सिक्किमे केटी मेरो कपालका फ्यान

०३८ सालमा गभर्नर्स गोल्डकप खेल्न मलाई पनि राष्ट्रिय टिममा बोलाइयो । भोलिपल्ट बिहान पाँच बजे ढल्केबर पुग्न भनिएको थियो । अघिल्लै दिनदेखि बेचैनी बढिरहेको थियो । पीर लाग्यो– केही गरी गाडीले छाडेर जाने हो कि ? म त राति ९ नै बजे ढल्केबरतिर लागो, रिक्सा चढेर । राजुकाजी शाक्यले १६ वर्षसम्म नेपाली राष्ट्रिय टोलीबाट फुटबल खेले । करिब आधा दशक त कप्तानै रहे उनी । लगातार टोलीमा रहेर तीन–चार पुस्तासँग सहकार्य पनि गर्न भ्याए । नेपाली फुटबलले अन्तर्राष्ट्रिय सहभागिताहरूमा पाइला चाल्न सुरु गर्दा र केही महत्त्वपूर्ण उपलब्धि हात पार्दा टोलीका महत्त्वपूर्ण खेलाडी थिए यी धराने खेलाडी । उनी सुनाउँदै छन्, फुटबल जीवनमा बिताएका महत्त्वपूर्ण पलहरू :
उति बेला म खेलाडी बनिसकेको थिइनँ, बलब्वाइका रूपमा मात्र फुटबल छुन पाउँथेँ । धरानमा फुटबलको क्रेज निकै गतिलो थियो । मामा विन्दु शाक्य, वीरु राईलगायत सिनियर खेलाडीहरू नियमित प्रशिक्षण गर्नुहुन्थ्यो । त्यहाँ पनि दर्शकहरू गुन्द्री, गजेरा लिएर फुटबल हेर्न आउँथे, प्रतियोगितामै जसरी । मैले फुटबल खेल्न थालेको त चार/पाँच कक्षादेखि हो । बल ब्वाइबाट बिस्तारै खेलाडीमा रूपान्तरण हुँदै गएँ ।
विद्यालयमा पनि फुटबलको निकै माहोल थियो । यस्तोसम्म हल्ला सुनिन्थ्यो– पढाइ कमजोर हुने विद्यार्थीलाई खेलकुदमा राम्रो छ भने नम्बर बढी दिने र फेल भएका खेलाडीलाई पासै गराइन्छ रे † हामी कापीका लागि  बाजी खेल्थ्यौँ । हाम्रो यस्तो समूह थियो कि दिउँसोभर जहाँ भए पनि बेलुकी खेल्ने ठाउँमा जम्मा भएकै हुन्थ्यौँ । खेलेर फर्किंदा प्राय: अबेर हुन्थ्यो । हाम्रो घरमा साढे पाँच बजेसम्ममा बेलुकीको खाना खाइसकिने भएकाले ढिलो आउनेले भाँडा माझ्नुपर्ने नियम थियो । प्राय: मै फेला पर्थें । तैपनि, हामी बिस्तारै खेलाडीका रूपमा चिनिन थाल्यौँ । धरानमा निकै राम्रा खेलाडी भएकाले हामीले धरान–११ बाटचाहिँ कहिल्यै खेल्न पाएनौँ ।
संघर्षै–संघर्ष
स्थानीय स्तरमा विभिन्न इन्टरकलेज प्रतियोगितामा भाग लिने मौका पायौँ । मेरो व्यक्तिगत प्रदर्शन निकै राम्रो हुन पुग्यो । हाम्रो खेल देखेरै मसहित टोलीका केही खेलाडीलाई जलेश्वरले बोलायो । नौ जना खेलाडी धरानबाट गएका थियौँ । हाम्रो टिम फाइनलसम्म पुग्यो, धनुषाको मिल्सेरियासँग पराजित भयौँ । ०३४ सालको शुभजन्मोत्सव फुटबलमा मलाई कोसी अञ्चलले बोलायो । काठमाडौंमा भएको उक्त प्रतियोगिता दौरान जनकपुर चुरोट कारखानामा कार्यरत दाइहरू गणेश क्षत्री र विक्रम शाहीले कारखानाले फुटबल टिम बनाउन लागेको र खेल्ने इच्छा भए आउन भन्नुभयो । कारखानाले एउटा क्लबसँग खेलाएर हाम्रो ट्रायल लियो । ७–८ गोल गरिदिएपछि उनीहरू राजी भए  ।
