खोजखबर

म बाँदरको परम मित्र

सौर्य अनलाइन २०६९ मंसिर १५ गते ४:०६ मा प्रकाशित

मानिसको हेपाइमा परेको निम्छरो प्राणी हो बाँदर । उसको चकचकेपनलाई मानिस पटक्कै रुचाउँदैन । मानिसले मानिसलाई नै गाली गर्दा पनि ‘बाँदर’ भन्छन् । हो, म तीनै हेपाइमा परेका, निम्छरा जनावरको साथी । आजसम्म धेरै बाँदर मेरा परममित्र भए ।
यसरी नजिकिएँ बाँदरसँग
सन् १९९१ देखि हो, मैले बाँदरका विषयमा अनुसन्धान थालेको । सुरुमा सामान्य चाखले गरेको थिएँ । पछि मेरो रुचिले मोड लियो । यसैको अनुसन्धानमा विद्यावारिधि गरेँ । त्यस बेला म चितवनको जंगलमा पसेँ । बाँदरसँगै बसे । उनीहरूको आनीबानी पत्ता लगाउनु चानचुने कुरो थिएन । त्यो काम गर्न बाँदरको वासस्थानमै रहेर उनीहरूको क्रियाकलापसँग अभ्यस्त हुनपथ्र्यो । त्यसलाई ‘हाब्युचियसन’ भनिन्छ । त्यहाँ बादरका भिन्नाभिन्नै दसवटा समूह थिए । मैले २६ बाँदर सदस्य रहेको एउटा समूह छानेँ । त्यही समूहसँगै उठबस गर्न थालेँ । १२ वटा बाँदर वयष्क थिए भने बाँकी सबै किशोर र बच्चा ।
सुरुसुरुमा अपरिचित मानिसलाई आफ्नो समूहमा देख्दा उनीहरूले अस्वाभाविक माने । नजिक गयो भने भागिहाल्ने, लुक्ने गर्न थालेँ । बिस्तारै उनीहरू पनि अभ्यस्त भएछन् । लगभग १५ दिनपछि त उनीहरू मेरा साथी बनिहाले । मेरो खुट्टामा घुमेर खेल्न थाले । मलाई देखेर आनन्द मान्न थाले । मैले कुनै घाँस चुँडाले भनेँ, ‘नचुँडाल’ भन्ने भावमा कराएर घुर्की देखाउने थाले । झगडा पर्दा कमजोर खालका बाँदर मेरो पछाडी आएर लुक्ने गर्थे । मेरा कतिपय भाव उनीहरूले बुझ्थे कि जस्तो लाग्न थाल्यो । ‘म अब हिँडेँ, आउदिनँ’ भन्ने भावको इसारा गर्‍यो भने ‘नजा’ जस्तो गरेर बाटो छेक्ने । त्यसबेला म बाँदरसँग एक्लै के–के पो बोल्दोरहेछु । भावुक हुन थालेछु । एक मन त लागेर आयो, ‘बाँदरजस्तै भएँ कि क्या हो π’
राजमार्ग नजिकै भएका कारण कतिपय बाँदर सवारीसाधनले किचिएर मर्ने गरेका रहेछन् । म उनीहरूको समूहलाई लिएर राजमार्ग क्रस गराउथेँ । गाडी आयो भने ‘पख मेरा बाँदरहरू बाटो काट्दै छन्’ भन्दै रोक्न लगाउथेँ । म सँधै बाँदरको पछिपछि कागजको पोको लिएर हिँडिरहन्थे । जंगलमा केही महिला घाँस, दाउरा गर्न आउँथे । उनीहरू मेरो ताल देखेर गीतबाट व्यंग्य गर्थे । वनैभरि गुन्जिन्थ्यो–
‘बाँदरलाई किन हेरिबस्या, मलाई हेर न …बाँदर्नीभन्दा मै राम्री छु ….।’ म मनमनै हाँस्थेँ ।
मान्छेकै जस्तो पारिवारिक संस्कार
