‘संकटमा भगवान’

काठमाडौं : डकुमेन्ट्री ‘गड इन क्राइसिस’ (संकटमा भगवान्) को प्रदर्शन गरिएको छ । पर्यटकीय केन्द्रका रूपमा चिनिएको तनहुँ, बन्दीपुरबारे डकुमेन्ट्रीमा त्यहाँका विशेषता, समस्या र सम्भावना देखाइएको छ । डकुमेन्ट्री रेणु क्षेत्रीले निर्देशन गरेकी हुन् ।
नेपाली समाजमा जातीय सद्भावका पक्ष–विपक्षमा अनेक बहस चर्कनुअघि नै बन्दीपुरको एउटा धार्मिक अनुष्ठानमा झन्डै अढाइ शताब्दीदेखि जुट्दै आएको ‘जातीय मिलेमतो’ आफैँमा अनुपम रहिआएको डकुमेन्ट्रीमा देखाइएको छ । बन्दीपुरको खड्गदेवी मन्दिरमा हरेक वर्ष वडादसैँको घटस्थापनादेखि दशमीका दिनसम्म समाजका ‘कथित’ पानी चल्ने–नचल्ने समुदायका पुजारी आपसमा मिलेर पाठपूजा चलाउने गरेको रोचक यथार्थ डकुमेन्ट्रीले उजागर गरेको छ ।
एउटै मन्दिरको प्राङ्गणमा तल्लो र माथ्लो वर्ग नभनी सबैले एकसाथ पाठपूजा गर्ने यो सामाजिक सद्भावपूर्ण कार्यमा धेरैको आँखा नपुगेको हुन सक्छ । तर, यो सद्भावबीच पनि समस्या नभएको होइन । पाठपूजा सञ्चालनमा सहयोग पुग्नेगरी इतिहासमा रहेको गुठी जग्गा अहिले मासिएर जाँदा स्रोतसाधन जुटाउन हम्मे पर्नुका साथै सामाजिक सद्भावयुक्त यो पाठपूजासमेत संकटमा परेको छ । डकुमेन्ट्री सविना बस्नेतको सम्पादन र सिद्धार्थ शाक्यको छायांकनमा निर्माण भएको हो । (सौस)

प्रतिक्रिया