कोइराला जिल्ल

काठमाडौं, २१ मंसिर । पार्टीले सर्वसम्मत उम्मेदवार तोके पनि कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री बन्ने वातावरण बिग्रेको छ । अघिल्लो दिन कांग्रेसलाई उम्मेदवार तोक्न दवाव दिएको एमाओवादीले भोलीपल्ट भने संविधानका अन्तरवस्तुमा पहिले सहमति हुनुपर्ने शर्त तेस्र्यायो ।

प्रमुख चार दलको बैठकमा बुधबार एमाओवादीले संविधानको अन्तरबस्तु सम्बन्धी विवाद झिकेको हो । राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसका लागि दोस्रोपटक तोकेको समयसिमा पनि बिहिबार सकिदैछ । एमाओवादीले संविधानका विवादित अन्तरबस्तुमा सहमति नभइ सरकार गठन हुन नसक्ने अडान राखेपछि दलहरुले बिहिबार पनि नाम सिफारिस गर्न नसक्ने भएका छन् ।
सहमतिमा प्रधानमन्त्रीको नाम सिफरिस गर्न राष्ट्रपतिले दोस्रो पटक दिएको समयसिमा सकिनु अघिल्लो दिन भावी प्रधानमन्त्रीको नामका विषयमा बुधवार चार दलको बैठकमा छलफल चलेको थियो । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको लाजिम्पाटस्थित निवासमा भएको बैठकमा कांग्रेसले पार्टी सभापति कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा प्रस्ताव गरेको थियो भने एमाओवादीसहित अन्य दलले स्वीकार गरेका थिए ।
मंगलवारको बैठकमा एमाओवादीले प्रधानमन्त्री हुने ब्यक्तिको नाम तोक्न आग्रह गरेपछि बुधवार कोइरालाका नाममा सर्बसम्मत निर्णय लिएर गएका कांग्रेस नेताहरु जिल्ल परे । एमाओवादीले संविधानका अन्तरबस्तुमा सहमति नभइ सरकारको विषयमा मात्र सहमति हुन नसक्ने अडान राखेपछि एमाओवादीले बखेडा झिकेर सहमति भाँडेको भन्दै उनीहरु बाहिरिएका थिए ।
बैठकमा एमाओवादी सहित सबै दलले सर्बसम्मत रुपमा पार्टीको तर्फवाट प्रधानमन्त्रीको उम्मेदवार बनेकोमा भने खुशीसमेत ब्यक्त गरेका थिए । ‘संविधानसभाले टुंग्याउनु पर्ने संविधानको कुरा आजै टुंग्याउनु पर्ने एमाओवादीले अडान राख्यो,’ एमाले अध्यक्ष झलनाथ खनालले सौर्यसँग भने, ‘प्रधानमन्त्रीको उम्मेदवारमा सहमति भए पनि नयाँ बखेडा उत्पन्न गराइएपछि कुनै सहमति हुन सकेन ।’
स्रोतका अनुसार बैठकको सुरुमै एमाओवादी अध्यक्ष दाहालले कांग्रेस सभापति कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा सर्बसम्मत निर्णय लिएकोमा बधाइसमेत दिएका थिए । ‘तपाईंले सर्बसम्मत रुपमा पार्टीवाट प्रधानमन्त्रीको उम्मेदवार तय गराउनु भयो, त्यसका लागि वधाई’ दाहालको भनाई उद्धृत गर्दै बैठक स्रोतले भन्यो । कांग्रेस सभापति कोइरालाले पनि पार्टीबाट सर्बसम्मतरुपमा प्रधानमन्त्री हुने ब्यक्तिको नाम तय भएको चार दलको बैठकलाई जानकारी गराएका थिए । त्यसपछि दलहरु बैशाखमा संविधानसभाको नयाँ चुनाव गराउन आइपर्ने संबैधानिक र कानुनी विषय तथा संविधानसभा सदस्यको संख्याका विषयमा प्रवेश गरेका थिए । तर, एमाओवादीले संविधानका विवादित अन्तरबस्तु पनि टुंग्याएर प्याकेजमै सहमति नगरे आफुहरुलाई मान्य नहुने प्रस्ताव बैठमा राखेको थियो ।
बैठक सहमतिमा पुग्नै लागेका वेला एमाओवादीले अचानक नयाँ प्रस्ताव ल्याएर सहमति हुन नदिएको विपक्षी दलहरुले वताएका छन् । ‘कांग्रेसले सर्बसम्मत रुपमा सुशीलजीको नाम प्रस्तुत गर्‍यो, बैठकमा हामी सबै दलले स्वागतै गर्‍यौं’ एमाले अध्यक्ष खनालले भने, ‘अव राष्ट्रपतिले दिएको समयभित्र सरकार गठन गर्न सकिन्छ र अर्काे पाइला अघि बढेर राजनीतिक निकास दिन सकिन्छ भन्ने सकारात्मक कुरा भइरहेको वेला संविधान नै अहिले टुंगो लाग्नु पर्छ भन्ने एमाओवादीको कुराले सहमतिमा गाँठो पर्‍यो । अहिले नै चार दलले बसेर चार वर्षमा नटुंगिएको संविधान टुंग्याउने हो भने जनतालाई संविधानसभाको चुनावमा केका लागिग भोट हाल भन्ने ?’
