अश्लीलताको सहारा

काठमाडौं, १४ मंसिर । हलिउडका हुन् वा बलिउडका सेलिब्रेटी, चलचित्र क्षेत्रमा आफ्नो प्रभाव कम भएपछि उनीहरू चर्चामा आइरहनका लागि विभिन्न हत्कण्डा अपनाउने गर्छन् । अभिनयभन्दा पनि अंग प्रर्दशन गरेर वा चलचित्रमा केमियो गरेर अथवा गेस्टरोलमा भित्रिए पनि उनीहरूले अश्लील दृश्य दिएर आफ्नो चर्चा सधैँ बनाउने गरेका छन् । हलिउड र बलिउडका लागि यो कुनै नौला कुरो होइन । विदेशमा देखिँदै आएको यो क्रम अब नेपालको कलिउडमा पनि भित्रिएको छ । नेपाली चलचित्रका सेलिब्रेटीले पनि आफूलाई चर्चामा ल्याउन वा चलचित्र क्षेत्रमा आफ्नो उपस्थिति देखाउन अश्लीलताको सहारा लिन थालेका छन् ।
नायिका पूजना प्रधान यतिबेला चलचित्र बजारमा निकै चर्चामा छन् । उनको चर्चाको विषय बनेको छ उनले हालै अभिनय गरेको चलचित्र ‘रक्षा’ । यस चलचित्रमा उनले कथाले मागेको सिन भन्दै धेरै हदसम्म कपडा फुकालेकी छन् । चलचित्रका नायक अशोक फुयालसँग उनले दिएको बेडसिन चलचित्र क्षेत्रको अहिलेसम्मकै हटसिन भनेर भनी थालिएको छ । तर, पछिल्लो समय जय संगत नामक आवरण भिरेकी नायिका प्रधानको यो दृश्यलाई चलचित्र क्षेत्रमा आफू चर्चामा आइरहन गरेको ‘इन्टेन्सनल’ हर्कतको रूपमा लिन थालिएको छ ।
हिरो चलचित्रबाट अभिनय क्षेत्रमा प्रवेश गरेकी पूजनाले तिर्खा, पापी मान्छे, श्रीमानलगायत आधा दर्जन चलचित्रमा अभिनय गररिसकेकी छन् । तर, अभिनयबाट उनले ग्ल्यामर क्षेत्रमा कुनै छाप छोड्न नसकेपछि अहिले अश्लीलतालाई सहारा बनाएकी छन् । एभरेस्ट क्यासिनोमा नाच्दानाच्दै साइबर संसारबाट टुपिस फोटो सार्वजनिक गरे पनि पायको चर्चासँगै अभिनय क्षेत्रमा प्रवेश गरेकी पूजनाले जीवनमा अगाडि बढ्न सहारा लिँदै आयको हर्बो इन्टरनेसनल पनि सरकारले बन्द गरेपछि चलचित्र क्षेत्रमा चर्चामा आउनका लागि अश्लीलताको सहारा लिएकी हुन् । तर, उनले भने आफूले कुनै अश्लीलता प्रर्दशन नगरेको र कथाले माग गरेको ग्ल्यामर मात्र प्रर्दशन गरेको बताउँदै आयकी छन् ।
त्यसो त ‘लुट’ चलचित्रमा आइटम नृत्य गरेर चर्चामा रहेकी नायिका सुष्मा कार्कीले पनि अश्लीलताको सहारा लिएकी छन् । चलचित्र बिन्दासमा प्रस्तुत गरेको अश्लील दृश्यको चर्चा सेलाउन नपाउँदै उनले हालै छायांकन सकिएको चलचित्र नोटबुकको एक आइटम गीतमा निकै अश्लील नृत्य प्रस्तुत गरेकी छन् । चलचित्र के यो माया हो, कोही मेरोलगायत केही चलचित्र अभिनय गरेकी सुष्मा अभिनयबाट जम्न नसकेपछि अश्लीलतामा उत्रिएकी हुन् ।
