स्टेजमा मानुषीको तनाव

काठमाडौं : अनामनगरको मण्डला थिएटरमा आयोजित काठमाडौं अन्तर्राष्ट्रिय नाटक महोत्सवमा सोमबार भारतको नाटक ‘मानुषी : अ वुमन अलोन एन्ड अदर्स’ प्रदर्शन गरिएको छ ।
आरोहण गुरुकुलले आयोजना गरेको महोत्सवको चौँथो दिन हिजो मञ्चित यो नाटक डारियो फोले लेखेका हुन् भने यसको कल्याणी कला मन्डलम्ले प्रस्तुति गरेको थियो । नाटकमा एउटी महिला एक्लै बस्दाको तनाव र उसको व्याकुलता देखाइएको छ । अन्त्यमा ‘आफ्नो एक्लोपना नै आफ्नो साथी हो’ भनेर स्विकार्ने उनले आममहिलाको प्रतिनिधित्व गर्छिन् । भारतका चर्चित नाटककार सन्तनु दासले निर्देशन गरेको नाटकमा दुई कलाकारको मात्रै प्रस्तुति छ । अनन्य दास र सन्तनु दासको जीवन्त अभिनय देख्न पाइन्छ । नाटक दिन र साँझ गरी दुई सोमा प्रदर्शन गरिएको थियो ।
मंसिर २२ गतेसम्म चल्ने महोत्सवमा १४ वटा नाटक देखाइनेछ । नेपालसहित इरान, थाइल्यान्ड, नर्वे, इस्टोनिया, अमेरिका, रुस, फ्रान्स र भारतका नाटक मञ्चित हुनेछन् । अमेरिकी नाटक नेपाल प्रज्ञा प्रतिष्ठानमा देखाइने छ भने अन्य नाटक मण्डला थिएटरमै मञ्चन हुनेछन् । (सौस)

प्रतिक्रिया