बुबा सधैँ ‘फुटबल नखेल, पढ’ भन्नुहुन्थ्यो । एसएलसी पास गरेपछि मात्रै जनकपुर चुरोटको टोलीमा आएको हुँ । आफन्तसहित धेरैले मलाई धरान छाडेर जनकपुर नजान अनुरोध गरे, रोक्ने प्रयास पनि गरे । तर, म त अब फुटबलको पागल भइसकेको थिएँ । त्यही पागलपनमा मैले चुनौती दिइछु– मलाई नरोक, एक दिन राष्ट्रिय टोलीमा परेरै देखाउनेछु ।
जनकपुरको बसाइ कष्टकर नै रह्यो । एउटै कोठामा नौ जना बस्थ्यौँ । मच्छटले टोकेर हैरान लाउँथ्यो, छतमा गएर सुत्नुपर्ने । त्यहाँबाट खेलेका हरेक प्रतियोगितामा फाइनल पुग्थ्यौँ । वीरगन्जमा भएको महेन्द्र गोल्डकपमा फ्रेन्ड्स क्लबसँग हार बेहोर्‍यौँ । गणेश थापा, कृष्ण थापा हाम्रा प्रतिद्वन्द्वी खेलाडी थिए । स्टार खेलाडीसँग खेल्न पाउँदा छुट्टै सान लाग्थ्यो ।
राष्ट्रिय टोलीमा प्रवेश
०३८ सालमा गभनर्स गोल्डकप खेल्न मलाई पनि राष्ट्रिय टिममा बोलाइयो । भोलिपल्ट बिहान पाँच बजे ढल्केबर पुग्न भनिएको थियो । अघिल्लै दिनदेखि बेचैनी बढिरहेको थियो । पीर लाग्यो– केही गरी गाडीले छाडेर जाने हो कि ? म त राति ९ नै बजे ढल्केबरतिर लागेँ, रिक्सा चढेर । ३०/४० रुपियाँ भाडा दिएको थिएँ रिक्सालाई ।
मध्यरातमै ढल्केबर पुगियो, बाँकी रात अब कसरी कटाउनु ? एक त तराईको ठाउँ, त्यसपछि मच्छडको आक्रमण । कत्ति खेरचाहिँ गाडी आउला भन्ने भइरहेको थियो । झोक्राएर बस्दाबस्दै निदाएछु । कसैले ‘ए राजु’ भनेपछि झसंग भए । बिहान भइसकेछ, मलाई लिन गाडी आइसकेछ । गाडीभित्र छिर्दा त अर्कै संसारमा पुगेजस्तो लाग्यो, वरिपरि त्यति बेला नाम चलेका स्टार खेलाडीहरू । रेडियोमा उनीहरूले खेलेको कमेन्ट्री सुन्दा कम्ती आनन्द आउँदैनथ्यो । निकै गौरव लाग्यो, गतिलै उपलब्धि अनुभूत गरिरहेको थिएँ ।
हतोत्साह प्रयास
