पालो नेपाली कांग्रेसको

आफूलाई नेपालको ऐतिहासिक प्रजातान्त्रिक पार्टी भएको दाबी गर्ने नेपाली कांग्रेसमा आन्तरिक मेलमिलापको स्थिति देखा परेको छ । जहिले पनि आन्तरिक कलहमै रुमलिइरहेको यो पार्टी अहिले त्यो कलहबाट मुक्त हुन खोजेको हो कि भन्ने देखिन्छ । तर, पद र प्रतिष्ठालाई नै केन्द्र भागमा राखेर गरिने लडाइँ भने यो दलमा शिथिल बनिसकेको अवस्था छैन । लोकतान्त्रिक मूल्य, मान्यता र पद्धति आफ्नो मूलमन्त्र भएको बताउने यो दलका नेताले पूर्णरूपमा त्यो पद्धति अँगाल्न सकेको पाइँदैन । एकातिर सभापति नै सर्वेसर्वा हुने प्रचलन कायम गरिएको छ भने अर्कातिर बहुमतको निर्णय नमान्ने परिपार्टी पनि स्थापित गरिएको छ । जसले गर्दा कांग्रेसभित्र रहेको कलह साम्य हुन सकेको छैन । यो कलह मन्त्रिपरिषद् विघटन वा परिवर्तन हुँदा सतहमा देखा परेर छताछुल्ल हुने गरेको छ । जसले गर्दा नेपाली कांग्रेसलाई राजनीतिक नेतृत्व लिनबाट वञ्चित गर्दै आएको छ । पछिल्लो समयमा आएर नेपाली कांग्रेस देखिने गरी नै दुई खेमामा विभाजित रहेको पाइन्छ । जसलाई कोइराला खेमा र देउवा खेमा भन्ने गरिएको छ । यदि, यी दुई खेमा एउटै भएर गतिवान् बन्ने हो भने मुलुकको वर्तमान संकटपूर्ण राजनीतिलाई सहज अवतरण गराउने बाटो खुल्न सक्थ्यो । तर, यस दलभित्र रहेको सत्तास्वार्थले राजनीतिमै नकारात्मक प्रभाव पारिरहेको छ । यसर्थ, वर्तमान अवस्थामा कांग्रेसले नेतृत्व लिन चाहेको हो भने पहिला आफूभित्र रहेको बेमेल अवस्थाबाट मुक्त हुन जरुरी छ ।
राष्ट्रपति डा. रामवरण यादवले मुलुकको राजनीतिक र संवैधानिक संकट हटाउन समयसीमा तोकेर दलहरूलाई आह्वान गरेपछि सरकारको नेतृत्व लिन नेपाली कांग्रेस अग्रसर भएको देखिन्छ । यो कांग्रेसको उचित अग्रसरता पनि हो । संविधानसभाको निर्वाचनबाट पहिलो र तेस्रो ठूलो दल बन्न सफल एनेकपा (माओवादी) र नेकपा (एमाले) ले दुई/दुईपटक सरकारको नेतृत्व गरिसके । चक्रीय प्रणाली नै अपनाउने हो भने पनि पालो नेपाली कांग्रेसकै हो । अप्ठयारो अवस्थामा नेपाली कांग्रेसले सफलतापूर्वक नेतृत्व गरेको इतिहास पनि छ । तर, जबसम्म अन्तरपार्टी कलह मिल्दैन तबसम्म यो पर्टीे नेतृत्व सम्हाल्ने अवसरबाट वञ्चित हुनुपर्ने अवस्था रहन्छ । किनभने अहिले पनि यस दलभित्र एउटाले अर्काको खुट्टा तान्ने प्रवृत्ति रोकिएको छैन । पार्टीभित्रका विग्रह र विसंगतिलाई यथोचित व्यवस्थापन गर्ने हो भने मुलुकको नेतृत्व गर्न यो पार्टी सक्षम हुनेछ । अहिले सरकारको नेतृत्व लिन तयार रहेका नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई समर्थन गर्ने जनाएर वरिष्ठ नेता शेरबहादुर देउवाले थोरै भए पनि राजनीतिक सुझबुझ देखाएका छन् । तर, यही नै काफी हुँदैन । उनले कोइरालाका पक्षमा समर्थन जुटाउन अन्य दलका नेताहरूसँग छलफल र भेटघाट गर्न थाल्नुपर्छ । यसले मात्र देउवाले पार्टीका लागि केही गरेको सन्देश दिनेछ ।
राजनीतिक र संवैधानिक हिसाबले राष्ट्र निकै संकटपूर्ण अवस्थामा छ । कामचलाउ सरकारका प्रधानमन्त्री डा. बाबुराम भट्टराई ‘बरु गोली खान तयार छु, बालुवाटार छाड्दिनँ’ भनिरहेका छन्  यता राष्ट्रपतिले समयसीमा तोकेरै सहमतीय राष्ट्रिय सरकार गठनका लागि आह्वान गरिसकेको अवस्था छ । सबैले सोचेका छन्, अब राष्ट्रिय सरकारको नेतृत्व नेपाली कांग्रेसले सम्हाल्नुपर्छ । लोकतान्त्रिक पार्टी भएका नाताले निर्वाचनलगायत अन्य विषयमा सहमतिअनुसार नेपाली कांग्रेसले काम गर्नसक्छ भन्ने विश्वास पनि रहेको पाइन्छ । तर, आफूभित्रको किचलो र खुट्टा तानातानको अभ्यास यसले रोक्नुपर्छ । नेपाली कांग्रेस ऐतिहासिक पार्टी हो, यो लोकतन्त्रप्रति प्रतिबद्ध छ । यति हुँदाहुँदै पनि यो मुलुकमा वामपक्षीय सोचको बोलवाला छ । त्यो वामशक्तिलाई नकारेर कोही पनि अगाडि बढ्नसक्ने अवस्था छैन । तसर्थ, वर्तमान जटिल परिस्थितिमा नेपाली कांग्रेसले समग्र वस्तुस्थितिको मूल्यांकन गरेर आफूलाई सम्हालेर अगाडि बढ्नुपर्छ । देश, दुनियाँले देखेको र बुझेको कुरा के हो भने एमाओवादीले किचलो नगरी नेपाली कांग्रेसलाई सत्ता सुम्पनुपर्छ । साथै, तुरुन्त प्रधानमन्त्रीको नाम दिन नेपाली कांग्रेस तयार रहनुपर्छ । अब बन्ने सरकारले निर्वाचन गराउने एक मात्र कामको जिम्मा लिनुपर्छ । यसले मात्र राजनीतिक र संवैधानिक संकट हटाउनेछ ।

प्रतिक्रिया