दुलही नामक चलचित्रबाट अभिनयमा प्रवेश गरेकी नायिका सुमिनाले अभिनय गरेका चलचित्रको संख्या भन्ने हो भने दर्जन पुग्न लागे । आधा दर्जन जति प्रदर्शनमा पनि आएका छन् । तर, ती चलचित्रमा अभिनयका हिसाबले भने उनले कुनै चमत्कार देखाउन सकिनन् । त्यसैले पनि होला, उनले आफ्नो चर्चाका लागि अश्लीलतालाई सहारा बनाएकी छन् । पछिल्लो समय उनले चलचित्र स्टारको ‘चोली भित्र के छ …’ गीतमा ग्ल्यामरका नाममा निकै अश्लीलता प्रस्तुत गरेकी छन् ।
चलचित्रमा जम्न नसकेपछि अश्लीलतालाई सहारा बनाउने नायिकामा जिया केसी, सविना कार्की र विनीता बराल पनि छन् । जियाले केही चलचित्रमा अभिनय गरेकी छन् तर ती चलचित्र प्रदर्शनमा भने आएका छैनन् । अभिनय गरेको चलचित्र प्रर्दशनमा नआएपछि चर्चा  हुने भएन नै । त्यसैले उनले चर्चाका लागि चलचित्र एटिएममा अश्लीलता प्रदर्शन गरिन् । त्यसले उनलाई चर्चा त दिलायो, साथै उनी आलोचित पनि बनिन् । निर्देशक शोभित बस्नेतको चलचित्र दुलही रानीबाट अभिनय प्रवेश गरेकी सविनाले त्यस चलचित्रबाट सामान्य पनि चर्चा कमाउन सकिनन् । त्यसैले उनी एटिएममा अश्लीलतामा उत्रिइन् । एटिएमले भने उनलाई चर्चा दिलायो । नायिका बिनीता बरालको पनि चलचित्र चपली हाइटमा अश्लील सिन कम थिएन । त्यो चलचित्रमा उनले दिएको अश्लील सिनले उनी चर्चामा आइन् र अर्काे चलचित्र फुलस्टप पनी पाइन् तर उनको हातमा फुलस्टपपछि कुनै चलचित्र परेन । फुलस्टपले उनको अभिनयमा फुलस्टप नै लगायो ।
चलचित्र अभिनयमा जम्न नसकेका मात्र हैन चलचित्र क्षेत्रमा प्रवेश गर्दैमा चर्चाका लागि यस्ता दृश्य
दिने अभिनेत्रीको को पनि कमी छैन याहाँ । उदाहरणै दिर्नुपर्दा सोनिया केसी, शशि खड्का, सुजाता सिटौला, अरुणिमा लामा आदिलाई लिन सकिन्छ । सोनिया केसीले पहिलो चलचित्र सिलसिलामा हट किसको सिनबाट प्रवेश गरेकी हुन् । त्यही सिनका कारणले चलचित्र सफल पनि भयो । त्यसपछि उनको अभिनय धेरै चलचित्रमा रह्यो, तर कुनैले पनि गतिलो छाप भन्ने छोड्न सकेन । नायिका सुजाता सिटौलाले चलचित्र पलपलमा आफूलाई अश्लीलतामा उत्र्याइन्, चलचित्र त्यही कारणले सफल पनि भयो तर त्यसपछि उनका कुनै चलचित्र आएका छैनन् । पलपलमा नै अश्लील दृश्य दिएर चर्चामा आयकी शशि खड्काले अहिले चन्द्रावतीमा पनि त्यस्तै दृश्य दिएका कारण चर्चामा छिन् । यी दुईबाहेक उनका साथमा कुनै चलचित्र भने छैनन् ।
यी त मात्र उदाहरण हुन् । यस्ता अनेक अभिनेत्री छन् जसले आफूलाई चलचित्र क्षेत्रमा चर्चा दिलाउन अश्लीलताको सहारा लिएका छन् । क्षणिक चर्चामा आउन र आफूलाई चलचित्रमा प्रवेश गराउन अश्लीलताको सहारा लिने यस्ता अभिनेत्रीले चलचित्र क्षेत्रमा टिक्नका लागि नग्नताकै सहारा लिए पनि त्यसले चलचित्र क्षेत्रलाई भने सकारत्मक प्रभाव पार्ने गरेको देखिँदैन ।

प्रतिक्रिया