सुनकोसीमा बेलिब्रिज निर्माण सुरु

काठमाडौं, १४ मंसिर । उदयपुरको पश्चिमी गाविस लेखानी–२ घुर्मी र ओखढुंगा टोक्सेलस्थित हर्कपुरबीच पर्ने तीन जिल्लाको नाका रहेको सुनकोसी नदीमा अस्थाइ बेलिब्रिज निर्माण कार्य सुरु गरिएको छ ।
सुनकोसी नदीमा पक्की पुल निर्माणका लागि दस वर्षअघि नै ठेक्का लागे पनि सरकारको निगरानी नहुँदा सो पुल निर्माण हुन सकेको थिएन । पुल अभावका कारण अस्थायी रूपमा बेलिब्रिज निर्माण कार्य थालिएको ओखलढुंगाका ठेकेदार शिव प्रधानले जानकारी दिए । पुल निर्माण हुन नसकेपछि सर्वसाधारणको हितलाई मध्यनजर गर्दै दुई वर्षदेखि फेरीको सञ्चालन गरेता पनि प्रभावकारी बन्न नसक्दा बेलिब्रिज निर्माण हुन सकेको थिएन ।
फेरी सञ्चालन हुँदा एकपटकमा फेरीको क्षमताभन्दा बढी तौल राखेर र कहिले फेरीबीचैमा बिग्रने अवस्था भएकाले व्यापारी तथा सर्वसाधारण समस्यामा पर्ने गरेका छन् । सुनकोसी नदीमा पक्की पुल नहुँदा ओखढुंगा, खोटाङ र सोलुखुम्बुका सर्वसाधारण प्रत्यक्ष मारमा परेका थिए । पुल नहँुदा सो बाटो भएर जाने आवश्यक सामग्री महँगो रेट तिरेर खरिद गर्नुपरेको सर्वसाधारणको गुनासो छ । ब्रिज निर्माणपछि तीन जिल्लाका जनतालाई सहुलियत हुने स्थानीयले बताए । बेलिब्रिज हिउँद महिनामा मात्र लगाइन्छ भने वर्षा सुरु भएपछि पुन: निकालेर राख्ने गरिन्छ । तीन जिल्लाका व्यापारीकै लगानीमा सो पुल निर्माण थालिएको हो । बेलिब्रिजको मंसिर मसान्तसम्म निर्माण कार्य सकिने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया