सावधान किताब फोटोकपी गर्नेहरू

नयाँदिल्ली : भारतको राजधानी नयाँदिल्लीस्थित दिल्ली स्कुल अफ इकोनोमिक्स परिसरमा फोटोकपी पसल थापेर बसेका धर्मपाल सिंह अहिले चिन्तत छन् । रामेश्वरी फोटोकपी सर्विसेजका नाममा उनले सञ्चालन गरिरहेको व्यवसायमाथि क्याम्ब्रिज युनिभर्सिटी प्रेसजस्तो विशाल प्रकाशन समूह खनिएपछि उनको चैन बिथोलिएको छ ।
क्याम्पसको पुस्तकालयका पुस्तक फोटोकपी गरेर उनले विद्यार्थीलाई बिक्री गर्दै आएका थिए । प्रतिपेज ४० पैसामा उनले फोटोकपी गर्दै आएका थिए । तर, क्याम्ब्रिज प्रेसले यसप्रति औपचारिक रूपमै आपत्ति जनाएपछि अगस्टमा प्रहरीले उनको पसलमा छापा मारेको थियो । छापा मार्ने क्रममा पसलबाट विभिन्न किताबका फोटोकपी बरामद भएपछि पसल सञ्चालक सिंहको चैन बिथोलिएको हो । आफूले प्रकाशन गरेका पुस्तक जथाभावी फोटोकपी गरी बिक्री गरेर सिंहले ६० लाख रुपियाँ क्षति पुर्‍याएको दाबी गर्दै प्रेसले क्षति असुलउपर गर्न माग गरेको छ । क्षतिपूर्तिबापत ६० लाख तिनुपर्ने भयले सिंह अहिले चिन्तित बनेका छन् । सिंहले भने, ‘जाबो ६० पैसा प्रतिपेजमा फोटोकपी गर्दै आएको मैले त्यत्रो पैसा कहाँबाट जुटाउने ? छापा मारेपछि म यति चिन्तित भएको छु कि किताब फोटोकपी गर्न मैले पूरै बन्द गरिदिएको छु ।’
यससम्बन्धी समाचार पत्रपत्रिकामा प्रकाशित भएपछि कैयौँ लेखक र विद्यार्थीले प्रेसविरुद्ध आन्दोलन थालेका गरेका छन् । नोबेल पुरस्कार विजेता प्राध्यापक अमत्र्य सेनले पनि प्रकाशकको आलोचना गरेका छन् । निवोदिता मेननलगायत लेखकले फोटोकपी व्यवसायीलाई बलिको बोको बनाइनु हँुदैन भन्दै आन्दोलन चलाउँदै आएका छन् ।
तर, यससम्बन्धमा क्याम्ब्रिज युनिभर्सिटी प्रेस (इन्डिया) का म्यानेजिङ डाइरेक्डर मानस साइकियाले भने, ‘किताबको पूरै पाठ फोटोकपी गर्नु अपराध हो । हाम्रो भनाइ के मात्रै हो भने हामीले प्रकाशन गरेका किताबको बिक्रीबाट आएको केही रकम लेखक र प्रकाशकले पाओस् । किताब प्रकाशन गरेपछि लेखक र प्रकाशकले केही नपाउने हो भने यसमा लगानी कसले गर्छ र ?’ (एजेन्सी)

प्रतिक्रिया