यिंगलकविरुद्धको अविश्वास प्रस्ताव असफल

बैंकक : थाई प्रधानमन्त्री यिंगलक सिनावात्राविरुद्ध संसद्मा प्रस्तुत गरिएको अविश्वासको प्रस्ताव असफल भएको छ । राजधानी बैंककमा गत शनिबार भएको सरकारविरोधी प्रदर्शनमा प्रहरी हस्तक्षेप भएपछि थाई संसद्को तल्लो सदनमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराइएको थियो । प्रमुख विपक्षी दललगायत उसका सहयोगी दलले संसद्मा प्रस्ताव ल्याएका थिए । बुधबार प्रस्तावमाथि मतदान भएको थियो । तर, प्रस्तावको पक्षमा बहुमत सदस्यले मतदान नगरेकाले अविश्वासको प्रस्ताव असफल भएको समाचारमा जनाइएको छ ।
मतदान प्रक्रियामा सहभागी चार सय ६७ सांसदमध्ये तीन सय आठले प्रधानमन्त्री यिंगलकका पक्षमा मतदान गरेका थिए । प्रधानमन्त्री यिंगलकलाई थाइल्यान्डका ६ वटा सत्तारूढ राजनीतिक दलले समर्थन गरेकामा उनका पक्षमा सो दलका सांसदले मतदान गरेका थिए ।
बुधबारको संसद् सत्र सुरु भएलगत्तै प्रस्तावको पक्ष र विपक्षमा मतदान सुरु भएको थियो । प्रधानमन्त्री यिंगलक सत्तामा आएको करिब डेढ वर्षपछि उनीविरुद्ध प्रस्ताव ल्याइएको हो । प्रस्तावमा वर्तमान सरकारका अन्य तीन मन्त्रीलाई पनि तारो बनाइएको थियो । तर, थाई संसद्मा यिंगलकको पुए थाई पार्टी तथा उसको गठबन्धन साझेदारको बहुमत भएकाले अविश्वास प्रस्तावबाट सरकरलाई कुनै असर नपर्ने विश्लेषण गरिएको थियो । यिंगलकका पक्षमा संसदको तल्लो सभाको ६० प्रतिशत सदस्य रहेको बताइन्छ ।
विपक्षीहरूले यिंगलकमाथि प्रशासनमा नियन्त्रण कायम गर्न निटकमा मानिसलाई सरकारी पदमा नियुक्त गरेको आरोप लगाएका छन् । यिंगलकको थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाकसिन सिनावात्राकी बहिनी हुन् । भ्रष्टाचारको आरोपमा थाक्सीन हाल निर्वासनमा छन् । विपक्षीहरूले दाजुको सलसल्लाहमा यिंगलकले शासन सञ्चालन गर्ने गरेको आरोप लगाउने गरेका छन् । साथै, भ्रष्टाचार नियन्त्रण गर्न सरकार अक्षम भएको आरोप समेत सरकारमाथि लगाइएको छ ।
शनिबार राजधानी बैंककमा यिंगलकलाई अपदस्थ गर्न भन्दै विशाल प्रदर्शन भएको थियो । आन्दोलनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । प्रहरीले करिब एक सय ३८ प्रदर्शनकारीलाई पक्राउ समेत गरेको थियो । प्रदर्शन नियन्त्रण गर्न प्रशासनले १७ हजार प्रहरी तैनाथ गरेको थियो ।
थाइल्यान्डका राजावादी घटकहरूको समर्थन प्राप्त पिताक सियाम नामक सरकारविरोधी समूहले आन्दोलन आरम्भ गरेको हो । उक्त समुहल करिब पाँच लाख जनतालाई सडकमा ओराल्ने दाबीसहित आन्दोलन आरम्भ गरेको हो । आन्दोलनप्रती थाइल्यान्डका मुख्य विपक्षी गठबन्धन एलायन्स फर डेमोक्रेसी (पिडिए)मा आबद्ध ‘पहेँला पोसाकधारी’हरूले समेत समर्थन जनाएका छन् । ‘पहेँला पोसाकधारी’ दरबार समर्थकहरूको समूह हो । उनीहरू थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सीन सिनावात्राका चरमविरोधी हुन् । (एजेन्सी)

प्रतिक्रिया