदेखि पाउसम्म तरंगित बनेका छन् । उनीहरूको नशामा प्रधानमन्त्री दौडिन थालिसकेको छ । मधेसी मोर्चाभित्र को प्रधानमन्त्रीको उम्मेदवार बन्ने त भन्ने प्रश्न जन्माउने  र उनीहरूमा पनि फुट ल्याउन निश्चितप्राय: देखिन्छ । प्रचण्डको प्रस्ताव सहमति गरेर देशलाई राजनीतिक निकास दिने होइन, अहिलेको राजनीतिक अन्योललाई आफ्नो शक्ति र प्रभावले दुरुपयोग गर्नेतिर केन्द्रित रहेको पाइन्छ ।
यता, प्रधानमन्त्री पदको हानथाप भइरहँदा डा. भट्टराई नेतृत्वको सरकार भने मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेको समाचार बाहिर आएको छ । सम्भवत: भट्टराई सरकार ढुक्क छ, निकट भविष्यमा नयाँ सरकार बन्नेछैन र कामचलाउका नाममा अझै लामो समयसम्म आपैँmले राज गर्न पाइनेछ । हुनसक्छ, प्रचण्डले नै सरकारलाई यस्तो तयारी गर्न निर्देशन दिएका हुन् । यदि, साँच्चिकै भट्टराईले अहिले मन्त्रिपरिषद् विस्तार गरे भने त्यो विपक्षी दलहरूका निम्ति सबैभन्दा ठूलो झापड हुनेछ । त्यतिबेला पनि उनीहरूले सरकारको विरोधमा भाषणबाजी गर्नेभन्दा बढी केही गर्न सक्ने छैनन् ।

प्रतिक्रिया