अनियन्त्रित लोडसेडिङ

जलस्रोतको धनी देश भनिए पनि नेपाली जनता लोडसेडिङ भोग्न अभिसप्त छन् । जलस्रोतबाट मनग्यरूपमा विद्युत्् उत्पादन गर्न सक्ने अवस्था रहँदारहँदै पनि विभिन्न कारणले गर्दा नेपालीले लोडसेडिङ भोग्नु परेको हो । सहरमा बस्ने ३५ प्रतिशत जनताले विद्युत्् उपभोग गर्न पाउने भए पनि १९ घण्टासम्म लोडसेडिङ भोग्नु परे पछि हाम्रो जलस्रोत देखाउने दाँत मात्र भएको छ । ग्रामीण क्षेत्रमा बसोवास गर्ने ६५ प्रतिशत जनतासम्म विद्युत्को पहुँच पुर्‍याउने कल्पना पनि अब अस्वाभाविक जस्तै भएको छ । खोलाको पानी हेरेर विद्युत्को कल्पना गर्दै भाषण गरेर तृप्त हुने राजनीतिज्ञहरूकै कारण विद्युत् उत्पादन नभएको यथार्थ अब कसैबाट लुकेको छैन । प्रधानमन्त्री, ऊर्जामन्त्री र विद्युत्का हाकिमहरू १० वर्षमा २० हजार मेगावाट विद्युत् उत्पादन गर्ने भाषण गर्छन् तर त्यो कसरी उत्पादन गर्ने भन्ने सोच्न चाहँदैनन् । विद्युत् विकासका लागि हामीसँग खोलाबाहेक कुनै पनि पूर्वाधार तयार छैनन् । विकट क्षेत्रमा बनेको योजनाबाट बिजुली ल्याउन प्रसारण लाइनको पनि व्यवस्था गर्न सक्ने अवस्था छैन । सुनिँदै छ अहिले आएर नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन गुरुयोजना निर्माण गर्न अहिले ६ वटा परामर्श दाता छनोट गरेको छ । अहिलेसम्म प्रसारण लाइन निर्माण गर्ने ठेकेदार छनोट गर्नु पर्ने थियो । तर, के थाहा भयो भने प्रसारणलाइन गुरुयोजनाका लागि परामर्शदातासमेत छनोट गर्न पनि विद्युत् प्राधिकरणले सकिरहेको छैन । यो अवस्था भनेको नेपाली जनतालाई अरू तीसौँ वर्ष लोडसेडिङमा राख्ने प्रपञ्च नै हो ।
अस्थिर राजनीति, भ्रष्टाचार, कमिशनतन्त्रको जालो, स्थानीयवासीको अवरोध, मन्त्रालयबीचमा समन्वयको अभावलगायत कारणले योजनाहरू पनि बन्न सकिरहेका छैनन् । बनेका आयोजनाबाट उत्पादित विद्युत् प्रसारण लाइनको अभावमा खेर गइरहेको अवस्था छ । सन् २००४ मा बनाइएको गुरुयोजना अदूरुदर्शी र बेकामे साबित भयो । सय वर्ष पछिसम्मको सोच राखेर बनाउनु पर्ने गुरुयोजना हचुवाका भरमा तयार गरेकाले दाताहरूले त्यसलाई केटाकेटीको खेलजस्तै ठाने । अहिले आएर पुन: प्रसारण लाइन गुरुयोजनाका लागि ६ वटा परमर्शदाता छनोट गर्न दाताहरूले दबाब दिए । टाट पल्टिएको प्राधिकरणले अब परामर्शदाता छान्ने भएको छ । यसले के स्पष्ट गर्छ भने नेपाली जनता लोडसेडिङबाट मुक्त हुने छैनन् ।
हाम्रो पानी खेर गइरहेको छ । तल्लो तटीय क्षेत्रलाई हामीले उपयोग गर्न सकेनौँ । भारतले इच्छा अनुसार उपयोग गरिरहेको छ । हामी भने जलस्रोतको प्रचुर भण्डारमा बसेर पनि भारतसँग विद्युत् मागिरहेका छौँ । यही समयमा केही विज्ञ र नेता नेपालमा उत्पादन गरेको विद्युत् भारतमा बेच्ने कल्पना गरिरहेका छन् । भारतले पानीबाटै उत्पादित बिजुली प्रयोग गर्छ भने एकसरो सोचाइ राख्नेहरूले अबको विश्वमा विभिन्न माध्यमद्वारा विद्युत् उत्पादन हुन्छ भन्ने सोच्न सकिरहेका छैनन् । भारत आणविक भट्टी निर्माण गरेर विद्युत् उत्पादन गर्न अगाडि बढिसकेको छ । यसबाट नेपाली सरोकारवालाहरू स्पष्ट हुन जरुरी छ कि हामीले उत्पादन गर्ने विद्युत् हाम्रै लागि हो । अरू मुलुकमा बेच्नका लागि होइन । यिनै कारणले गर्दा प्रसारण लाइन पनि आफ्नै लागि दिगो, भरपर्दो र उपयुक्त हुने खालको निर्माण गर्न जरुरी छ । त्यसैगरी जलविद्युत् नीति स्पष्ट, पारदर्शी र सरल हुन उत्तिकै आवश्यक छ । राजनीति, राष्ट्रियता र अधिकारका नाममा गैरजिम्मेवार तरिकाले निर्माणाधिन विद्युत् आयोजनाहरूमा गतिरोध उत्पन्न गर्ने क्रियाकलाप रोकिनु पर्छ । हाम्रालागि दाताले विद्युत् गृह निर्माण गरी दिनुपर्ने तर दाताले भने सुरक्षित नहुने अवस्थाले गर्दा पनि हामीले लोडसेडिङ भोगिरहेका छौँ । यो लोडसेडिङबाट मुक्त हुन हामीमा भएको विदेशी लगानी प्रतिको सोच र गतिविधिमा परिवर्तन आउन जरुरी छ । अब, आयोजनाहरू छनोट गरेर अगाडि बढ्ने र सोही अनुरूपको प्रसारण लाइनको निर्माण गर्ने हो भने २०/३० वर्षपछि नेपाली जनता लोडसेडिङबाट मुक्त हुनेछन् । अन्यथा, यही नीतिहीन अवस्था र ढिलासुस्तीकै कारण नेपाली जनता सधैँ लोडसेडिङमै बस्नु पर्नेछ ।

प्रतिक्रिया