इजिप्टमा सेनाद्वारा हस्तक्षेपको चेतावनी

कायरो : इजिप्टमा राष्ट्रपति मोहम्मद मुर्सी र प्रतिपक्षीबीच जारी राजनीतिक विवाद गहिरिँदै गएपछि त्यहाँको सेनाले वार्तामार्फत विवाद मिलाउन राजनीतिज्ञहरूलाई दबाब दिएको छ । राजनीतिक विवादकै कारण मुलुक ‘अँध्यारो गुफा’ तर्फ उन्मुख हुने सम्भावना देखिए मुलुकको रक्षाका लागि हस्तक्षेप गर्ने चेतावनी सेनाले दिएको छ ।
वार्तामार्फत विवाद नसुल्झाए खराब परिणाम निम्तिनेतर्फ सचेत रहन सेनाले राजनीतिक दलहरूलाई सजग गराएको छ । शनिबार विज्ञप्ती जारी गरी सेनाले सार्वजनिक संस्था र निमुखा जनताको रक्षाप्रती आफू प्रतिबद्ध रहेको प्रष्ट पारेको छ ।
नयाँ संविधानको मस्यौदामा राष्ट्रपतिमाथि असीमित अधिकार रहने प्रावधान उल्लेख भएको भन्दै राष्ट्रपति मुर्सीविरुद्ध विपक्षी दलहरू आन्दोलित भएपछि इजिप्टमा राजनीतिक संकट उत्पन्न भएको हो । मुर्सीमाथि सम्पूर्ण राजकीय शक्ति आफूमा सीमित गरेर तानाशाही बन्न खोजेको आरोप लागेको छ । विवाद बढ्दै गए पछि गत साता राष्ट्रपति मुर्सीले देशको नयाँ संविधानको मस्यौदामाथि डिसेम्बर १५ मा जनमतसंग्रह हुने घोषणा गरेका थिए । तर, राजनीतिक गतिरोध अन्त्य हुने छाँटकाँट नदेखिएकाले निर्धारित मितिमा जनमतसंग्रह हुने अवस्था नभएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।
सरकारले विपक्षीहरूलाई वार्तामार्फत समस्या समाधान गर्न आह्वान गरेको छ । तर, मुर्सीको सत्ता त्याग र जनमतसंग्रह घोषणाको निर्णय फिर्ता नभएसम्म वार्तामा नबस्ने अडान विपक्षीहरूको छ । राष्ट्रपति कार्यालयअघि हजारौँ विपक्षीले सरकारविरुद्ध धर्ना दिने क्रमलाई अझै जारिराखेका छन् । प्रदर्शनकारीलाई तितरबितर पार्ने क्रममा प्रहरीले बल प्रयोग गर्दा बुधबार राति पाँच प्रदर्शनकारीको ज्यान गएको थियो  । राष्ट्रपति मुर्सीको पक्ष र विपक्षमा देशव्यापी र्‍याली निस्कने क्रममा दुवै पक्षबीच झडपका घटना बढ्न थालेपछि संकट समाधानका लागि सेना अग्रसर भएको हो ।
इजिप्टको एउटा टेलिभिजनमार्फत सेनाको विज्ञप्ती बढेर सुनाउँदै सैनिक प्रवक्ताले मुलुको सर्वोपरि स्वार्थ रक्षाप्रति सेना प्रतिबद्ध रहेको जनाए । ‘इजिप्टको सैन्य बलले मुलुकका मुख्य स्वार्थ तथा रुचीको रक्षा गर्नुपर्ने आफ्नो दायित्व बुझेको छ । साथै मुलुकका महत्त्वपूर्ण केन्द्र, सार्वजनिक संस्था र निमुखा जनताको स्वार्थ रक्षा गर्न पनि सैन्य बल कटिबद्ध छ,’ उनले भने । सहमतिमा पुग्ने एकमात्र उपाय वार्ता भएको उल्लेख गर्दै उनले भने, ‘तर यसको विपरीत दिशामा हामी हिँड्यौँ भने हामी अँध्यारो गोरेटोतर्फ डोहोरिनेछौँ र यसको नतिजा विध्वंशात्मक हुनेछ । हामी यस्तो अवस्था आउन दिने छैनौँ ।’
सन् २०१२ को फेब्रुअरीमा इजिप्टका पूर्वशासक होस्नी मुबारकको पतन भएयता त्यहाँको सेनाले अन्तरिम सरकार सम्हालेको थियो । त्यसपछि भएको आम निर्वाचनबाट मुस्लिम ब्रदरहुडले बहुमत हासिल गरेपछि मुलुकको सर्वोच्च कार्यकारी पदमा मुस्लिम ब्रदरहुडका नेता मुर्सी पुगेका थिए । त्यसपछि उनले शासनमा आफ्नो पकड जमाउँदै लगेका थिए । तर, अन्तरिम संविधानको मस्यौदालाई लिएर विपक्षीसँग चुलिएको उनको विवादले मुलुकमा हिंसा निम्त्याउने सम्भावना देखिएपछि सेनाले देखाएको सक्रियताले इजिप्टको राजनीतिमा नयाँ तरंग सिर्जना भएको छ । इस्लामिक कट्टरपन्थीको दबदबा रहेको मुर्सीको दलले भने मुर्सीको समर्थनमा र्‍याली निकाल्दै आएको छ । विशेष गरी धर्मनिरेपेक्षताको वकालत गर्ने र क्रिस्चियन समुदायका मानिसले भने उनको विरोध गर्दै आएका छन् । (एजेन्सी)

प्रतिक्रिया