प्रचण्डको दोहोरो चाल

काठमाडौं, १२ मंसिर । राष्ट्रपति डा. रामवरण यादवले चालेको कदमका विषयमा माओवादी अध्यक्ष प्रचण्ड प्रस्ट रूपमा दोहोरो भूमिका निभाइरहेका छन् । उनले आफैँ प्रधानमन्त्री बन्ने मनसायले भित्री चलखेल गरिरहेको स्रोतको दाबी छ ।
नयाँ सरकार गठनका लागि राष्ट्रपतिले गरेको आह्वान असंवैधानिक भएको एमाओवादीले औपचारिक प्रतिक्रिया दिएको छ । तर, यस विषयमा पार्टीले कुनै लिखित धारणा सार्वजनिक गरेको छैन । अध्यक्ष प्रचण्ड र उनीनिकट नेताहरूले राष्ट्रपतिमाथि नरम प्रतिक्रिया दिइरहेका छन् भने प्रधानमन्त्री डा. बाबुराम भट्टराई र उनीनिकट नेताहरूले कडा प्रतिवाद गरेका छन् ।
एमाओवादी उच्च स्रोतका अनुसार पार्टी अध्यक्ष दाहाल पछिल्लो समय सकेसम्म आफँै प्रधानमन्त्री बन्ने दाउमा छन् । तर, यसबारे उनले कसैसित मुख भने खोलिसकेका छैनन् ।
सरकारको नेतृत्व र राष्ट्रपतिको आह्वानका विषयमा उनले अधिकांश दलका नेताहरूसँग छलफल गरेको स्रोतले बतायो । ‘सबैको धारणा बुझेपछि आºनो प्रस्ताव दलहरूसमक्ष राख्ने सोचाइ उनको छ,’ स्रोतले भन्यो ।
एमाओवादीबाट फुटेर बनेको नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापासँग प्रचण्डले आइतबार गोप्य भेट गरी राजनीतिक निकासबारे छलफल गरेका थिए । आºनै निवास लाजिम्पाटमा भएको छलफलमा उनले ‘सरकारको नेतृत्व हाम्रो हातभन्दा बाहिर जान दिनुहँुदैन’ भन्दै सहयोग मागेको स्रोतको दाबी छ । वैद्यले पनि प्रस्तावलाई सकारात्मक रूपमा लिँदै यस विषयमा छलफल चलाउनुपर्ने प्रतिक्रिया दिएका थिए । तर, नेकपा–माओवादीले प्रधानमन्त्रीको उम्मेदवारका रूपमा रामबहादुर थापालाई अघि सारेर प्रचण्डलाई जिल्याएको छ ।
यता, पार्टी अध्यक्ष नै सरकार बहिर्गमन गराउने खेलमा लागेको महसुस गरी प्रधानमन्त्री भट्टराईले मन्त्रिपरिषद्को बैठक नै बसालेर राष्ट्रपतिको आह्वान असंवैधानिक भएको निष्कर्ष निकाले । उनले मन्त्रिपरिषद्को बैठकले पारित गरेको निर्णय राष्ट्रपतिलाई लिखित रूपमै बुझाएका छन् । तर, एमाओवादीले भने मन्त्रिपरिषद्ले गरेको निर्णयबारे पनि कुनै प्रतिक्रिया दिएको छैन । केवल भट्टराई पक्षका केही नेताले सार्वजनिक कार्यक्रममा सरकारको निर्णय स्वाभाविक रहेको बताएका छन् ।
यता, प्रचण्डले आफू आह्वानको विपक्षमा नरहेको सन्देश निरन्तर शीतलनिवास पुर्‍याएको जानकारी पाएपछि भट्टराई सरकारका मन्त्रीहरूले राष्ट्रपतिको कदमप्रति आफूहरूको असहमति रहे पनि यसलाई असंवैधानिक नभनेको बताउँदै हिँड्न थालेका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा सिँचाइमन्त्री महेन्द्र यादवले क्याबिनेट बैठकले राष्ट्रपतिको आह्वानलाई असंवैधानिक नभनेको दाबी गरे । ‘प्रधानमन्त्रीको पत्र जानकारी मात्रै हो, कदमलाई हामीले असंवैधानिक भनेका छैनाँै,’ मन्त्री यादवले सोमबार राजधानीमा गरेको कार्यक्रममा भने, ‘राष्ट्रपतिसँग द्वन्द्व चर्काएर जाने पक्षमा सरकार छैन, राष्ट्रपतिले भनेको समयमा सहमतिको सरकार बनाउन मधेसी मोर्चाले भूमिका खेल्छ ।’
