१९ देशका भूवैज्ञानिक आउँदै

काठमाडौं : खनिज पदार्थको अवस्थाबारे छलफल चलाउन १९ देशका भूवैज्ञानिक नेपालमा आउँदै छन् । बुधबारदेखि तीन दिनसम्म चल्ने २७औँ हिमालय–काराकोरम–तिब्बत गोष्ठीमा सहभागी हुन उनीहरू नेपाल आउन लागेका हुन् ।
आयोजक संस्था नेपाल भौगर्भिक समाज र खानी तथा भूगर्भ विभागले सोमबार पत्रकार सम्मेलन गरी गोष्ठीमा पाकिस्तान, भारत, बंगलादेश, अमेरिका, बेलायत, जापानलगायत देशका १ सय २४ भूवैज्ञानिक सहभागी हुने जानकारी दिए । गोष्ठीमा नेपाललगायत मुलुकको खनिज पदार्थको अवस्था र प्राकृतिक विनाश रोक्नेबारे छलफल हुने समाजका अध्यक्ष उत्तमबोल श्रेष्ठले जानकारी दिए । विदेशी भूवैज्ञानिकले नेपालको खनिज तथा प्राकृतिक स्रोतको अध्ययन गरेको विषयमा समेत छलफल गरिने विभागका महानिर्देशक सर्वजितप्रसाद महतोले बताए ।
गोष्ठी संयोजक डा. दिव्यरत्न कंसाकारले हिमालमा पाइने भूगर्भ तथा भौगर्भिक प्रक्रिया, प्राकृतिक स्रोत, प्राकृतिक प्रकोप, भूकम्प तथा जलवायुसम्बन्धी १ सय ५० भन्दा बढी शोधपत्र प्रस्तुत गरिने जानकारी दिए । त्यसमध्ये नेपालीले ४० वटा शोधपत्र प्रस्तुत गर्नेछन् ।

प्रतिक्रिया