आँधीपीडित लुटपाटमा

टागुम : फिलिपिन्समा हालै आएको बोफा चक्रवातबाट पीडितहरूले उद्धार सामग्री नपाएपछि दक्षिणी नगर क्याटिलका पसल तथा गोदाम लुटेका छन् । सरकारले उद्धार तथा सहयोग कार्य सञ्चालन गर्न पठाएका विशेषज्ञ सेड्रिक डाएपले खाद्य सामाग्री आउन निकै समय लागेको र स्थानीय भोका व्यक्तिहरूले खानेकुरा खोजीमा नजिकका भवनहरूमा आक्रमण गरेको बताए ।
पीडित बासिन्दाले मंगलबार गोदाम तथा खाना पाइने पसल तोडेको जानकारी ती विशेषज्ञले दिए । अधिकारीहरूले चक्रवातले सडक तथा पुल भत्काउँदा क्याटिल, बगांगा तथा बोस्टनका करिब एक लाख ५० हजार अलपत्र परेको जानकारी दिएका छन् । त्यस क्षेत्रको ९७ प्रतिशत भवन भत्केको बताइएको छ ।
चक्रवातका कारण पाँच सय भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने सयौँ हराइरहेका छन् । फिलिपिन्सका नौसैनिक जहाज ३१ टन आपत्कालीन सामग्री तथा १३२ स्वयंसेवी साथ बगांगा पुगेको बताइएको छ । विशेषज्ञले टागुम नगरबाट यस नगरले सन् १९२२ मा मात्र यस प्रकारको चक्रवात भोगेको र उनीहरूसँग यस्ता चक्रवात सामना गर्ने कम निकै क्षमता भएको जानकारी दिए । विशेषज्ञले पीडितलाई खाना, सफा खाने पानी, आवास तथा लुगाको आवश्यकता रहेको बताएका छन् । (एएफपी)

प्रतिक्रिया