बाँदर र मानिसबीच धेरै कुरा मिल्छन् । मानिसको दिमागको क्षमताभन्दा बाँदरको दिमागको क्षमता लगभग आधा कम हुन्छ । यही एउटा कुराले बाँदर पछाडि छ । त्यसो त आदिम मानवसँग वर्तमान बाँदरको सामाजिक संरचना लगभग मिल्छ । बाँदरको पनि परिवार हुन्छ । लोग्ने, स्वास्नी हुन्छन् । मानिसमा जस्तै बाँदरमा पनि एकल परिवार र संयुक्त परिवार हुन्छ । एकल परिवारमा लोग्ने र स्वास्नी हुन्छन्, बच्चाहरू हुन्छन् । बहुविवाह गर्ने बाँदर पनि हुन्छन् । बाँदरले मानिसले जस्तै स्वास्नी फेर्छ । कतिपय जातका बाँदरले चाहिँ लोग्ने फेर्छन् । लोग्ने फेर्ने चलन चिम्पान्जीहरूमा बढी हुने गर्दछ । चिम्पान्जी र मानिसको बनोट त झन् ९८ प्रतिशतसम्म मिल्छ । चिम्पान्जीको दिमागी क्षमता अन्य बाँदरको भन्दा बढी हुन्छ ।
बाँदर पनि समूहमा बस्न रुचाउँछ । मैले अहिलेसम्म बाँदरको एक सय २० संख्याको समूह देखेको छु । केही अनुभवी र बलियो बाँदर त्यो समूहको नेता हुन्छ । त्यसलाई ‘समूह नाइके’ भन्न सकिन्छ । समूहका सबै सदस्यहरू नेताले देखाएको बाटोमा हिँड्छन् । र, नेताले पनि उत्तरदायित्व निर्वाह गर्दछ । भाले बाँदरको तुलनामा पोथी बाँदर बढी जिम्मेवार हुन्छन् । भाले बाँदर बढी स्वच्छन्द भएर हिँड्दछ, लोग्नेमानिसजस्तै । कतिपय अवस्थामा बाँदर आफ्नो स्मरणशक्तिबाट पनि काम गर्छ । कुनै स्थानमा खानेकुरा देखेको छ भने उसले आफ्नो समूहलाई त्यहाँ लैजान्छ । भोकमुक्त गराउँछ ।
काउकुती लगाइदिएर हाँस्छन्
जंगल चहार्दाचहार्दा बाँदरले पनि जीवनको लामो यात्रा गरेको हुन्छ । उसलाई पनि भोक लाग्छ, निद्रा लाग्छ, कामेच्छा हुन्छ, रोग लाग्छ । ऊ पनि संवेदना बोकेर हिँड्छ । रमाइलो गर्छ । दु:ख पोख्छ । घुर्की देखाउँछ । अनि माया गर्छ, एकदम निश्चल ।
वयष्क बाँदरहरू गम्भीर प्रकृतिका हुन्छन् । किशोरहरू अलि बढी छुकछुके । अनि बच्चाचाहिँ किशोरभन्दा बढी चञ्चल । रमाइलो गर्ने मामिलामा किशोर र बच्चाहरू सिपालु हुन्छन् । अर्को साथीको पुच्छर तान्दिएर खुरुरु रुखको टुप्पोमा पुगेर मजा लिन्छन् किशोरहरू । चिम्पान्जीहरू त झन् एक आपसमा काउकुती लगाएर रमाइलो गर्छन् । अनि मज्जाले हाँस्छन् । बाँदरहरू लुकामारी, तेलकासा अनि पौडी पनि खेल्छन् । पौडीमा त प्रतिस्पर्धा नै हुन्छ । राम्रोसँग पौडी खेल्न जान्नेले अरू नजान्नेलाई नाइके पाराले गाली गर्दै सिकाउँछ ।
समूहको सदस्य मर्दा उनीहरू शोक मनाउँछन् । केही समयअघि काठमाडौँको ब्लू स्टार होटल अगाडी एउटा बाँदर बिजुलीको तारमा करेन्ट लागेर मरेको थियो । त्यसबेला सम्पूर्ण बाँदर सडकमा निस्किएका थिए । ट्राफिक जाम नै भएको थियो । आफ्नो बच्चा मरेमा बाँदर्नीले त्यसलाई दिनहुँ लिएर हिँडिरहन्छे । कुहिएर नझरेसम्म छोड्दिनँ । एकपटक त्यस्तै मृत बच्चा च्यापेर हिँडिरहेकी बाँदर्नी देखेँ । उसको पिछा गर्न थालेँ । त्यो बाँदर्नी भोक लागेर एउटा रुखमा फल खान चढी र बच्चालाई तलै छाडी । मैले त्यस बच्चालाई लुकाइदिएँ । तल झर्दा बच्चा नदेखेपछि उसले निकै खोजेजस्तो गरी अनि हिँडी । यसबाट उनीहरूको संवेदना अड्कल गर्न सकिन्छ ।
