गुम्दै छ ऐतिहासिक सहरको मौलिकता

पाल्पा, १४ मंसिर । तानसेन नगरपालिकाको हुकाल र नारायणथानबाट शीतलपाटी निस्कने बाटोले रूप फेरेको छ । ढुंगा बिछ्याएर आफ्नै मौलिक पहिचान बोकेका तानसेनका सडक सिमेन्ट र बालुवाले पक्की गरिएको छन् । सेन र राणाकालीन समयमा बिछ्याइएका ढुंगा हटाएर तानसेन नगरपालिकाभित्रका सडक पक्की भएका हुन् ।
तानसेन–१५ असनटोलका मकबुल अली भन्छन्, ‘ढुंगा बिछ्याएर बनाइएको सडक भत्काएर धमाधम सिमेन्ट र बालुवाले पक्की गर्दा तानसेनले मौलिक पहिचानलाई गुमाएको छ ।’ उनले थपे, ‘विकासका नाममा विनाश पो भयो ।’ ऐतिहासिक र सांस्कृतिक पर्यटकीय नगर तानसेनमा विकासको नाउँमा धमाधम पुराना संरचना हटाउँदा रोक्न कसैले पहल गरेनन् । बरु नगरका विभिन्न राजनीतिक दलका प्रतिनिधि र अगुवाले हिँडडुल गर्न र सवारी आवागमनमा सजिलोका लागि पक्की गर्न जोडबल गरे ।
विकास भनेकै सडक पक्की गर्नु भन्ने बुझाइले ढुंगा बिछ्याइएका मौलिक सडक हटाइएको तानसेन नगरपालिकाका पूर्वनगरप्रमुख अशोककुमार शाहीले बताए । नगरपालिकाको योजना तर्जुमा गोष्ठीमा शाहीले ढुंगा बिछ्याइएको सडकलाई भत्काउन नहुने धारणा राखेका थिए । तर, उनको धारणामा सहमत हुने धेरै भएनन् । ‘पक्की सडक चाहेकाले ढुंगा बिछ्याइएको सडक हटाइछाडे,’ उनले भने । तानसेनको मौलिक पहिचानबारे स्थानीयवासीले बुझ्न नसकेको उनको भनाइ छ ।
ऐतिहासिक र सांस्कृतिक नगरका रूपमा प्रचारित तानसेनले सडकको रूप फेरेसँगै आफ्नो मौलिक पहिचान गुमाएको छ । आधुनिक बन्ने सुर कस्दै छ । ढुंगा बिछ्याइएका सडक वातावरणमैत्री पनि थिए । जताजतै सिमेन्ट र बालुवाले ढलान गरिएकाले आकाशबाट परेको पानी जमिनले नसोस्दा ढुंगेधारा सुक्न थालेका छन् । गर्मीयाममा पक्की सडक तातेर गर्मी हुन थालेको छ । ‘ढुंगा बिछ्याएका सडक वातावरणमैत्री थियो, अहिलेको पक्की सडक वातावरणमैत्री छैन,’ स्थानीय बुद्धिजीवी निर्मल श्रेष्ठले भने ।
तानसेन आउने पर्यटकले ढुंगा बिछ्याएको सडक मन पराउने गरेको पर्यटनको क्षेत्रमा काम गरेका गेट अप पाल्पाका मनमोहन श्रेष्ठको अनुभव छ । श्रेष्ठका अनुसार तानसेन आउने पर्यटकको आकर्षण यहाँको परम्परागत मौलिकता हो । ‘अहिले परम्परागत मौलिकता मासिँदै गएपछि पर्यटकको आर्कषण पनि घट्न सक्छ,’ उनले भने ।
केही वर्षयता तानसेनमा घर बन्ने क्रम तीव्र छ । सडक मात्रै होइन, परम्परागत शैलीका घर भत्काएर आधुनिक शैलीमा बनाइँदै छ । इतिहास र संस्कृतिका जानकार डा. कर्ण बानियाँ परम्परालाई जोगाए विकासको माध्यम बनाउन सकिन्छ भन्ने बुझाइ नभएकाले समस्या परेको बताउँछन् । ‘सडकमा बिछ्याइएका ढुंगा हटाउन हुँदैन भनेर आन्दोलन गर्‍यौँ तर कसैले सुनेनन्,’ उनले भने ।
विकासका नाममा पुराना संरचना भत्काउने र नयाँ बनाउने मानसिकताले तानसेनले मौलिक पहिचान गुमाउँदै गएको डा. बानियाँको भनाइ छ । संस्कृतिविद् डा. बानियाँको भनाइसँग पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मधुदयाल सैंजु पनि सहमत छन् । नगरपालिकाले तानसेनको पर्यटकीय विकासमा ध्यान पुर्‍याउन नसक्दा मौलिक पहिचान गुम्दै गएको अध्यक्ष सैंजुले बताए । शीतलपाटीदेखि नारायणस्थानसम्मको सडकमा ढुंगा बिछ्याउनुपर्ने भन्दै नगरपालिकामा पटक–पटक कुरा राखेको बताउँदै सैंजुले तानसेनको मौलिकता जोगाउन सबैको ध्यान पुग्न नसकेको बताए ।
सडक पक्की गरेपछि पुन: माथिबाट ढुंगा बिच्छ्याउने योजनाअनुसार नगरपालिकाले टेन्डर गरेको थियो । तर, टेन्डरअनुसार काम हुन सकेको छैन । सडक पक्की भए पनि ढुंगा बिच्छ्याउने काम भएको छैन । ‘पक्की हुनुपर्छ भनेर माग आएपछि नगरपालिकाले त्यहीअनुसार काम गर्‍यो,’ तानसेन नगरपालिकाका इन्जिनियर मनोहरलाल शाक्यले भने । स्थानीयले पक्की नै मन पराएको नगरपालिकाले जनाएको छ ।
तानसेनको मौलिकता कायम राख्नुपर्छ भन्नेमा राजनीतिक दलहरू पनि प्रतिबद्ध छन् । नेपाली कांग्रेस तानसेनका सभापति चकोरमान शाक्यले भने, ‘शीतलपाटीदेखि नारायणथानसम्मको बाटोमा पक्कीमाथि ढुंगा नै बिच्छ्याउने गरी टेन्डर भएको हो तर त्योअनुसार काम भएको छैन ।’ मौलिकतालाई कायम राख्न नगरपालिकालाई पटक–पटक आग्रह गरेको उनको भनाइ छ । नगरपालिकाका कार्यकारी अधिकृतहरू फेरबदल भइरहने, स्थानीय निकाय जनप्रतिनिधिविहीन हुनु र राजनीतिक संयन्त्र पनि नभएकाले काममा ढिलासुस्ती हुने गरेको एमाले तानसेनका अध्यक्ष रामप्रसाद पोखरेलले जानकारी दिए । नगरपालिकाले पक्की बाटोमाथि ढुंगा नै बिच्छ्याउने गरी टेन्डर आह्वान गरे पनि काम हुन सकेको छैन । नगरपालिकाले करिब ४ वर्षको अवधिमा नगरको सडक पक्की गर्न १७ करोड रुपियाँ खर्च गरेको छ ।

प्रतिक्रिया