औषधिको घट्दो असर

जीवन–मरणको दोसाँधमा रहेको बेला प्रयोग हुने औषधि नै निष्प्रभावी भयो भने के हुन्छ ? औषधिभन्दा रोगका कीटाणु बलिया हुन पुगे भने के हुन्छ ? सम्भावित परिणामप्रति को जिम्मेवार रहने ? यस्ता केही सवाल उठाएको छ भर्खरै सार्वजनिक औषधि–कीटाणुसम्बन्धी एक समाचारले । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले विभिन्न जिल्लामा सञ्चालित ११ वटा सरकारी प्रयोगशालामा गरेको परीक्षणले टाइफाइड, हैजा, क्षयरोग, निमोनिया र यौनजन्य रोगको उपचारका लागि प्रयोग हुने एन्टिबायोटिक औषधिभन्दा ती रोगका कीटाणु बलिया रहेको तथ्य बाहिर ल्याएको छ । सम्बन्धित चिकित्सकले लामो समयदेखि एन्टिबायोटिक औषधिको जथाभावी प्रयोगले गर्दा अहिले ती औषधिले काम गर्न छाडेको र औषधि निष्प्रभावी हुनुमा चिकित्सक, औषधि पसले र स्वयं बिरामी नै पनि जिम्मेवार रहेको ठहर गरेका छन् । खासगरी साना समस्यामा पनि बिरामीले सहजै एन्टिबायोटिक खाने, पूरा कोर्ससम्म नखाने, बजारमा उपलब्ध जस्तासुकै औषधि पनि खाइहाल्ने आदि केही कारण औँल्याइएका छन् औषधिको असर कम देखिनुका पछाडि ।
नेपालमा हैजाका बिरामीलाई अक्सर दिइने कोट्रिमोक्जिल, फिडाजोडेलिन नलिडिक्सिस एसिडले काम गर्न छाडेको र ती औषधिको सट्टा दिइन थालिएका अन्य औषधिले ३० प्रतिशत काम गर्न सकिरहेका छैनन् । झाडाजन्य रोगमा एन्टिबायोटिक ५० प्रतिशतसम्म, निमोनिया रोगहरूमा ८० प्रतिशतसम्म र महिलामा बढी देखिने गोनोरिया रोगमा ७५ प्रतिशतसम्म निष्प्रभावी भएको पाइएको छ । केन्द्रीय प्रयोगशालाले सरकारी अस्पतालमा एमोक्सिलिन, पेनिसिलिनसमेत त्यस्ता कतिपय प्रचलित औषधि प्रयोगमा नल्याउन र तिनको ठाउँमा नयाँ औषधि चलाउन निर्देशन दिएको छ । उक्त परीक्षण माथि उल्लेखित रोगका बारेमा मात्र हो, अथवा अन्य रोग र तिनको उपचारक्रममा पनि औषधिको यस्तै अवस्था छ भन्ने चाहिँ थप परीक्षणको विषय हो ।
तर, जे जति तथ्य सार्वजनिक भएको छ, त्यसै आधारमा मात्र पनि भन्न सकिन्छ– एन्टिबायोटिक औषधि प्रभावहीन बन्दै गइरहनु प्रहसनको विषय हुनै सक्दैन । यसले देशको स्वास्थ्य सेवा (मेडिकल सेक्टर) को हालसम्म चर्चामा नल्याइएको एउटा संगीन पक्ष उद्घाटित गरेको मान्नुपर्ने हुन्छ । रोग र सम्बन्धित औषधि प्रेस्क्राइब गर्दा खकार, दिसा, पिसाब, घाउको पिप, रगत आदिमा कीटाणु बढी रहने हुँदा आवश्यकता अनुसार तिनीहरूको कल्चर र सेन्सिटिभिटी परीक्षण गरेर कीटाणु पत्ता लगाउनुपर्ने काममा हाम्रा चिकित्सिक कति गम्भीर छन् ? सोच्नुपर्ने हुन्छ ।
चिकित्सक पेसामा प्रवेश गर्नका लागि मेडिकल काउन्सिल पास गरे पुग्छ तर त्यसपछि ती ‘बोनाफाइड’ चिकित्सकरूका बारेमा खासै अनुगमन भएको पाइँदैन, अर्थात् उनीहरू कुन किसिमले चिकित्सकीय सेवा प्रदान गरिरहेका छन् वा छैनन्, अथवा ‘सेतो गाउनको समुचित मर्यादा’ कायम राख्न सकिरहेका छन्/छैनन् भनेर सम्बन्धित कसैले चासो राखेको देखिँदैन । यस्तोमा समस्या एन्टिबायोटिक औषधिहरू यतियति प्रतिशतमा निष्प्रभावी हुन थाले भनेर होइन, चिन्ता लिनुपर्ने विषय हो– नाम सुनेनसुनेका विभिन्न कम्पनीबाट आएका नयाँनयाँ नामका औषधि प्रयोग गर्न दिनेसम्बन्धमा गम्भीर अनुगमन गर्नेतिर सोच्नु पर्ने हो वा होइन ? अचेल विभिन्न अस्पताल, क्लिनिक र ल्याबहरूमा सुटेडबुटेड मेडिकल रिप्रजेन्टेटिभहरू, अर्थात् ‘एमआरहरू,’ लर्को लाएर चिकित्सकहरूलाई भेट्न धर्ना दिए झैं बसिरहेका भेटिन्छन् । बेग्लाबेग्लै कम्पनीको प्रतिनिधित्व गर्ने ती एमआरहरूले बोक्ने ‘स्याम्पल’ औषधिहरू अनेक चिकित्सिकले सोझै ‘रिफर’ गरिदिएका हुन्छन् । यसरी अप्रमाणित औषधि रिफर गरिँदा एकातिर बिरामीमाथि त्यसको निर्बाध परीक्षण हुन्छ भने अर्कोतिर औषधि बिक्री गरिएवापत कमिसनको खेल पनि निर्बाध अगाडि बढ्छ ।
एन्टिबायोटिक औषधिहरू कम प्रभावी देखिनुमा अप्रमाणित औषधिहरूको बहुल प्रयोग उत्तिकै दोषी छ । कुनै एक पक्षलाई मात्र दोष दिएर कोही उम्किन सक्ने अवस्था यो होइन । देशमा औषधिको गुणवत्ता कीटानी गर्ने र तिनलाई प्रयोगमा ल्याउन स्वीकृति दिने निकाय छ कतै भने यसतर्फ कामकारबाही अगाडि बढाउन अब विलम्ब गर्नु हुँदैन । ब्याक्टेरियालाई ‘जे खाए पनि पचाउन हजमोला’ चाहिँदैन, कमसल औषधि र कमसल सेवा भए उसलाई पुगीसरी हुन्छ ।

प्रतिक्रिया