गभर्नर्स गोल्डकपबाट फर्किएपछि राष्ट्रिय टोलीलाई रसिया भ्रमणको तयारी गरिँदै थियो । बन्द प्रशिक्षणका लागि काठमाडौंमा राखियो । दैनिक प्रशिक्षण हुन्थ्यो ।  दसँैको बेला परेकाले खेलाडीलाई पनि घर जान दिइयो । काठमाडौंका खेलाडीलाई दुई दिन र बाहिरकालाई चार दिन बिदा भनिएको थियो । एक दिन ढिला गरेर आउँदा काठमाडौंमा खेलाडी छनोट भइसकेको रहेछ । मेरो नाम परेनछ । त्यति बेला मेरो स्थान लगभग निश्चित थियो । अञ्चल कोटा हुन्थ्यो, त्यसबाट पनि मेरै सम्भावना सबैभन्दा राम्रो थियो  । तर, उल्टै मानिसहरू मलाई गाली गर्न थाले । पूर्वका मान्छेहरू फटाहा हुन्छन्, अनुशासनमा रहँदैनन् भनेर हल्ला चलाइयो । कतिले त मलाई तर्साए पनि । भने– ‘जो एक पटक राष्ट्रिय टिममा पर्‍यो, उसले ८–१० वर्ष नियमित खेल्छ ।  अब तिमी बाहिरियौ, तिम्रो सम्भावना छैन ।’ तर पनि म हारिनँ ।
रसियाबाट टोली फर्किएपछि मलाई फेरि ट्रेनिङमा राखियो । एन्फा कपमा परेँ । काइदआजम प्रतियोगिता खेल्यौँ । अरू देशका टोली हामीभन्दा निकै गतिला लाग्थे । हाम्रो हालत त यस्तो थियो कि पास आउँदा  पनि ट्वाल्ल हेरेर बस्थ्यौँ । तर, चिनियाँ क्लब ली च्याम्पियन सान्दुङलाई भने हामीले १–० ले जित्यौँ । लडाइँ गरेर जितेजस्तो लाग्छ अहिले पनि किनभने उनीहरूको तुलनामा त हाम्रो कुनै ‘क्लास’ नै थिएन । अरूका तुलनामा हाम्रो खेल निकै तल रहेको भान हुन्थ्यो ।
टिम स्पिरिटको भरोसा
नेपाली टिम टेक्निकल्ली कमजोर भए पनि हामीमा टिम वर्क र स्पिरिट गहिरो थियो । सकेसम्मको मेहनत गथ्र्यौं । आफ्नो देशलाई जिताउनुपर्छ भन्नेमै केन्द्रित थियौँ, पैसा कमाइन्छ भन्ने त आसै थिएन । सन् १९८२ को एसियन गेम्समा कुवेत, दक्षिण कोरियालगायत टोलीसँग पराजित भए पनि हामीले स्थानीय दर्शकको मन जित्यौँ । हामीलाई थप राम्रा प्रतियोगितामा भाग लिने मौका जुरिरहे ।
मलेसियामा हुने मर्डेका कप उति वेला एसियाको प्रतिष्ठित मानिन्थ्यो । दक्षिण एसियाका राष्ट्रिय टिम पनि सहभागी हुन्थे  । हाम्रो समूहमा बंगलादेश, दक्षिण कोरिया, अल्जेरिया, अर्जेन्टिनाका क्लब थिए । बंगलादेशबाहेक अन्य टोलीसँग कम गोल खाने हाम्रो लक्ष्य थियो । अर्जेन्टिनाको गेम हेर्दा त निकै गोल खाइएला जस्तो लाग्यो । संयोगले खेल हुने दिन हामी दुवै टोलीलाई एउटै गाडीमा राखेर मैदान लगियो । छेवैमा म्याराडोनाजस्तो लाग्ने खेलाडी थियो । सुरेश पन्थी दाइले जिस्क्याउनुभयो– ‘ओए राजु, यिनीहरूलाई गोल कम गर भनेर सम्झाऊ न †’ उहाँले त्यो खेलाडी छेवैमा गएर भन्नुभयो– ‘एक्सक्युजमी,  टुडेस म्याच १–० ओके †’ ऊ रिसाएजस्तो गर्‍यो । त्यसपछि फेरि भन्नुभयो– ‘ओके–ओके २–१, नेपाल वन, यु टु †’ त्यसपछि पनि मानेजस्तो देखिएन । अनिचाहिँ थर्काउने शैलीमा भन्नुभयो– ‘हामी एमेच्योर हौँ, प्रोफेसनल होइन । धेरै गोल हान्यौ भने हामी पनि तिमीहरूको घुँडामा हानिदिन्छौँ, हाम्रो के जान्छ र ?’ वी आर गोर्खाली…यु नो फकल्यान्ड भनेर तर्साउनुभयो । इंग्ल्यान्ड र अर्जेन्टिनाबीच फकल्यान्डका लागि भएको युद्धमा गोर्खा सैनिकले वीरता प्रदर्शन गरेका थिए ।
