कांग्रेसमा कोइराला सर्वसम्मत उम्मेदवार

काठमाडौं, २० मंसिर । नेपाली कांग्रेसले सहमतीय सरकारको प्रधानमन्त्री उम्मेदवारमा सभापति सुशील कोइरालालाई सर्वसम्मत अघि सारेको छ ।
पार्टी कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसमिति बैठकले कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो । प्रमुख दलका शीर्ष बैठकमा एमाओवादी र एमालेले प्रधानमन्त्रीको नाम मागे पछि कांग्रेसले कोइरालाको नाम अघि सारेको छ ।
प्रधानमन्त्रीको उम्मेदवारमा नेता शेरबहादुर देउवाले कोइरालाको नाम प्रस्ताव गरेका थिए । देउवाको प्रस्तावलाई उपसभापति रामचन्द्र पौडेलले समर्थन गरेको कांग्रेसले जनाएको छ ।
राष्ट्रपतिले सहमतीय सरकारका लागि दलहरुलाई दोस्रो पटक दिएको समयसीमा सकिनै लाग्दा प्रधानमन्त्री उम्मेदवारको नाम टुङगो लागेको छ । सरकारको नेतृत्वसहित प्याकेजमा सहमति भए आपत्ति नहुँने एमाओवादीको भनाई छ । एमालेले पनि कांग्रेस नेतृत्वलाई स्वीकार गर्ने आश्वासन दिएको छ ।
कांग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माणका लागि २०७० वैशाख भित्र नयाँ संविधानसभाको निर्वाचन गरी ताजा जनादेश प्राप्त गर्नु पर्ने समेत उल्लेख गरेको छ ।

प्रतिक्रिया