सरकारलाई सडकबाटै फाल्ने चेतावनी

काठमाडौं : सत्तारूढ एमाओवादीले दलहरूबीच सहमति हुन नदिएर सत्ता लम्ब्याउन खोजे आन्दोलनबाटै सरकार हटाउने चेतावनी युवा संघले दिएको छ । पहिलोपटक आयोजना गरिएको विधान सम्मेलनको समापनपछि सोमबार आयोजित पत्रकार सम्मेलनमा संघका नेताहरूले यस्तो बताएका हुन् ।
राष्ट्रपतिले दिएको दोस्रो समय–सीमाभित्र पनि सहमतीय सरकार गठन गर्न नसके दलहरू नालायक सावित हुने भन्दै संघले सहमति हुन नदिने एमाओवादीको चालबाजीप्रति सजग हुन ध्यानाकर्षण गराएका छन् । ‘दलहरूबीच सहमति हुन नदिने र सर्वसत्तावादी शासन लम्ब्याइरहने चालबाजीमा एमाओवादी छ,’ अध्यक्ष महेश बस्नेतले पत्रकार सम्मेलनमा भने, ‘राष्ट्रपतिले दिएको समयमा सहमति हुन नसके सरकार निरन्तरता दिन सकिन्छ भन्ने लागेको हो भने त्यस्तो भ्रम समाप्त होस्, हामी आन्दोलनबाटै सरकार हटाउँछाँै ।’
नीतिगत विषयमा छलफल गर्न आयोजित विधान सम्मेलनले युवा आन्दोलनको कार्यदिशा पनि बदलेको छ । अधिकारप्राप्तिका लागि हुने युवा आन्दोलन अब समृद्धिको आन्दोलनमा बदल्नुपर्ने संघको निष्कर्ष छ ।
विधान अधिवेशनबाटै युवासंघ बहुपदीय संरचनामा गएको छ । नयाँ नेतृत्व चयनका लागि आगामी पुसमा युवा संघले राष्ट्रिय सम्मेलन गर्दै छ । (सौस)

प्रतिक्रिया