म्याचको सुरुआतमा हामीलाई कोचले निर्देशन गर्नुभयो– ‘म्यान टु म्यान हेर्ने, गोल कम खान प्रयास गर्ने ।’ रूपक दाइले भन्नुभयो– ‘गोर्खे पारामा खेल्नुपर्छ है †’ अर्जेन्टिनी खेलाडीले बल पाएलगत्तै हामी घेर्न पुगिहाल्थ्यौँ । हाम्रा कुनै खेलाडीलाई लडाउनेबित्तिकै हामी चिच्याउँदै ठोकठोक भन्न थाल्थ्यौँ ।
सन् १९८७ को ओलम्पिक छनोटको दोस्रो चरणमा हामीले चीन, थाइल्यान्ड र जापानसँग प्रतिस्पर्धा गर्नुपर्ने थियो । चीनसँग खेल्दा यस्तो भयो कि मानौँ हामीले त्यसअघि कहिल्यै फुटबल खेलेका थिएनौँ । अधिकांश समय हामी डी–बक्समा हुन्थ्यौँ । आ–आफ्नै खेलाडीको शरीरमा ठोक्किएर गोल खाइएलाजस्तो । यो खेल १२–० ले हार्‍यौँ ।
विदेशी क्लबमा सहभागिता
सन् १९८५ तिर भारतको गोवास्थित लिग क्लबले मणि शाह र मलाई अफर गर्‍यो । विदेशी क्लबबाट खेल्ने मन भए नि भारतचाहिँ जान मन थिएन । त्यहाँ नेपाली खेलाडीलाई डोमिनेट हुने गरेको सुनेको थिएँ । यद्यपि त्यहाँ एक्सपोजरचाहिँ थियो ।
पछि ढाकाको लिगबाट प्रस्ताव आयो, त्यहाँ गइयो । गणेश थापा र कृष्ण थापालगायत खेलाडी पहिल्यै बंगलादेश गएर खेलिसकेकाले त्यहाँ हाम्रो इज्जत राम्रै थियो । नेपाली खेलाडी भन्नेबित्तिकै सम्मान गर्थे । गोवाले वार्षिक ८५ हजार दिन्छु भनेको थियो । बंगलादेशको भिक्टोरियाले बोलाएपछि त्यतै लागियो । त्यहाँबाट तीन वर्ष खेलेँ । सन् १९८९ मा बंगलादेशको लिगमा विदेशी खेलाडी खेल्न नपाउने नियम आयो ।
क्लबको मान्छेले सुरुमा ७५ प्रतिशत डाउनपेमेन्ट गरेको थियो । डिमान्ड बढी गरेको थिएँ, घटाउँछ भनेर । छनचाहिँ म जति दिए पनि खेल्थेँ किनकि मैले पैसाका लागि कहिल्यै खेलिनँ । त्यहाँको लिगमा त हामी हिरोजस्तै भयौँ । बजारमा हिँड्दा पनि ‘राजु भाइ’ भनेर बोलाउँथे । त्यहाँको लिगको स्तर पनि थियो, इरान, नाइजेरियालगायत देशका खेलाडी पनि हुन्थे ।
कपालचर्चा
हामी नेपाली खेलाडी बंगलादेशमा कपालका कारणले पनि चर्चित थियौँ । उमेश प्रधान, मणि शाह, मलगायत कपाल लामो पालेका खेलाडी बंगलादेशमा थियौँ । क्लबका अन्य साथीहरू भन्थे– ‘राजु भाइ तपाईंको कपाल राम्रो छ ।’ हजाम पनि छक्क पथ्र्यो ।
