४० रुपियाँ घुस लिएपछि पाँच प्रहरी निलम्बित

काठमाडौं, १७ मंसिर । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख डिआइजी उपेन्द्रकान्त अर्यालले घुस लिँदालिँदै पक्राउ परेका मातहतका पाँच ट्राफिक प्रहरीलाई निलम्बन गरेका छन् । सानेपा प्रहरी प्रभागमा कार्यरत प्रहरी हवल्दार गणेशबहादुर श्रेष्ठसहित चार प्रहरी जवान निलम्बनमा परेका हुन् ।
डिआइजी अर्यालले उनीहरूलाई बिहीबार साँझ ७:३० बजे सानेपामा चेकजाँच गर्ने क्रममा रंगेहात पक्राउ गरेका थिए । प्रहरीका अनुसार उनीहरूले सातदोबाटोबाट कलंकीतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको गाडीबाट ४० रुपियाँ घुुस लिएका थिए । सादा पोसाकमा छड्के चेकजाँच गर्न आºनै गाडीमा निस्किएका डिआइजी अर्यालले मातहतका प्रहरीले गाडीबाट घुस लिँदै गरेको देखेपछि गाडी रोकेर गाडीका चालक भारतीय नागरिक मोहम्मद अली र खलासी अंकुर सिंहसँग सोधपुछ गरेका थिए । सोधपुछका क्रममा चालक अलीले ‘ट्राफिक प्रहरीले सय रुपियाँ मागेको तर ४० रुपियाँमा कुरा मिल्यो’ भनेपछि डिआइजी अर्यालले ड्युटीमा खटिएका पाँचैजनालाई पक्राउ गरी ट्राफिक कार्यालय ललितपुर लैजान मातहतका प्रहरीलाई निर्देशन दिएका थिए । ‘डिआइजीसा’ब सादा पोसाकमा हुनुहुँदो रहेछ, गाडीबाट ट्राफिक प्रहरीले पैसा लिएजस्तो देखेपछि केही पर त्यो गाडी रोक्नुभएछ,’ प्रहरी स्रोतले भन्यो, ‘ड्राइभरलाई सोध्दा ४० रुपियाँ दिएको भनेछ, त्यसपछि सबैलाई पक्राउ गरियो ।’
महाशाखाका प्रवक्ता डिएसपी पवन गिरीले हवल्दारसहित चार प्रहरी जवानलाई कारबाही गरिएको जनकारी दिए । ‘उनीहरूलाई डिआइजीसा’बले नै रंगेहात पक्राउ गर्नुभयो, त्यसैले प्रक्रिया पुर्‍याएर निलम्बन गरियो,’ उनले भने । प्रहरीले गाडी, गाडीचालक अली र सहचालक सिंहलाई पनि पक्राउ गरी ललितपुर प्रहरी परिसरमा लगेको थियो । सोधपुछपछि गाडी, चालक र सहचालकलाई छाडिए पनि ट्राफिक प्रहरीलाई भने निलम्बनका लागि महाशाखा लगिएको थियो । प्रहरीका अनुसार उक्त गाडी भारतबाट बिजुलीको सामान लिएर काठमाडांै आएको थियो । सामान अनलोड गरी भारत फर्कने क्रममा ट्राफिक प्रहरीले घुस मागेका थिए । प्रहरी स्रोतका अनुसार ललितपुरबाट काठमाडांै प्रवेश गर्न शुल्क लाग्ने भन्दै चालकसँग प्रहरीले घुस मागेका थिए । स्रोतले भन्यो, ‘यस खालका गतिविधि त सामान्य नै हुन्, उनीहरूलाई भने दशा लाग्यो, त्ससैले पक्राउ परे ।’ स्रोतका अनुसार भारतीय नम्बरका गाडीचालकले लफडाबाट उम्किन प्रहरी चेकिङ देख्नेबित्तिकै हातमा पैसा लिएर बस्ने गर्छन् र चेकजाँचमा आएका प्रहरीको हातमा थमाइदिएर उक्ने गर्छन् । स्रोतले भन्यो, ‘बिहीबारको घटना पनि त्यस्तै भएको हो, चालक हातमा पैसा लिएर बसेको थियो, चेकजाँचका लागि प्रहरी पुग्नेबित्तिकै चालकले हातमा पैसा थमाइदियो ।’
आर्थिक मामलामा विवादमा नमुछिएका डिआइजी अर्याल महाशाखाको प्रमुख भएलगत्तै मातहतका ट्राफिक प्रहरीलाई घुस नलिन निर्देशन दिएका थिए । घुस लिएको भेटिए तत्काल कारबाही गरिने भनी सार्वजनिक रूपमै अभिव्यक्ति दिएका डिआइजी अर्याल त्यसयता मातहतका कार्यालयमा आफँै छड्के चेकजाँँचमा गर्ने गरेका छन् ।

प्रतिक्रिया