सत्तारूढ मधेसी मोर्चाका अन्य नेता पनि राष्ट्रपतिको आह्वानको पक्षमै देखिएका छन् । सत्ताको प्रमुख साझेदार मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिव जितेन्द्र देवले राष्ट्रपतिको आह्वानलाई विवादमा तानेर मुलुकलाई मुठभेडमा लैजान नहुने प्रतिक्रिया दिए । देवले केहीको जागिर बचाउनकै लागि राष्ट्रपतिको कदमको विरोधमा जानु उपयुक्त नहुने बताए ।
उता दाहालले एमाओवादीका तर्फबाट सार्वजनिक खपतका लागि बाहिर आएका प्रचारबाट भ्रममा नपर्न राष्ट्रपति डा. रामवरण यादवलाई बारम्बार सन्देश पठाइरहेका छन् । शनिबार शान्ति मन्त्रालयमा प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकपछि दाहालले एमाले अध्यक्ष झलनाथ खनाल र कांग्रेस सभापति सुशील कोइरालालाई छुट्टै भेटेर आºनो सन्देश राष्ट्रपतिसमक्ष पठाएको स्रोतको दाबी छ । तीन दलका शीर्ष नेताहरूको बैठकपछि कोइराला र खनाल शनिबार राति राष्ट्रपतिनिवास पुगेका थिए । ‘बाहिर आएका कुराको भ्रममा नपर्न एमाओवादी अध्यक्ष दाहालको सन्देश आइरहेको छ,’ राष्ट्रपति कार्यालयका एक अधिकारीले भने, ‘शनिबार प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकपछि पनि उहाँ (दाहाल)ले यस्तो सन्देश पठाउनुभएको छ ।’
अध्यक्ष दाहाल राष्ट्रपतिको आह्वानप्रति नरम रहेकै कारण शनिबार बसेको एमाओवादी पदाधिकारी बैठकपछि पार्टीले लिखित रूपमा प्रेस वक्तव्यसमेत सार्वजनिक नगरेको हो । सोही दिन बसेको सत्तारूढ गठबन्धन दलहरूको बैठकले सहमति जुटाउन एमाओवादी अध्यक्ष दाहाललाई जिम्मेवारी दिने निर्णय गर्‍यो । गठबन्धन बैठकले पनि राष्ट्रपतिले गरेको आह्वानका विषयमा मौखिक धारणा प्रवक्ता प्रेमबहादुर सिंहमार्फत सार्वजनिक गर्‍यो र लिखित रूपमा कुनै दस्ताबेज सार्वजनिक गरेन । त्यस्तै, राष्ट्रपतिको आह्वानपछि शनिबार शान्ति मन्त्रालयमा बसेको प्रमुख तीन दलको बैठकमा अध्यक्ष प्रचण्ड राष्ट्रपतिको आह्वानबमोजिम सहमति प्रक्रियामा सहभागी हुनुपर्ने पक्षमा देखिएका थिए भने प्रधानमन्त्री भट्टराईले आह्वानका आधारमा निकासका लागि बैठकसमेत बस्न नसकिने बताएका थिए । ‘बाबुराम भट्टराई राष्ट्रपतिको कदम असंवैधानिक छ, यस विषयमा छलफल गर्न सकिँदैन भनी आक्रोशित रूपमा प्रस्तुत हुनुभएको थियो,’ शनिबारको शीर्ष बैठकमा सहभागी एमाले उपाध्यक्ष वामदेव गौतमले सौर्यसँग भने, ‘पछि प्रचण्डजीले दलहरूबीचको सहमतिबाटै टुंगोमा पुग्ने भएकाले प्रक्रियामा पार्टी सहभागी हुने बताउनुभएको हो ।’
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव गंगा श्रेष्ठले भने अध्यक्ष र प्रधानमन्त्रीबीच विवाद नरहेको दाबी गरे । उनले सौर्यसँग भने, ‘बाहिर आएजस्तो होइन, (राष्ट्रपतिको) विज्ञप्ति आउनेबित्तिकै चाहिँ केही कन्ºयुजन भएको थियो । तर, बैठकपछि सबै मिलिसकेको छ ।’
