आत्महत्याको जानकारी फेसबुकमा †

आफ्ना अनुभव र म्यासेज सेयर गर्न चल्तीको माध्यम बनेको छ फेसबुक । कतिपय अवस्थामा मजाकपूर्ण स्ट्याटस राखेर पनि रमाइलो गर्छन् तन्नेरीहरू । कसैले फेसबुकमा आफूले आत्महत्या गर्न लागेको स्ट्याटस लेख्यो भने तपाईं के ठान्नुहुन्छ ? पक्कै पनि मजाक । किनकि, आत्महत्या गर्ने व्यक्तिले कपीमा सुसाइड नोट लेख्ला, फेसबुकमै जानकारी त किन गराउला र भन्ने तपाईंलाई लाग्न सक्छ । भारतीय बालक शान्तनु नेगीका साथीहरूलाई पनि त्यस्तै मजाक लागेको थियो, जब उनले आफ्नो फेसबुक वालमा यस्तो स्ट्याटस लेखे– ‘सबै जनालाई बाइबाई, तपाईंहरूलाई एकदमै मिस गर्नेछु, म मेरो जिन्दगी अन्त्य गर्दै छु ।’
मजाकैमजाकमा साथीहरूले पनि हल्काफुल्का रमाइला कमेन्टहरू गरिदिए । तर, तिनै साथीहरू अचम्ममा परे, जब शान्तनुले साँच्चीकै सुसाइड गरेको थाहा पाए । स्ट्याटसमुनि साथीहरूका रमाइला कमेन्ट सेयर हुँदै गर्दा शान्तनुले आफूलाई फाँसी लगाइसकेका थिए । आत्महत्याको खबर तुफान जसरी फैलियो । केही घन्टापछि साथीहरूका फेसबुक वाल शान्तनुप्रति श्रद्धाञ्जलीका शब्दहरूले भरिए– तिम्रो आत्माले शान्ति पाओस् । अब, उनीहरू मजाक गरिरहेका थिएनन् ।  यो अनौठो स्ट्याटस र आत्महत्याको खबर सुनेपछि शान्तनुलाई नचिन्नेहरूले पनि लेखेका छन्–  ‘म तिमीलाई चिन्दिनँ तर तिमीले सही निर्णय लिएनौ शान्तनु, भगवान्ले तिम्रो आत्मालाई शान्ति दिऊन् ।’
१६ वर्षका शान्तनु ११ कक्षामा पढ्थे, होनहार विद्यार्थीमध्ये गनिन्थे । गत डिसेम्बर ३ का दिन उनी कोठामा एक्लै थिए । मोबाइलमार्फत फेसबुकमा सन्देश पोस्ट गर्दै थिए । तर, जब आमा छिमेकीको घरबाट फर्किइन्, छोरालाई पासोमा झुन्डिरहेको पाइन् । शान्तनुका केही दिनअघिका म्यासेज रुमानी भावनाका अनि मस्तीपूर्ण शैलीका देखिन्थे । तीमध्ये एउटा यस्तो थियो– म निर्दोष छु, यदि मलाई तिम्रो माया लाग्छ भने यो मेरो दोष होइन । मनोवैज्ञानिकहरूले किशोर वयमा हुने मनोवैज्ञानिक उतारचढावलाई शान्तनुको आत्महत्याको कारण अनुमान गरेका छन् । आत्महत्या प्रचारको यो शैली पढेपछि फेसबुकले दिने स्वतन्त्रता र यसको प्रयोगमाथि पनि अनेकौं सबाल उठ्न थालेको छ । (एजेन्सी)

प्रतिक्रिया