नेपालका बाँदर
नेपालमा तीन प्रजातिका बाँदर पाइन्छन् । एकखाले प्रजातिलाई हामी राता बाँदर भन्छौँ, ती प्राय: मन्दिरतिर भेटिन्छन् । कतिपय जंगलमा पनि भेटिन्छन् । मध्यपहाडी क्षेत्रमा पाइने बाँदर पहरे बाँदर हो, जसको संख्या नेपालमा व्यापक छ । अर्कोचाहिँ तराईमा पनि पाइने हनुमान लंगुर हो । यसले रातो बाँदरले जस्तो आहार पनि खाइरहेको हुन्छ, कीरा–फट्याङ्ग्रादेखि फलफूलसम्म । पहाडी क्षेत्रका बाँदरले अन्नबालीमा नोक्सानी पुर्‍याएर मानिसलाई दु:ख दिएका हुन्छन् । सहरी क्षेत्रका बाँदरहरूचाहिँ मानिससँगको उठबसबाट कृत्रिमतामा प्रवेश गरेका छन् । सहरका बाँदरले आइसक्रिम, चाउचाउजस्ता कृतिम आहार खान थालेका छन् । मानिसमा जस्तै बाँदरमा पनि कृतिम खाद्यकुराको गम्भीर प्रभाव देखिन थालेको छ । टिबी , छालाको रोगजस्ता बाँदरमा हराइसकेका रोग फेरि बल्झीन थालेका छन् । आजकल कतिपय बाँदरहरू रौँ झरेका, पुच्छर खुइलिइएका अनि मानिसको जस्तै खुँडे भएका देखिन्छन् । त्यो सबै मानिससँगको सम्बन्धबाट उत्पन्न परिणाम हुन् ।
जंगली बाँदरले भने मानिसले दिएको कुनै पनि कुरा खाँदैन । ऊ प्राकृतिक आहारमा नै रमाउँछ । त्यसैले ऊ तुलनात्मक रूपमा स्वस्थ्य पनि छ । बाँदरलाई आहारा छनोट गर्न प्रकृतिले नै सिकाइदिएको छ । उनीहरू पेट सन्चो भएन भने टर्रो खालका बनस्पतीहरू टोक्न थाल्छन् । तिर्खा लागेको बेलामा ‘पानीलौ’ जस्ता डाँठ चुस्न थाल्छन् ।
नेपालमा अन्वेषणबाट जिराफ र हिप्पोपोटामसलगायत जीवको अवशेष भेटइसकिएको छ । त्यसैले नेपाल अनुसन्धानका लागि रहस्यमय भूमि हो । हिमालयन रेन्ज सभ्यतासँग मानव सभ्यताको सम्बन्धलाई नयाँ हिसाबबाट अध्ययन गर्नुपर्ने देखिएको छ । नेपालमा बाँदरको ऐतिहासिक अनुसन्धान गर्दा मानिसको पनि धेरै कुरा थाहा पाउन सकिन्छ ।
यौनमनोविज्ञान
वास्तवमा प्राय: जनावर वर्षको एक समय यौनसम्पर्क गर्छन् र सन्तुष्ट हुन्छन् । बाँदरमा पनि त्यही लागू हुन्छ । यौनको प्राकृतिक चक्रबाट बाहिर जाँदैन ऊ । बाँदरको घ्राणक्षमताले विपरीत लिंगीको अवस्था थाहा पाउँछ । पशुपति, स्वयम्भूका बाँदरले केटी मान्छेलाई देखेर झम्टने वा हस्तमैथुन गरेको सुन्नमा पाइन्छ । यसको पनि कारण छ । बाँदरले घ्राणक्षमताका आधारमा रजस्वला भएको या रजस्वलाको समय भर्खरै सकिएको पत्ता लगाउँछ । त्यसले गर्दा ऊ उत्तेजित भएको हुन सक्छ । बाँदर्नी रजस्वलाको समयमा छे र गर्भाधानको समय आएको छ भन्ने कुरा बाँदरले सँुघेर पत्ता लगाउँछ र यौन सम्पर्क राख्दछ । गर्भाधान गरिसकेकी बाँदर्नीमाथि फेरि यौनसम्पर्क राख्दैन ।
