यिंगलकविरुद्धको प्रस्तावमाथि छलफल सुरु

बैंकक : थाई प्रधानमन्त्री यिंगलक सिनावात्राविरुद्ध संसद्मा दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल सुरु भएको छ । सरकारविरुद्ध थाइल्यान्डको राजधानी बैंककमा सरकारविरोधी प्रदर्शनले हिंसात्मक रूप लिएपछि विपक्षी दलले उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । यसबाट थाइल्यान्डमा राजनीतिक
धु्रवीकरण तीव्र भएको छ ।
यिंगलकविरुद्ध आइतबार अविश्वासको प्रस्ताव ल्याइएको र सोही दिन प्रस्तावमाथिको छलफल आरम्भ भएको थियो । सत्तामा आएको करिब अढाई वर्षपछि उनीविरुद्ध यो प्रस्ताव ल्याइएको हो । प्रस्तावमा सरकारका तीन अन्य मन्त्रीलाई पनि तारो बनाइएको छ । तर, थाइल्यान्डको संसद्मा यिंगलकको पुए थाई पार्टी तथा उसको गठबन्धन साझेदारको बहुमत भएकाले प्रस्ताव पारित हुने सम्भावना कम रहेको विश्लेषकको भनाइ छ ।
विपक्षीहरूले यिंगलकमाथि प्रशासनमा नियन्त्रण कायम गर्न निटकमा मानिसलाई सरकारी पदमा नियुक्त गरेको आरोप लगाएका छन् । यिंगलक थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाकसिन सिनावात्राकी बहिनी हुन् । भ्रष्टाचारको आरोपमा हाल थाक्सिन निर्वासनमा रहेको र विपक्षीहरूले दाजुको सरसल्लाहमा यिंगलकले शासन सञ्चालन गर्ने गरेको आरोप लगाएका छन् ।
विपक्षी डेमोक्रयाट पार्टीका सांसदले सोमबार प्रस्तावमाथि छलफल आरम्भ गर्दै वचन दिएअनुरूप शासन गर्न प्रधानमन्त्री असफल भएको बताएका थिए । साथै, भ्रष्टाचार नियन्त्रण गर्न सरकार असक्षम भएको आरोपसमेत उनीहरूले लगाएका थिए । छलफल मंगलबारसम्म चल्ने र निर्णयार्थ प्रस्ताव प्रस्तुत हुने बताइएको छ ।
यिंगलकको पुए थाई दलले सन् २०११ मा भएको निर्वाचनमा विजय हासिल गरेपछि ६ पार्टीको सत्ताधारी गठबन्धन तयार भएको थियो । यसले संसद्को तल्लो सभाको ६० प्रतिशत स्थान ओगटेको छ ।
शनिबार बैंककमा भएको सरकारविरोधी प्रदर्शनमा प्रदर्शनकारी तथा प्रहरीबीच झडप भएको थियो । आन्दोलनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रयोग गरेको थियो । प्रहरीले करिब एक सय ३८ प्रदर्शनकारीलाई पक्राउसमेत गरेको थियो । प्रदर्शन नियन्त्रण गर्न प्रशासनले १७ हजार प्रहरी तैनाथ गरेको थियो ।
थाइल्यान्डका राजावादी घटकहरूको समर्थन प्राप्त पिताक सियाम नामक सरकारविरोधी समूहले आन्दोलन आरम्भ गरेको हो । उक्त समूहले करिब पाँच लाख जनतालाई सडकमा ओराल्ने दाबीसहित आन्दोलन आरम्भ गरेको हो ।
आन्दोलनप्रति थाइल्यान्डका मुख्य विपक्षी गठबन्धन एलायन्स फर डेमोक्रेसी (पिडिए)मा आबद्ध ‘पहेँला पोसाकधारी’हरूले समेत समर्थन जनाएका छन् । ‘पहेँला पोसाकधारी’ दरबार समर्थकको समूह हो । पछिल्लो आमनिर्वाचनबाट यिंगलक प्रधानमन्त्री बन्नुअघि पिडिए सरकार रहेका बेला ‘राता पोसाकधारी’हरूले सरकारविरोधी आन्दोलन थाल्दा ‘पहँेला पोसाकधारी’हरूले यसको सशक्त प्रतिरोध गरेका थिए । ‘राता पोसाकधारी’ थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राका समर्थक हुन् । उनीहरूले यिंगलकको दललाई समर्थन जनाउँदै आएका छन् । (एजेन्सी)

प्रतिक्रिया