सहमतिका लागि ६ दिनको पुनः म्याद

काठमाडौं, २२ मंसिर । प्रमुख राजनीतिक दलहरुको सुझाव र आग्रहमा राष्ट्रपति डा.रामवरण यादवले सहमतीय सरकार बनाउन ६ दिनको समय उपलब्ध गराएका छन् ।
राष्ट्रपति डा.यादव र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच आज विहान शीतल निवासमा भएको भेट पछि ६ दिनको समय पुनः थप गरिएको हो । यस अघि डा.यादवले सहमतीय सरकार बनाउँन भन्दै दलहरुलाई एक÷एक साताको समय उपलब्ध गराई गराएका थिए ।
प्रमुख दलहरुको आ–आफ्नै अडानका कारण तोकिएको समयमा सहमतीय सरकार बन्न सकेको छैन । कांग्रेसले प्रधानमन्त्री उम्मेदवारमा सभापति सुशील कोइरालालाई अघि सारेको छ ।
एमाओवादीले संविधानका विवादित विषयमा पहिला सहमति गरेमा मात्रै कांग्रेसलाई सरकारको नेतृत्व दिन सकिने अडान राखे पछि नयाँ सरकार गठनको विषय रोकिएको छ ।
बिहीबार बसेको प्रमुख दलको सहमतिमा अध्यक्ष दाहालले डा.यादवलाई भेटेर समय थप्न आग्रह गरेको नेताहरुले बताएका छन् ।

 

 

 

 

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले संवत् २०६९ साल मंसिर १४ गते सम्ममा नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा (१) बमोजिम राजनैतिक सहमतिका आधारमा प्रधानमन्त्रीको चयन र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठनका लागि उपयुक्त प्रस्ताव सिफारिस गर्न राजनीतिक दलहरुलाई संवत् २०६९ मंसिर ८ गते शुक्रबारका दिन आह्वान गर्नु भएकोमा राजनैतिक दलका नेताहरुले राजनैतिक सहमति कायम गरी प्रधानमन्त्रीको चयन र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठनका लागि थप समय माग गर्नु भएको हुँदा माग बमोजिम मिति २०६९ मंसिर २१ गते बिहीबारका दिन सम्म समय थप गर्नु भएकोमा राजनैतिक दलका नेताहरुले सहमति कायम गरी प्रधानमन्त्रीको चयन र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गर्नका लागि पुनः थप समय माग गर्नु भएको हुँदा माग बमोजिम सम्माननीय राष्ट्रपतिले मिति २०६९ मंसिर २७ गते बुधबारका दिन सम्म राजनैतिक सहमति कायम गरी प्रधानमन्त्रीको चयन र मन्त्रिपरिषद् गठन गर्नका लागि समय थप गर्नु भएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।

आज्ञाले,

(हरिकुमार श्रेष्ठ)
प्रवक्ता

प्रतिक्रिया