रोस्टरमा रहेकाले पुन: रोजगार फाराम भर्नुपर्ने

काठमाडौं, १३ मंसिर । रोजगार अनुमति प्रणाली  (इपिएस) अन्तर्गत कोरियन भाषापरीक्षा उत्तीर्ण गरी प्रतीक्षा सूची (रोस्टर) मा रहेकाले पुन: रोजगार फाराम भर्नुपर्ने भएको छ । गत वर्ष एचआडी कोरियाले लिएको कोरियन भाषापरीक्षा उत्तीर्ण भई हालसम्म कोरिया नगएका कामदारले इपिएसको रोस्टरमा समावेश हुन पुन: रोजगार फाराम भरी स्वास्थ्यपरीक्षणलगायत प्रक्रिया पूरा गर्नुपर्ने भएको हो ।
इपिएस शाखाका अनुसार रोजगारीमा जान बाँकी कामदारले एचआडी कोरियाले तोकेको प्रावधान अनुसार ५ अमेरिकी डलर तिरेर आवेदन फाराम भर्नुपर्ने तथा तोकिएको स्वास्थ्यसंस्थामा स्वास्थ्यपरीक्षण गरी विवरण बुझाउनुपर्ने छ । एचअरडी कोरियाले तोकेकै मापदण्डअनुसार इपिएसले सूचनासमेत जारी गरिसकेको जनाएको छ ।
गत वर्ष लिएको भाषापरीक्षा उत्तीर्णमध्ये नौ हजारभन्दा बढी कामदार यो वर्ष (सन् ०१२) मा कोरिया जान बाँकी रहेकाले उनीहरूका लागि रोजगार फाराम भर्नुपर्ने व्यवस्था गरिएको इपिएस निर्देशक सूर्य भण्डारीले बताए । भण्डारीका अनुसार कोरियाले पठाएको नयाँ सूचनाअनुसार इपएिसको रोस्टरमा समावेश हुनेले अनिवार्य रूपमा स्वास्थ्यपरीक्षणलगायत प्रक्रिया पूरा गरी रोजगार फाराम भर्नुपर्ने हुन्छ । सो फाराम भर्न विगतमा राखिएकै प्रावधान रहेको जनाइएको छ ।
गत वर्ष भाषापरीक्षा उत्तीर्णमध्ये करिब ६ हजार कामदार रोजगारीका लागि कोरिया गइसके पनि ९ हजारभन्दा बढी प्रतीक्षा सूचीमा छन् । इपिएसको ‘रि–रोस्टर’ मा समावेश हुन उनीहरूका लागि रोजगार फाराम अनिवार्य रहेको इपिएसले जनाएको छ । तर, पुन: प्रतीक्षा सूचीमा रहने नौ हजार कामदारले भने अर्को वर्ष (स्न ०१३) मा मात्र कोरिया जान पाउने भएका छन् । रोजगारदाता मुलुक कोरियाले यो वर्ष (सन् ०१२) का लागि छुट्याएको कामदार कोटा पूरा भएकाले नौ हजारभन्दा बढी कामदार आगामी वर्षका लागि इपिएसको पुन: प्रतीक्षा सूची (रोस्टर) मा रहने र अर्को वर्षको जनवरीपछि मात्र रोजगारीमा जान सक्ने जनाइएको छ ।
कोरियाले इपिएसअन्तर्गत यो वर्ष ५७ हजार कामदार कोटा छुट्याइएको थियो । विभिन्न १५ मुलुकका लागि छुट्याइएको सो कोटा करिब दुई महिनाअघि नै पुगिसकेको छ । तर, रोजगारदाता कम्पनीको मागअनुसार केही कामदार लिइँदै आए पनि नेपालमा गत वर्ष भएको भाषापरीक्षा उत्तीर्णमध्ये करिब ६ हजार कामदार मात्र यो वर्ष कोरिया गएका छन् ।
इपिएस निर्देशक सूर्य भण्डारीले यो वर्ष कोरिया जान बाँकी रहेका नौ हजारभन्दा बढी कमदारलाइ नयाँ रोस्टरमा राखिने र उनीहरूलाई आगामी जनबरीदेखि कोरियाले रोजगारीमा लैजान सुरु गर्ने बताए ।
नेपाल–कोरियाबीच दुईपक्षीय श्रम सम्झौतापछि हालसम्म करिब १५ हजार रोजगारीका लागि दक्षिण कोरिया गएका छन् । नेपाली कामदारका लागि आकर्षक मुलुक दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत उनीहरूलाई रोजगारीमा लगेको हो ।
कोरियाले सन् २००७ मा भएको श्रम सम्झौतापछि सन् २००८ मा पहिलोपटक लिएको भाषापरीक्षामा ६ हजार पाँच सय ८६, सन् ०१० मा चार हजार ९६ र सन् ०११ मा १५ हजारभन्दा बढी कामदारलाई रोस्टरमा राखेको थियो । सन् ०११ मा भएको तेस्रो भाषापरीक्षामा उत्तीर्णमध्ये करिब ६ हजार जनाको लेबर कन्ट्रयाक ( श्रम करार) पठाएकामा पाँच हजार पाँच सयजना रोजगारीमा गइसेकको इपिएस शाखाले जनाएको छ ।
ठूलो संख्यामा गत वर्षको भाषापरीक्षा उत्तीर्ण कामदार रोस्टरमा रहने भएपछि सन् ०१३ मा भने कोरियाले नेपालमा भाषापरीक्षा सञ्चालन नगर्ने भएको छ । २००८ पछि प्रत्येक वर्ष कोरियाले नेपालमा भाषापरीक्षा सञ्चालन गर्दै आएको थियो ।
२००७ अघि निजी क्षेत्रबाट पनि कामदार कोरियामा रोजगारीका लागि जाने गरेका भए पनि म्यानपावर कम्पनीले जथाभाबी रकम उठाउन थालेपछि अहिले इपिएस प्रक्रियाबाहेक कामदार कोरिया जान पाउँदैनन् । यस्तै, यसअघि कोरिया गई गैरकानुनी रूपमा बसी फर्केका, विभिन्न अभियोग लागेका व्यक्ति पनि त्यहाँ रोजगारीमा जान पाउँदैनन् । कोरियामा रोजगारीमा जाने कामदारले मासिक ८० हजारको हारहारीमा पारिश्रमिक पाउँछन् ।

प्रतिक्रिया