मारिए मोस्ट वान्टेड

नेपालगन्ज, २४ मसिर । बाँकेमा भएका आधा दर्जन भन्दा बढी विस्फोट र अपहरणका घटनाका मुख्य अभियुक्त हिरमिनिया–९ का २६ सुखी लोनिया प्रहरीबाट मारिएका छन् । प्रहरीमाथि गोली चलाएपछि जवाफी कारबाहीमा उनी मारिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतको विशेष टोली र जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले लोनिया लुकिछिपी बसेको सुराक पाएपछि शनिबार दिउँसो गंगापुर–१ मा छापा मारेको थियो । ‘छापा मार्ने क्रममा उम्कन सफल भएको लोनियाले पिछा गर्दै गरेका प्रहरी टोलीमाथि गोली चलाएपछि जवाफी कारबाहीमा मारियो,’ डिएसपी सूर्य केसीले भने ।
डिएसपी केसीका अनुसार, लोनियाका  साथबाट एक थान कटुवा पेस्तोल, त्यसमा प्रयोग हुने एक थान गोलीको खोका, एक थान मोबाइल बरामद गरिएको छ ।
लोनियाको पोस्टमार्टमपछि लाश सदगदका लागि आफन्तको जिम्मा लगाइएको केसीले बताए । उनका अनुसार विभिन्न आपराधिक घटनामा संलग्न लोनिया बाँके प्रहरीको मोस्ट वान्टेड सूचीमा थिए ।
उनीमाथि एक वर्षअघि गनापुर–७ स्थित वागेश्वरी आइरन स्टील प्रालिमा सकेट बम विस्फोट गराउने कार्यमा संलग्न रहेको अभियोग छ । यस्तै मनकामना ग्यास उद्योग गनापुरमा बम विस्फोटन गराएको, मनिकापुर–२ का भुलु लोनियाका घरमा बम राखेको, विस्फोटक पदार्थ ऐन मुद्दामा फरार रहेको, कथ्था उद्योगमा बम विस्फोटन गराउने कार्यमा संलग्न रहेको, बेलहरी–७ का अयोध्याप्रसाद लोनियाको घरमा सकेट बम र गन्धकलगायतका विस्फोटक पदार्थ राख्ने कार्यमा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
यस्तै, हिरिमिनिया–८ का भूपेन्द्र सिंहलाई अपहरण गरी फिरौती रकम लिने कार्यमा संलग्न रहेको, कारकादो–१ का सन्तोष साहुलाई रूपैडियाबाट अपहरण गर्ने कार्यमा संलग्न रहेको,  नेपालगन्ज–१६ स्थित प्रहरी जवान हरिबहादुर बोहरालाई गोली प्रहार गरी ज्यान मार्ने उद्योग र हातहतियार तथा खरखजना मुद्दामा फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया