भ्रष्टाचारले सिध्याउने हो कि भन्ने डर छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिक र प्रशासनिक दुवै क्षेत्रबाट बढी भ्रष्टाचार हुने गरेको स्वीकार गरेका छन् । ठूला भ्रष्टाचारीलाई राजनीतिक दल र उच्च प्रशासनिक निकायबाट निरन्तर संरक्षण हुन थालेपछि भ्रष्टाचार मौलाएको प्रधानमन्त्री डा. भट्टराईको स्विकारोक्ति छ । प्रधानमन्त्रीले भने, ‘मेरो एक वर्षको अनुभवले के भन्छ भने हामीले देशबाट भ्रष्टाचारलाई अन्त्य गर्न सक्नुपर्नेमा कतै हामीलाई नै भ्रष्टाचारले सिध्याउने हो कि भन्ने डर लागेको छ ।’
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले केही सरकारी निकायको नामै उल्लेख गरी भ्रष्टाचारको अखडा भएको बताए । भने, ‘विकास अड्डाहरू स्थानीय, शिक्षा, स्वास्थ्य र भूमिसुधारमा सबैभन्दा बढी भ्रष्टाचार हुने गरेको मैले पाएको छु ।’ उनले स्थानीय, शिक्षा, स्वास्थ्य र भूमिसुधारमा कार्यरत सानादेखि ठूला कर्मचारी भ्रष्टाचारमा संलग्न रहेको बताए । ‘तर ती कर्मचारीलाई राजनीतिक दलबाट संरक्षण भएको छ,’ उनले भने, ‘यस्तै कर्मचारीले हामीलाई सिध्याउनेछन् ।’ उनले भ्रष्टाचार देशको ठूलो समस्या भएका कारण यसबाट उन्मुक्ति पाउन दलहरूले भ्रष्टलाई संरक्षण गर्न नहुने बताए । उनले भने, ‘उच्च तहबाट हुने भ्रष्टाचारजन्य गतिविधि रोक्न कठोर कदम नचालेसम्म देशलाई यस दलदलबाट मुक्त गर्न सम्भव छैन ।’ (सौस)

१० हजारको हस्ताक्षर बुझाइयो

काठमाडौं : भ्रष्टाचारविरुद्धको अभियानमा लागेका विभिन्न संघसंस्थाले भ्रष्टाचार नियन्त्रणको माग गर्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई १० हजार हस्ताक्षर बुझाएका छन् ।
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा उनीहरूले आइतवार संकलित हस्ताक्षर बुझाएका हुन् । भ्रष्टाचारविरुद्घ राष्ट्रिय अभियान नेपाल, असल शासन, प्रोपब्लिक र अनलिमिटेड मिडियालगायत संस्थाले प्रधानमन्त्रीका स्वकीय सचिवमार्फत हस्ताक्षर बुझाएको अभियानका संयोजक आरपी पराजुलीले बताए । हस्ताक्षर बुझाउनुअघि उनीहरूले शान्तिबाटिकादेखि सिंहदरबारसम्म र्‍याली निकालेका थिए । (सौस)

प्रतिक्रिया