बाँदरहरू हत्तपत्त आँखा जुधाउँदैनन् । आँखा जुधाउनुले दुई किसिमको भाव व्यक्त गरिरहेका हुन्छन् । कि त उनीहरू माया गर्दै छन् वा केही समयमा यौन सम्बन्ध राख्दै छन् । कि त उनीहरू झगडा गर्दै छन् र केही समयमा टोकाटोक गर्नेछन् । संसारका सम्पूर्ण स्त्रीजातिका लागि प्राकृतिक रूपमा यौन सम्बन्धको निश्चित समय हुन्छ । यो प्राकृतिक अनुशासनमा बाँदर पनि बस्ने गर्छ । बाँदर्नीलाई आफ्नो सन्तानको बाउ को हो भन्ने थाहा हुन्छ, त्यसैले ऊ आफ्नो लोग्नेलाई माया गर्छे । तर, बच्चा भने बाउबारे अनभिज्ञ हुन्छ, त्यसैले ऊ आमासँगै नजिकिन्छ । आमापट्टीका सानीआमा, ठूलीआमा या हजुरआमासँग राम्रो सम्बन्ध राख्छ ।
गर्भाधानका बेला समूहसँग नमिल्ने बाँदर गर्भाधान गराउनबाट वञ्चित हुन्छ, एक वर्षसम्मका लागि । उसलाई समूहबाट निकालिन्छ । हामीले यदाकदा देख्ने एक्ले बाँदर त्यही हो, जो सजाय कटाउनका लागि फिरन्ते जिन्दगी बिताइरहेको हुन्छ । भाले बाँदरहरू आफ्नो वंश विस्तार होस् भन्ने चाहन्छन् अनि उनीहरू सकेसम्म धेरैलाई गर्भाधान गराउन खोज्छन् ।
एकपटक एउटा बाँदर हत्तपत्त रुखबाट झरेर तल रहेकी किशोरी बाँदर्नीमाथि यौनसम्पर्क गर्न तम्सियो । किशोरी बाँदर्नीकी हजुरआमाले परबाट यो दृश्य देखिरहेकी रहिछे । ऊ दौडिएर आएर त्यस बाँदरतिर आफ्नो पृष्ठभाग तेस्र्याइँ । त्यतिन्जेलमा किशोरी बाँदर्नी भागी । बाँदर अक्क न बक्क पर्यो । यसरी बुढी बाँदर्नीले उमेर नपुगेकी किशोरीमाथि गर्भाधान हुनबाट रोकी ।
उस्तैखाले रोग
हालसम्म भएका प्राय: अनुसन्धान बाँदरकै सहयोगबाट सफल भएका छन् । विकासक्रम हेर्दा बाँदरलाई ठ्याक्कै मानिसको पुर्खा त भन्न मिल्दैन तर आदिम मानवसँग उसको केही कुरा भने मिल्छ । त्यसैले पनि मानिसलाई फाइदा हुने विविध अन्वेषण बाँदरमा गरिन्छ । उसैको सहयोगले धेरै औषधि पत्ता लागेका छन्, रोग खुट्याइएका छन् । सभ्यताको विकासमा पनि बाँदरबाट मानिसले धेरै कुरा सिकेका छन् ।
मानिसले बाँदरबाटै सिकेर ब्लड प्रेसरको औषधि, प्रसूतिरोगसम्बन्धी समाधान, आङ झर्ने रोगको निराकरण, पोलियो थोपा अनि फूलो पर्ने समस्याको समाधान पत्ता लगायो । बाँदर र मानिसमा लाग्ने धेरै रोग उस्तै खाले हुन्छन् । यति धेरै फाइदा लिएर पनि बाँदरलाई मानिसले हेर्ने दृष्टिकोणमा परिवर्तन आउन सकेन । अनि, मानिसले आफूबाट लिएको फाइदाको प्रतिफल बाँदरले पाउन सकेन ।
माक्र्सले कल्पना गरेको आदिम साम्यवाद र वर्तमान बाँदरको अवस्थाबीच धेरै कुरा मिल्छ । मिल्दैन भने एउटै कुरा– श्रमको समान विभाजन । यद्यपि, प्राकृतिक अनुशासनमा बाँदर मानिसभन्दा धेरै अगाडि छ । त्यस स्थानमा पुग्न मानिसले राम्रै सभ्यता निर्माण गर्नुपर्ला । बाँदरहरू भावनालाई शब्दमा अभिव्यक्त गर्न सक्दैनन् तर उनीहरूमा भावना प्रचूर हुन्छ ।

प्रस्तुति : सरोज ढुंगाना

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय