बाजी मारिन् पुष्पाले

काठमाडौं, १९ मंसिर । ‘यो मेरो बच्चाहरूका लागि र मेरो देश नेपालका लागि’, सिएनएन हिरो २०१२ को उपाधि उचाल्दै पुष्पा बस्नेतले भनिन्, ‘जसले मलाई भोट दिनुभयो र मेरो सपनामा विश्वास राख्नुभयो, सबैलाई धेरै–धेरै धन्यवाद †’

अमेरिकी टिभी च्यानल सिएनएनले हरेक वर्ष प्रदान गर्ने यो अवार्ड जित्ने पुष्पा दोस्रो नेपाली हुन् । दुई वर्षअघि चेलीबेटी बेचविखनविरुद्ध कार्यरत अनुराधा कोइराला सिएनएन हिरो घोषित भएकी थिइन् । सिएनएनको वेबसाइटमा भएको अनलाइन भोटिङका आधारमा अन्तिम विजेता चयन गरिन्छ । अन्तिम चरणमा १० प्रतिस्पर्धी थिए ।
नेपाली समयअनुसार सोमबार बिहान अमेरिकाको लस एन्जलसमा भएको अवार्ड वितरण समारोहमा पुष्पाले अन्य ९ प्रतिस्पर्धीलाई पछि पारेकी हुन् । उपाधिसँगै उनले तीन लाख अमेरिकी डलर (करिब दुई करोड ६५ लाख रुपियाँ) पाएकी छन् ।
सिएनएन हिरोका रूपमा आफ्नो नाम घोषणा भएपछि पुष्पा भावविह्वल बन्दै हर्षका आँसु बगाएकी थिइन् । कार्यक्रममा सहभागी हजारौँले उठेर ताली बजाएका थिए । अवार्डलाई चुम्दै पुष्पाले भनिन्, ‘यसले मेरा लागि धेरै ठूलो अर्थ राख्छ । अहिले पनि धेरै बालबालिका जेलभित्र बस्न बाध्य छन् म पक्का तिमीहरूलाई बाहिर निकाल्न आउनेछु ।’
पुष्पाले नेपालका कारागारमा बन्दी जीवन बिताइरहेका बालबालिकालाई स्याहार्दै आएकी छन् । विश्वभरका सामाजिक अभियन्ताहरूलाई हौसला दिन सिएनएनले ६ वर्षदेखि यो उपाधि दिन थालेको हो ।

यी हुन्पुष्पा बस्नेत
सम्पन्न परिवारकी कान्छी छोरी पुष्पा सेन्ट जेभियर्समा ‘सामाजिक सेवा’ पढ्थिन् । ‘प्रोजेक्ट वर्क’ को सिलसिलामा केन्द्रीय कारागारको महिला बन्दीगृह जाँदा आमासँगै जेलमा बस्न बाध्य बालबालिका उनले देखिन् । एक बालिकाले पुष्पाको लुगा समातेरै उनीसितै जाउँलाजसरी हेरिछन् ।
‘त्यो दिन मलाई जीवनमै सबैभन्दा नमज्जा लाग्यो,’ पुष्पा भन्छिन्, ‘रातभरि जेलमा परेकी त्यही सानी केटीलाई सम्झिरहेँ ।’ पुष्पा निकै दिनसम्म घोत्लिएर बसिन् । अन्तिममा तिनै बालबालिकाका लागि ‘केही गर्ने’ निर्णयमा पुगिन् । उनी फर्केर उही जेलमा गइन् । आमासँग बच्ची मागिन् । सिन्धुपाल्चोककी सञ्चु तामाङकी आठ महिनाकी छोरी थिइन् तिनी ।
बडो ढिपी गरेर पुष्पाले सञ्चुलाई मनाएकी थिइन् । तर, जेलरले रोके । बच्चीलाई जेलभित्र कुनै सहयोग गर्न नमिल्ने, जेलबाहिर लैजान दर्ता भएको सामाजिक संस्था चाहिने अत्तो उनले थापिदिए । अनि त सारा काम छाडेर संस्था दर्ता गर्नतिर लागिन् पुष्पा । साथीहरूलाई जम्मा गरिन् । आफन्तलाई फकाइन् । ९ जना जसोतसो जम्मा गरेर संस्था दर्ता गरिन्– अर्ली चाइल्डहुड डेभलपमेन्ट सेन्टर ।
आफ्नो हातको बाला बेचेर, आमासँग पैसा मागेर र साथीभाइसँग सापट गरेर पुष्पाले ७० हजार रुपियाँ जम्मा गरिन् । त्यही पैसाले सुन्धाराको एउटा घरमा सानो पाठशालाजस्तो बालकेन्द्र खोलिन् । सुरुमा जेलभित्रका चार बच्चा बिहानै उनी त्यहाँ ल्याउँथिन् । तिनको स्याहारसुसार गर्थिन् । खेलाउँथिन्, पढाउँथिन् । अनि बेलुका जेलमै फर्काउँथिन् । ६० बच्चा आमा जेलबाट छुटेपछि घर गए । अहिले पुष्पाका साथमा ४४ बच्चा छन् । ती सबै अहिले चपली गाउँको एउटा घरमा बस्छन् ।
सञ्चु अहिले बुझ्ने भइसकिन् । पुष्पा हाँस्दा उनी हाँस्छिन् र रुँदा रुन्छिन् । उनी ८ वर्षकी पुगिन् । चपली गाउँमा सञ्चुकी आमा पनि जेलजीवन बिताएर पुष्पासँगै बस्न आएकी छन् ।
२१ वर्षको उमेरदेखि नै यसरी बालबालिकाको स्याहारमा लागेकी पुष्पा २०११ सेप्टेम्बरमा सिएनएन हिरोको टपटेनमा छनोट भएकी हुन् । उनी भन्थिन्, ‘मेरा बच्चाहरूका लागि एउटा आºनै घर बनाउने इच्छा छ जहाँ बच्चाहरू ढुक्कसँग खेल्न र बस्न सकुन् । उनीहरू सुरक्षित रहुन् ।’ सायद अब उनको इच्छा पूरा होला ।

प्रतिक्रिया