यसरी गरिदिएँ कुकुरको बिहे

सानैदेखि मलाई कुकुर मन पथ्र्यो । बुबाले घरमा कुकुर ल्याइरहनुहुन्थ्यो । विभिन्न खाले कुकुर पालिए हाम्रोमा । घरमा पालिएका मात्र होइन, बाहिरी कुकुर पनि राम्रा लाग्थे मलाई । कुकुरलाई बिस्कुटलगायत खाने कुरा खुवाउँदा खुबै रमाइलो लाग्ने । सायद बुबाको यसखाले जनावरप्रेम नै मेरो कुकुरप्रेमको प्रेरणा बन्यो ।
दश वर्षअघिको कुरा हो । सान्दाइले विदेश जानुपूर्व घरमा एउटा नयाँ कुकुर ल्याउनुभयो । कुकरको नाम थियो ‘अमिगु’ । स्पेनी शब्द ‘अमिगो’ को नेपाली अर्थ हुन्छ– साथी । वास्तवमा त्यो कुकुर साथीजत्तिकै थियो । नाम बोलाउनेबित्तिकै अमिगु पुच्छर हल्लाउँदै खुुरुरु आउँथ्यो । हाम्रो घरमा सबैको साथीजत्तिकै भयो ऊ । उसलाई देखेपछि बालापनदेखि नै रहँदै आएको मभित्रको कुुकुरप्रेम अझ बढ्यो ।
कुकुर देखेर कतिपयको सातो जान्छ । कतिपयचाहिँ कुकुरलाई घृणा गर्छन् । तर, मलाई कहिल्यै पनि कुकुरदेखि डर लागेन अनि घृणा पनि । मलाई अहिलेसम्म कुकुरले टोकेको पनि छैन । कतिपय मानिस अरूलाई गाली गर्दा ‘कुकुर’ भन्छन् । मलाई त्यो सुनेर मानिसको भन्दा पनि कुकुरको बेइज्जत भएजस्तो लाग्छ । वास्तवमा कुकुरमा मानिसमा भन्दा धेरै असल गुण हुन्छन् । बरु मानिस कुकुरजस्तो भइदिए संसारै राम्रो हुन्थ्यो ।
अहिले मेरो घरमा ‘टमी’ छ । त्यो जापानी जातको कुकुर हो । अलि चकचके छ तर मायालु छ । ऊसँग अचेल उत्ति नजिकिन पाएकी छुइनँ । अहिले मेरो बच्चा जन्मिएकाले टमीको रौँ सर्ला कि भनेर बचाउनुपर्छ । त्यसैले उसबाट पहिलेभन्दा टाढिनुपरेको हो । तर, टमी मेरो कोठामै हुन्छ । पहिला म उसको खुब स्याहार गरिरहन्थेँ । रौँको थरीथरी डिजाइन गरिदन्थेँ । नुहाउन भने खुब गाह्रो त्यसलाई, खुब चकचके । मेरो मम्मीको घरमा अझ पनि तीनवटा कुकुर छन् । मलाई कुकुरको यस्तै कलर होस् भन्ने लाग्दैन । सबै कलरका कुकुर उत्तिकै प्रिय लाग्छन् । सडकमा देखिने भुस्याहा कुकुरलाई पनि सफा पारिदऊँ जस्तो लाग्छ ।
एकचोटि त हामीले कुुकुरको बिहे नै गरिदिएका थियौँ । निर्देशक आलोक नेम्वाङको कुकुर र मेरो कुकुरको बिहे गरिदिएका हौँ । आलोक मेरो साथी हुनुहुन्छ । मेरो त्यो कुकुरको नाम ‘बिकी’ थियो । ऊ बेहुला अनि आलोकको कुकुरचाहिँ बेहुली । बिकी खुब राम्रो थियो । कालो र सेतो रंगको । रौँ नै रौँले झ्याम्म घेरिएको । आँखैअघि जन्मिएकाले खुब प्यारो लाग्थ्यो । उसलाई गाडीमा हालेर आलोकको घर लिएर गएका थियौँ । र, बिहे गरिदयौँ । बिहेपछि सामान्य पार्टी पनि भयो ।
मलाई कुकुरको मनपर्ने पक्ष भनेकै एक्सप्रेसन हो । उसको अनुहारको भाव मजाले पढ्न सकिन्छ । अझ आँखामा निर्दोषपन पनि देखिन्छ । मानिसका आँखाले मनका कुरा ढाँट्न सक्छ तर कुकुरका आँखाले सक्दैन । कुकुरको आँखा हेरेर तुरुन्तै उसको भाव बुझ्न सक्छु म । हामी सिनेमामा अभिनय गर्ने कलाकारले कुकुरबाट पनि सिक्न सक्छौँ । आँखामा भाव ल्याउने तरिका ऊबाटै सिक्ने हो ।
मेरो कुकुरको पर्सनल डाक्टर पनि हुनुहुन्छ । स्याहार गरिरहन्छौँ । विभिन्न भ्याक्सिन लगाएकै छौँ तर पनि कुकुर भनेको सुरक्षा दिने जात । ऊबाट सावधान त हुनै पर्छ नि । टमीबाट नि होसियार हुनपर्छ अरूले । म आफ्नो कुकुरलाई डुलाउन हिँड्दिनँ । बाहिर धेरै किसिमका कुकुर हुन्छन् । त्यसले टमीलाई अप्ठ्यारो पर्नसक्छ । त्यसैले घरमै खाली ठाउँमा ऊ रमाउँछ ।
कुकुरविनाको घर म त सम्झन पनि सक्दिनँ । बाँचुन्जेल कुकुर पालिरहन्छु । मैले जसरी नै कुकुर पाल्ने अरू सेलिब्रिटी पनि छन् । हामी सबै कुकुरसँग सम्बन्धित एउटा संस्थामा आबद्ध छौँ । नेपालमा जनावर अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय’ संस्था ‘पीडा’ आएको छैन । त्यस संस्थामा संलग्न हुने सपना छ ।

प्रस्तुति : सरोज

प्रतिक्रिया