छब्बीस वर्षपछिको हडताल अन्त्य

सिंगापुर : सिंगापुरमा गत २६ वर्षमा पहिलोपटक भएको हडताल अन्त्य भएको छ । चिनियाँ बसचालकहरूले आºनो पारिश्रमिक बढाउन माग गर्दै गरेको हडताल बुधबार अन्त्य भएको हो । हडतालबाट सिंगापुर सरकार क्रुद्ध भएको बताइएको छ ।
राज्यसँग आबद्ध एसएमआरटी नाम गरेको यातायात संस्थाले बुधबार सबै बस सेवा कार्यतालिकाअनुसार सञ्चालन भएको जानकारी दिएको छ । हडतालमा जाने बसचालकको कार्य गैरकानुनी भएको भनी मानवसंसाधन मन्त्रालयले घोषणा गरेपछि भइरहेको अनुसन्धानमा २० चालकले सहयोग गरिरहेको बताइएको छ । मन्त्रालयले हडतालमा संलग्न कुनै पनि व्यक्ति दोषी प्रमाणित भएमा एक वर्षसम्म काराबासको सजाय हुन सक्ने उल्लेख गरेको थियो ।
चिनियाँ बसचालकहरूको कुनै संगठन छैन र उनीहरूले हडताल गर्ने भनी घोषणा पनि गरेका थिएनन् । उनीहरूले आफूजस्तै काम गर्ने मलेसियाली नागरिकभन्दा आफूले कम पारिश्रमिक पाएको भनी विरोध जनाएका थिए ।
यसअघि सिंगापुरमा सन् १९८६ मा हडताल भएको मानवसंसाधन मन्त्रालयले जानकारी दिएको छ । सिंगापुरमा यातायातजस्ता अत्यावश्यक सेवामा हडताल गर्नुलाई गैरकानुनी मानिन्छ । हडतालमा जानु १४ दिनअघि यस विषयमा कम्पनीलाई जानकारी गराउनुपर्ने प्रावधान कानुनमा छ । (एएफपी)

प्रतिक्रिया