नक्कल गर्दा जागिर चट्

सिडनी : बेलायती रानी तथा राजाको स्वरको नक्कल गर्ने दुई रेडियो प्रस्तोतालाई जागिरबाट निकालिएको छ । बेलायती राजकुमार विलियमकी गर्भवती पत्नी राजकुमारी क्याथरिन उपचाररत रहेको अस्पतालमा ती रेडियोप्रस्तोताले रानी र राजाको स्वर नक्कल गरेर टेलिफोन गरेका थिए  । उनीहरूको फोन उठाउने परिचारिकाले आत्महत्या गरेपछि उनीहरूलाई जागिरबाट निकालिएको हो ।
अस्ट्रेलियाको सिडनीमा रहेको ‘टुडे एफएम’का दुई प्रस्तोताले आफूलाई बेलायती महारानी एलिजावेथ द्वितीया र विलियम्सका पिता चाल्र्स बताउँदै हस्पिटलमा फोन गरेका थिए । नर्स ज्यासिन्था साल्डानाले उनीहरूको फोन उठाएकी थिइन् । त्यसपछि उनले आफ्ना सहकर्मीलाई फोन पास गरेको र उनीहरूले क्याथरिनको स्वास्थ्यका बारे फोनबाट जानकारी गराएका थिए । साल्डाना शुक्रबार मृत अवस्थामा फेला परेकी थिइन् । अस्पताल प्रमुखले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेका छन् । रेडियो केन्द्रले रेडियो प्रस्तोताद्वय नर्सको मृत्यु भएको घटनाबाट स्तब्ध भएको उल्लेख गरेको छ । टुडे एफएम तथा त्यसका मालिकले यी प्रस्तोतालाई अर्को सूचना नभएसम्म काममा नफर्कन निर्देशन दिइएको उल्लेख गरेका छन् ।
नर्सको मृत्युभएको समाचार बाहिर आउनासाथ उक्त रेडियो स्टेसनका फेसबुक पानामा हजारौँ टिप्पणी आएका थिए । धेरैले यी दुई प्रस्तोतालाई बर्खास्त गर्न माग गरेका थिए । रानीको स्वर नक्कल गरी लिइएको समाचार अस्ट्रेलियामा व्यापक रूपमा प्रसारण भएको थियो । कसैले यसलाई रमाइलोका रूपमा दिएका थिए भने कसैले यसबाट राजपरिवारको गोपनीयता भंग भएको टिप्पणी गरेका थिए । (एएफपी)

प्रतिक्रिया