अब एमाले पहिलो शक्ति : खनाल

काठमाडौं : एमाले अध्यक्ष झलनाथ खनालले अब हुने चुनावबाट एमाले पहिलो शक्ति हुने दाबी गरेका छन् । नेपाल सम्वत् ११३३ को अवसरमा काठमाडांै जिल्ला कमिटीले शनिबार गरेको कार्यक्रममा अध्यक्ष खनालले जुनसुकै बेला चुनाव भए पनि एमाले पहिलो राजनीतिक शक्ति भएर उदाउने ठोकुवा गरे । भने, ‘अब हुने चुनावमा एमाले पहिलो शक्तिका रूपमा उदाउनेछ विगतमा जसले जुनसुकै स्थान हासिल गरे पनि त्यो इतिहासको गर्तमा बिलाइसकेको छ ।’
अध्यक्ष खनालले नयाँ चुनाव गरी राजनीतिक निकास निकाल्न पनि सत्तारूढ एमाओवादी बाधक बनेको बताए । एमाओवादीको सर्वसत्तावादी व्यवहारकै कारण संविधान नबनी संविधानसभा विघटन भएको दाबी गर्दै खनालले नयाँ चुनाव गरी राजनीतिक निकासमा पुग्न पनि एमाओवादी नै अवरोधक भएको जिकिर गरे । ०६२/६३ सालको जनआन्दोलनले मुलुकको धेरै क्षेत्रमा परिवर्तन गरे पनि संविधान बन्न नसकेकाले त्यसलाई संस्थागत गर्न नसकिएको खनालको भनाइ थियो । ‘०६२/६३ सालको जनक्रान्तिले राजनीतिमा मात्र होइन, समाजका समग्र विषयमा परिवर्तन गरेको थियो,’ खनालले भने, ‘त्यसलाई संस्थागत गर्न संविधान बन्नुपथ्र्याे तर संविधानसभा भएर पनि एमाओवादीको सर्वसत्तावादले त्यसलाई विघटन गरायो ।’ (सौस)

प्रतिक्रिया