अब एमाओवादी समस्या रहेन : ओली

काठमाडौं, १५ मंसिर । एमाले नेता केपी ओलीले एमाओवादी अब मुलुकको खासै समस्या नरहेको टिप्पणी गरेका छन् ।
युवा संघ नेपालको विधान सम्मेलनको आज काठमाडौंमा उद्घाटन गर्दै ओलीले एमाओवादी समस्या अन्तिम किस्ताका रुपमा सिंहदरवारमा मात्रै बाँकी रहेको वताए । ‘केही अवशेष बाहेक अब एमाओवादी खासै समस्या रहेन,’ उनले भने, ‘सिंहदरवारमा अन्तिम किस्ता बाँकी छ ।’
‘जनवाद ल्याइदिन्छु भनेर अरुलाई गोली खुवाउनेले बरु गोली खान्छु वालुवाटार छोड्दिन भन्छ,’ उनले भने, ‘कसरी सम्झाउनु ।’
जनवाद ल्याउन सहिद हुने उद्घोष गर्ने एमाओवादी वालुवाटार बस्नकै लागि सहिद हुने घोषणा गर्न थालेकोमा आफू आश्चर्यचकित भएको नेता ओलीको भनाई थियो ।
नेता ओलीले सहमतीय सरकार गठन गर्ने राष्ट्रपतिले गरेको आव्हान चित्त नबुझे प्रधानमन्त्री बाबुराम भट्टराई र उनका वकिलहरुलाई सर्वोच्च अदालत जान सुझाव दिए ।
‘बाबुराम र उनका वकिललाई राष्ट्रपतिको आव्हान चित्त बुझेको छैन भने सर्वोच्च अदालत जाउन्,’ उनले भने, ‘देखेका छैन भने सिंहरवारको पश्चिम ढोकावाट बाहिर निस्केर बायाँ मोडियुन्, त्यही छ सर्वोच्च अदालत ।’
उनले आफ्नो बेडरुममा बसेर राष्ट्रपतिको आव्हान संबैधानिककि असंबैधानिक भनेर जाँच्ने अधिकार नरहेको बताए ।
शुक्रवार सुरु भएको संघको विधान सम्मेलन आइतवारसम्म चल्नेछ । बन्द सत्रमा देशभरका ५ सय १३ प्रतिनिधिले भाग लिनेछन् ।

प्रतिक्रिया