सेनाको रासन ठेक्कामा साढे ३ करोड अनियमितताको दाबी

काठमाडौं, २४ मंसिर । जुम्लास्थित नेपाली सेनाको २४ नम्बर बाहिनीको रासन ठेक्कामा करोडौँ रकम अनियमितता भएको दाबी गर्दै शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । मध्यपश्चिममा क्रियाशील ठेकेदारहरूले रासन ठेक्कामा नेपाली सेनाको समेत मिलेमतोमा करोडाँ रकम अनियमितता भएको दाबी गर्दै अख्तियार, नेपाली सेनाको जंगीअड्डा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उजुरी दर्ता गराएका छन् ।
२४ नम्बर बाहिनीका जर्नेल दीपक कार्की र सिडिओको मिलेमतोमा बाहिरी ठेकेदारहरूलाई प्रतिस्पर्धा नै गर्न नदिई महँगो दरका ठेकेदारको मात्र दरखास्त लिएको आरोप लगाइएको छ । जर्नेल र सिडिओको मिलेमतोमा ३ करोड ६५ लाखभन्दा बढी आर्थिक अनियमितता भएको जिकिर उजुरीमा गरिएको छ । शंकर/यादव जेभी सुर्खेतका तर्फबाट दायर उजुरीमा जर्नेल कार्कीले १ सय ४१ प्रतिदिन प्रतिजवानलाई खाना खुवाउने गरी पेस गरिएको टेन्डर अस्वीकृत गरी २ सय ५९ रुपियाँ कायम भएको टेन्डर स्वीकृत गरेको उल्लेख छ । गत वर्ष जुम्लामा कार्यरत नेपाली सेनाका लागि प्रतिदिन प्रतिव्यक्ति १ सय ६९ रुपियाँमा ठेकेदारले रासन खुवाएका थिए । यस वर्ष भने २४ नम्बर बाहिनीले २ सय ५९ का दरले रासन खुवाउने गरी रतन खड्काको नाममा रहेको खड्का रासन सप्लायर्सको टेन्डर स्वीकृत गरेको छ । ‘यो अघिल्लो वर्षको तुलनामा ५४ प्रतिशत बढी रेट हो,’ उजुरीकर्ता सूर्यबहादुर खड्काले भने ।
राज्य संयन्त्रको समेत प्रयोग गरी राज्यकोष दुरुपयोग गरेका कारण छानबिन गर्न उजुरीमा माग गरिएको छ । जंगीअड्डाले १५ असोजमा देशभर रहेका नेपाली सेनाको रासन ठेक्काका लागि दरखास्त आह्वान गरेको थियो ।
त्यसैगरी, मध्यपश्चिमका अन्य जिल्लामा पनि ठेकेदार एसोसिएसन र ठेकेदारले प्रतिस्पर्धाविना नै टेन्डर हात पारेका छन् । सल्यान जिल्लामा रहेको भगवती गणको ठेक्कामा पनि ठेकेदार एसोसिएसनले नै अन्य टेन्डर दर्ता गर्न नदिई राज्यकोषको करोडौँ रकम दुरुपयोग गरेको ठेकेदारहरूले बताएका छन् । सल्यानमा क्रियाशील केही ठेकेदारले पनि अख्तियारमा उजुरी हाल्ने तयारी गरेको जनाएका छन् ।
सार्वजनिक खरिद ऐन ०६३ एवं ०६४ अनुसार प्रक्रिया पुगेका जुनसुकै सप्लायर्सले पनि टेन्डर प्रक्रियामा भाग लिन पाउने कानुनी अधिकार छ तर मध्यपश्चिममा रहेका ठेकेदार एसोसिएसन, नेपाली सेनाका प्रमुखको मिलेमतोमा बर्सेनि राज्यकोषको करोडाँै रकम दुरुपयोग हुने गरेको छ ।

प्रतिक्रिया