‘मेरो कीर्तिमान बेग्लै’

रियो द जेनेरियो : जर्मनीका स्ट्राइकर मिरोस्लाभ क्लोस विश्वकपमा छाउनुबाहेक अन्यमा आफूस्तरको प्रदर्शन गर्न सकेनन् । यद्यपि उनी सधैँ चर्चामा रहने गरेका छन् । ब्राजिलका होनहार स्ट्राइकर रोनाल्डोले विश्वकपमा बनाएको सर्वाधिक गोलकर्ताको कीर्तिमान तोड्ने प्रयासमा क्लोस लामो समययता सक्रिय छन् । यतिवेला क्लोस फुटबल खेलिरहेका छन् तर रोनाल्डोले राष्ट्रिय टिमबाट बिदा लिएको करिब आधा दशक हुन लागेको छ । क्लोस आगामी ब्राजिल विश्वकपका लागि पनि जर्मनी टोलीमा रहने सम्भावना प्रबल छ । यस्तो स्थितिमा रोनाल्डोलाई पक्कै पनि क्लोसका कारण आफ्नो कीर्तिमान तोडिने भयो भन्नेमा चिन्ता लाग्ला भन्ने धेरैको अनुमान हुनसक्छ । त्यसो हुनु असामान्य पनि होइन । तर, अचम्मलाग्दो के छ भने रोनाल्डोले आममानिसभन्दा फरक धारणा प्रस्तुत गर्दै आफ्नो इतिहासको स्थान सधैँ छुट्टै रहने दाबी गरेका छन् ।
विश्वकपमा रोनाल्डोले १५ र क्लोसले १४ गोल गरेका छन् । ‘चिन्ता नै छैन त भन्दिनँ तर त्यसको मात्रा थोरै छ ।’ सन् २०१४ मा ब्राजिलमा हुन गइरहेको विश्वकपमा क्लोसले सफलता हात पार्नसक्ने सम्भावनातर्फ इंगित गर्दै रोनाल्डोले भने, ‘मलाई लाग्छ, मेरो र उसको इतिहास फरक छ । हरेक मान्छेले आफ्नो इतिहास बनाउँछ । त्यसलाई छाड्दिउँm । यदि क्लोसले मेरो कीर्तिमान बराबरी गरे वा तोडे पनि मेरो इतिहास तोडिने छैन ।’ उनले क्लोसप्रति आफ्नो कुनै ईष्र्या नरहेको बताए । ‘मेरो कुनै ईष्र्या छैन किनभने ऊ खेलिरहेको छ, म छैन । हामी दुवैको आफ्नै कथा छ । मैले पहिले नै लेखिसकेको छु तर ऊ लेख्न प्रयास गरिररहेको छ,’ उनले थप स्पष्ट पारे ।
३६ वर्षीय यी पूर्वरियल म्याड्रिड स्टारले ब्राजिलका अहिलेका सनसनी नेयमारले आफ्नो भविष्य बनाउन युरोपियन फुटबलमा जानुपर्ने सुझाव दिएका छन् । ‘युरोपमा बस्नुको मज्जा र महत्त्व नै बेग्लै छ,’ रोनाल्डोले जोडे, ‘यसले फुटबल खेलाडीलाई एउटा राम्रो मान्छेमा परिणत गर्छ । यसमा पनि ब्राजिलका खेलाडीलाई धेरै फाइदा छ जसले युरोपमा खेल्न पाउने सम्भावना बढी हुन्छ । सांस्कृतिक र शैक्षिक हिसाबले नेयमारलाई युरोपमा खेल्नु फाइदै–फाइदा छ । उसले खेलकुद (फुटबल) पनि बढी बुझ्न पाउनेछ ।’ (एजेन्सी)

प्रतिक्रिया