दक्षिण अफ्रिकाको रोमान्चक पुनरागमन

पर्थ : दक्षिण अफ्रिका र अस्ट्रेलियाबीच जारी तीन टेस्ट म्याचको शृंखला अन्तर्गत तेस्रो तथा निर्णायक टेस्ट रोमान्चक बन्दै गएको छ । पहिलो इनिङमा दक्षिण अफ्रिकालाई २ सय २५ रनमा समेटेको अस्ट्रेलिया आफ्नो सुरुवाती इनिङमा १ सय ६५ रनमा सीमित भएपछि दुवै टोली उस्तै स्थितिमा देखिएको थियो । तर, दक्षिण अफ्रिकाले दोस्रो दिनको खेल समाप्तहँुदासम्म आफ्नो दोस्रो इनिङमा २ विकेट गुमाएर २ सय ३० रन जोडेको छ । यस स्थितिमा दक्षिण अफ्रिकाले २ सय ९२ रनको अग्रता लिइसकेको छ । दोस्रो इनिङमा शानदार प्रदर्शन गर्दै पाहुना टोली दक्षिण अफ्रिकालाई बलियो स्थितिमा पुर्‍याउनेक्रममा हासिम अमलाले अविजित  ९९ रन बनाइसकेका छन भने कप्तान ग्रिम स्मिथ ८४ रन जोडेर आउट भए । अमला र स्मिथले दोस्रो विकेटका लागि १ सय ७८ रनको साझेदारी गरेका थिए । मिचेल स्टार्कको बलमा नाथन ल्योनद्वारा क्याच हुनुअघि स्मिथले आक्रामक खेल्दै १ सय बलमा ११ चौका प्रहार गरे । आक्रामक खेलिरहेका अमलालले ८४ बलमा १० चौका प्रहार गरिसकेका छन् । प्रारम्भिक ब्याट्सम्यान अल्विरो पिटरसन २३ रनमा आउट हुँदा दक्षिण अफ्रिका २८–१ को स्थितिमा थियो । ज्याक कालिस १७ रनमा खेलेर अमलालाई साथ दिइरहेका छन । अमला १८ औँ टेस्ट शतकको नजिक भएका हुन् ।
यस अघि डेल स्टेनले चार, रोविन पिटरसनले तीन र भर्नन फिलान्डरले दुई विकेट लिएपछि अस्ट्रेलिया पहिलो इनिङमा सस्तैमा समेटिएको हो । माइकल हसी(१२) र म्याथिउ वाडे(६८)ले सातौँ विकेटका लागि ५५ रनको साझेदारी गर्नुअघि अस्ट्रेलिया ४५–६ को स्थितिमा थियो । वाडेले आठौँ विकेटका लागी जोन हास्टिङ्स(३२) सँग ४० रनको साझेदारी गरेका थिए । डेभिड वार्नर १३, एड कोवान ०, सेन वाट्सन १०, ल्योन ७, रिकी पोन्टिङ ४ र कप्तान माइकल क्लार्कले पाँच रन जोडे । तेज बलर स्टेनले १६ ओभर बलिंग गर्नेक्रममा चार मेडन राखेर ४० रन मात्र दिए भने टिममा फर्किएका अर्का फास्ट बलर फिलान्डरले १६ ओभरमा ५५ रन खर्चिए । यता स्पिनर पिटरसनले ८.१ ओभर बलिंग गर्नेक्रममा एक मेडन राखेर ४४ रन दिए । (एजेन्सी)

प्रतिक्रिया