शुक्रबार साँझ राष्ट्रपति कार्यालयबाट विज्ञप्ति सार्वजनिक भएलगत्तै एमाओवादी प्रवक्ता अग्नि सापकोटाले त्यसमा सकारात्मक टिप्पणी गरेका थिए । शनिबार एक कार्यक्रममा नेता कृष्णबहादुर महराले पनि विज्ञप्तिको स्वागत गरेका थिए । त्यसपछि झस्किएका प्रधानमन्त्रीले आºनो असन्तुष्टि अध्यक्ष दाहालसमक्ष राखेका थिए । प्रधानमन्त्रीले राष्ट्रपतिको विज्ञप्तिलाई ‘कु’ का रूपमा विश्लेषण गरेका छन् ।
राष्ट्रपतिसँग भेटेपछि आएको प्रचण्डको प्रतिक्रियामा प्रधानमन्त्रीले असन्तुष्टि राखेपछि एमाओवादीले अलि कडा खालको विरोध गर्ने निर्णय गर्‍यो । सोहीअनुसार एमाओवादीका जनवर्गीय संगठनले आइतबार देशका विभिन्न स्थानमा विरोध प्रदर्शन गरेका थिए ।
‘राष्ट्रपति र प्रचण्डसँग मनमुटाव छैन’

काठमाडौं : प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रपति र आºनै पार्टीका अध्यक्ष पुष्पकमल दाहालसँग कुनै पनि किसिमको मनमुटाव र द्वन्द्व नभएको बताएका छन् । राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री डा. भट्टराईले हाल वैधानिक निकाय राष्ट्रपति र प्रधानमन्त्री मात्रै भएकाले दुई निकायबीच द्वन्द्व बढाउने पक्षमा आफू नरहेको र अहिले पनि द्वन्द्व नरहेको दाबी गरे ।
‘अध्यक्ष प्रचण्ड र मबीच मनमुटाव भएको कुरा गलत हो, दुर्नियतपूर्ण तरिकाले हल्ला चलाइएको मात्रै हो,’ प्रधानमन्त्रीले भने, ‘अध्यक्ष र मबीच सल्लाह भइरहेको छ । उहाँको र मेरो सहकार्यबाटै निकास निस्कन्छ ।’ सहमतिको सरकार गठनका लागि राष्ट्रपतिको आह्वानलाई लिएर अध्यक्ष दाहाल र प्रधानमन्त्रीबीच तिक्तता बढेको समाचार सार्वजनिक भएका थिए । त्यसैगरी, आइतबारको मन्त्रिपरिषद् बैठकको निर्णयले प्रधानमन्त्री र राष्ट्रपतिबीच द्वन्द्व बढाएको विश्लेषण गरिएका बेला प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिएका हुन् ।
अध्यक्ष दाहाल र एमाओवादी उपाध्यक्षसमेत रहेका प्रधानमन्त्रीबीच आइतबार कुराकानी भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ । आइतबार राष्ट्रपतिसँगको भेटलगत्तै दाहाल र प्रधानमन्त्री डा. भट्टराईबीच भेटवार्ता भएको थियो । त्यसैगरी, सोमबार पनि प्रधानमन्त्री र अध्यक्ष दाहालबीच भेटवार्ता भएको छ । भेटवार्तामा सार्वजनिक भएको मनमुटावको समाचारको खण्डन गर्ने र राष्ट्रपतिको विज्ञप्तिको विषयमा एउटै धारणा मात्रै सार्वजनिक गर्ने सहमति भएको प्रधानमन्त्रीनिकट स्रोतको भनाइ छ । आइतबारको मन्त्रिपरिषद्को निर्णयबारे पनि अध्यक्ष दाहालसँग प्रधानमन्त्रीले परामर्श गरेको स्रोत बताउँछ । अध्यक्ष प्रचण्ड र राष्ट्रपतिबीच गोप्य सहमति भएको भन्ने समाचारबारे बालुवाटार स्रोतले भन्यो, ‘प्रधानमन्त्रीले अध्यक्षमाथि कुनै पनि शंका गर्नुभएको छैन । अध्यक्षसँग नियमित संवाद भइरहेको छ । अहिले अध्यक्ष र प्रधानमन्त्रीबीच कुनै विरोधाभास छैन ।’

प्रतिक्रिया