एमाओवादीले संविधानका विवादित विषय पनि अहिले नै टुंग्याउनु पर्ने नयाँ प्रस्ताव ल्याएपछि कांग्रेस नेताहरु एमाओवादीले धोका दिएको भन्दै आक्रोशित भएका थिए । ‘माओवादीले हिजो प्रधानमन्त्रीको उम्मेदवारको नाम ल्याउ भन्यो, आज ल्यायौं’ कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने, ‘आज संविधानका विवादित अन्तरबस्तुमा सहमति खोजौं भनेर नयाँ बखेडा झिक्यो, ऊ बैशाखमा चुनाव नहोस् भन्ने चाहन्छ ।’
एमाोवादीले भने विगतमा भएको सहमति विपरित कांग्रेसले संविधानका विवादित अन्तरबस्तुमा सहमति गर्न र प्याकेजमा सहमति गर्न नचाहेकाले बैठक निश्कर्षमा पुग्न नसकेको वताएको छ । ‘सरकारका विषयमा मात्रै केन्द्रित हुने कुरा थिएन, संविधानका विवादित अन्तरबस्तु र चुनावको तयारी लगायतका विषयमा प्याकेजमै सहमति खोज्ने कुराबाट कांग्रेस पछि हट्यो’ एमाओवादी प्रवक्ता अग्नी सापकोटाले बैठकपछि संवाददाताहरुसँग भने ।
चार वर्षसम्म पनि दलहरुले संविधानका विवादति अन्तरबस्तु टुंग्याउन नसकेपछि संविधान विना नै संविधानसभा विघटन भएको थियो । संविधानसभा विघटन भएपछि पनि एमाओवादीको प्रस्तावमा चार महिनासम्म प्रमुख दलहरु विवादित विषय टुंग्याएर संविधानसभा पुनस्र्थापना मार्फत संविधान जारी गर्ने कसरतमा लागेका थिए । तर विवादित विषयमा सहमति हुन नसकेपछि उनीहरुले दुई महिना अघि नयाँ चुनावमा जाने सहमति गरेका थिए ।
नयाँ चुनावमा जाने दलहरुको निर्णयपछि राष्ट्रपति डा रामवरण यादवले सहमतिमा प्रधानमन्त्रीको नाम सिफरिस गर्न दलहरुलाई आव्हान गरेका थिए । राष्ट्रपतिको पहिलो आव्हानमा सहमति नभएपछि अर्काे एक साताको समय दिएर समयसीमा थप गरेका थिए ।
देउवाको प्रस्ताव, पौडेलको समर्थन
नेपाली कांग्रेसले पार्टी सभापति सुशील कोइरालालाई प्रधानमन्त्री उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले सहमतीय सरकारको प्रधानमन्त्रीका लागि सभापति कोइरालालाई सर्वसम्मतिले अघि सारेको हो ।

कांग्रेसले यसअघि सहमतीय सरकारको नेतृत्व आफूले पाउनुपर्ने दाबी गर्दै आए पनि प्रधानमन्त्री उम्मेदवार कसलाई बनाउने भन्नेबारे केही बोलेको थिएन । मंगलबार बसेको प्रमुख दलहरूको बैठकमा एमाओवादी र एमालेले प्रधानमन्त्री उम्मेदवार मागेपछि कांग्रेसले बुधबार कोइरालालाई अघि सार्ने औपचारिक निर्णय गरेको हो ।