वास्तवमा नेपालमा कपाल पाल्ने चलन थियो उति बेला । अधिकांश फुटबल खेलाडीको कपाल लामै हुन्थ्यो । मैले आफ्नै सोखले पालेको थिएँ, कसैबाट प्रभावित भएर होइन । राष्ट्रिय टोलीमा कपाल छोटो बनाउन भनिन्थ्यो तर म टोपीले छोपेर लुकाउथेँ । नुहाएर तेल लगाएपछि कपाल सपक्क हुन्थ्यो, उति थाहा हुँदैनथ्यो । कपाल काट्दा त अनुहार नै सानो लाग्थ्यो ।
सन् १९९३ को ढाका साफमा सहभागिता जनाउँदा प्राय: नेपाली खेलाडी कपाल पालेका थिए । कपालले हामीलाई मैदानमा स्मार्ट देखाएछ । फुर्सदमा बंगलादेशको बजारमा निस्किएको थिएँ । एउटी आइमाई आइन् अनि मेरो कपाल सुमसुम्याउँदै भनिन्, ‘आहा तिम्रो कपाल कति राम्रो †’ भारतमा त मलाई ‘डेनी’ भन्थे । कपालकै कारण त्यति बेला थुप्रै केटीले फोन गर्थे । दार्जिलिङ, सिक्किमका केटी त झनै फिदा हुन्थे ।
वायुसेवामा नाम ननिस्कँदा
१९९३ को साफ गेम्समा हामीले स्वर्ण पदक जित्यौँ । त्यसअघि नेपाल वायुसेवा निगमले स्थायी गर्न आन्तरिक परीक्षा लिएको थियो । म पनि वायुसेवाको क्लबसँग आबद्ध थिएँ । अन्तर्राष्ट्रिय स्वर्णपदक जितेको राष्ट्रिय टोलीको कप्तान भए पनि मलाई त्यहाँ स्थायी गरिएन । धेरै मन्त्रीलाई भनेको थिएँ, सबैले हुन्छ पनि भनेका थिए ।
पढ्न छाडेको मान्छे । परीक्षा भनेपछि ठेलीका ठेली किताब ल्याएर घोकेको थिएँ । स्वर्ण जितेर आएपछि राखेपले जागिर दिएको थियो । वायुसेवामा नाम निस्किएको भए त्यो छोड्ने सुर गरेको थिएँ । साँच्ची भन्ने हो भने त्यति बेलाको खेलकुद सिस्टम मलाई मन पर्न छोडेको थियो ।
पछुतो
पढ्न सकिनँ । पढाइका थुप्रै अवसर लत्याएँ । पढाइ र खेल दुवैलाई सँगै लैजान सकिन्थ्यो । स्कुलहरू खेलाडीप्रति नरम हुन्थे, सकेसम्म पास गराइदिन्थे । मलाई एउटा क्याम्पसले पनि अफर गरेको थियो । पढेको हुन्थ्यो त राजुकाजी शाक्यले अझै धेरै गर्न सक्थ्यो भन्ने लाग्छ अहिले ।
योजना
एन्फामा छिर्ने योजना छैन मेरो । सामान्य स्तरको नागरिक अनि प्रशिक्षक हुँ, यही नै  ठीक छ । बरु प्रशिक्षणमै राम्रो गर्न थप नयाँ अध्ययन गर्छु । आपैँmले एकेडेमी खोल्ने योजना पनि छ । त्यसलाई वैज्ञानिक अनि आधुनिक फुटबलका लागि उपलब्धिमूलक बनाउने सोचेको छु । यसका लागि निकै पैसा चाहिन्छ, सजिलो त छैन । तैपनि, ढिलोचाँडो जहिले भए पनि गर्छु नै । किनकि जीवनको अन्तिम समयसम्म पनि मेरो रगतमा फुटबलै दौडिरहनेछ ।
प्रस्तुति : लोकेन्द्र प्रसाई

प्रतिक्रिया