बुधबार बिहान बसेको कांग्रेस पदाधिकारीको अनौपचारिक बैठकले पनि कोइरालालाई प्रधानमन्त्री उम्मेदवार बनाउने निर्णय गरेको थियो । दिउँसो बसेको केन्द्रीय समितिको बैठकले सर्वसम्मतिले त्यसलाई अनुमोदन गरेको हो । कांग्रेसबाट प्रधानमन्त्रीको दाबी गर्दै आएका वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले कोइरालाको नाममा समर्थन जनाएपछि सर्वसम्मति जुटेको हो । पदाधिकारी बैठकमा उपसभापति पौडेलले कोइरालालाई समर्थन गर्ने जनाएका थिए । देउवाले यसअघि नै कोइरालालाई समर्थन गर्ने जनाइसकेका छन् । केन्द्रीय बैठकमा कोइरालालाई उम्मेदवार बनाउन देउवाले गरेको प्रस्तावमा पौडेलले समर्थन जनाए । सबै सदस्यले ताली बजाएर त्यसमा समर्थन गरेका थिए ।
‘वरिष्ठ नेता देउवाले पार्टी सभापतिलाई प्रधानमन्त्री उम्मेदवार बनाउन प्रस्ताव गर्नुभयो र उपसभापतिले समर्थन जनाउनुभयो । सर्वसम्मतिले सभापतिलाई नै भावी प्रधानमन्त्रीका रूपमा अघिसार्ने निर्णय भयो,’ केन्द्रीय सदस्य एनपी साउदले सौर्यसँग भने ।
सहमतीय सरकार गठनका लागि राष्ट्रपतिले दलहरूलाई दोस्रोपटक दिएको समय सकिन एक दिन बाँकी रहँदा कांग्रेसले प्रधानमन्त्री उम्मेदवारको नाम टुंगो लगाएको हो । एमाओवादीले सरकारको नेतृत्वसहित प्याकेजमा सहमति भए कांग्रेसलाई नेतृत्व दिन आपत्ति नहुने जनाएको छ । एमालेले सहमतीय सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्ने भन्दै आएको छ ।
पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय कोइरालाले अहिलेसम्म शासकीय अनुभव भने लिएका छैनन् । देशमा बहुदलीय व्यवस्था आएपछि पार्टी पटकपटक सरकारमा गए पनि उनी कहिल्यै मन्त्री भएनन् । पार्टीभित्र उनलाई लाभको पदका लागि मरिहत्ते नगर्ने त्यागी नेताका रूपमा पनि चिनिन्छ ।
बैठकको सुरुमै सभापति कोइरालाले विभिन्न दलहरूसित भएका छलफलका बारेमा जानकारी गराएका थिए । उनले सबै दलहरूबाट प्रधानमन्त्रीको उम्मेदवारको नाम दिन प्रस्ताव आएकाले टुंगो लगाउन अनुरोध गरेका थिए । उनले पार्टीलाई एकढिक्का बनाएर लैजाने प्रतिबद्धता बैठकमा पटकपटक गरेका थिए । ‘अब पार्टीलाई एकढिक्का बनाएर लैजान्छु, सबैलाई समेट्ने मेरो प्रयत्न हुन्छ । आगामी चुनावमा पार्टी एक भएर जानुको विकल्प पनि छैन,’ सभापति कोइरालाले बैठकमा भने ।
त्यसपछि बोलेका वरिष्ठ नेता देउवाले प्रधानमन्त्रीका रूपमा कोइरालाको नाम प्रस्ताव गरेका थिए । ‘म यो प्रधानमन्त्रीको दौडमा छैन, पार्टी सभापतिलाई उम्मेदवार बनाउन म प्रस्ताव गर्छु,’ देउवाको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य साउदले भने । पार्टीलाई मिलाएर लैजान देउवाले सभापति कोइरालालाई सुझाव दिए । देउवाले गरेको प्रस्तावमा उपसभापति पौडेलले समर्थन जनाए ।
केन्द्रीय सदस्यहरू महेश आचार्य, अर्जुननरसिंह केसी, रामशरण महत, नरहरि आचार्यलगायतले पनि बैठकमा आ–आफ्नो धारणा राखेका थिए । उनीहरूले उम्मेदवार छानेर मात्रै नहुने र सरकारमा सहभागी भए पछि गर्ने काम पनि छनोट गर्नुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया