दुई विद्यार्थी संगठन आन्दोलनमा

काठमाडौं, ११ मंसिर । दुई विद्यार्थी संगठन यतिबेला फरक–फरक मुद्दामा आन्दोलनमा उत्रिएका छन् ।  एउटा सरकारको विरोधमा र अर्को राष्ट्रपतिको विरोधमा सडकमा उत्रिएका हुन् ।
कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघले बुधबारदेखि सरकारविरोधी चर्को नारा लगाउँदै सडक तताएको छ । अर्कोतिर एमाओवादीनिकट अखिल क्रान्तिकारी आइतबारदेखि सरकारको बचाउ गर्दै राष्ट्रपति डा. रामवरण यादवविरुद्ध सडकमा ओर्लिएको छ ।
सरकारको राजीनामा र नयाँ घोषित चुनावको मिति फिर्ताको माग गर्दै नेविसंघ आन्दोलनमा उत्रिएको हो । अखिल क्रान्तिकारी सहमतिको सरकार गठनका लागि राष्ट्रपतिले गरेको आह्वानविरुद्ध आइतबारबाट सडकमा उत्रिएको हो ।
क्रान्तिकारीले राष्ट्रपतिले सहमतिको सरकारका लागि गरेको आह्वान असंवैधानिक भन्दै शान्तिबाटिकामा विरोधसभा गर्‍यो । सभामा प्रधानमन्त्रीका सल्लाहकार देवेन्द्र पौडेलले राष्ट्रपतिले संविधानले नदिएको अधिकार प्रयोग गरेर सहमतिको सरकारको आह्वान गरेको अरोप लगाए । ‘राष्ट्रपतिले पूर्वराजा ज्ञानेन्द्रले जस्तै प्रधानमन्त्रीका लागि विज्ञापन गरे,’ उनले भने, ‘उनी पनि राजाजस्तै पतन हुनेछन् ।’
पौडेलले एमाओवादीविना सहमतिको सरकार बन्न नसक्ने बताउँदै राष्ट्रपतिको आह्वानले सहमतिको सरकार नबन्ने ठोकुवा गरे । अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले राष्ट्रपतिले संविधानलाई कुल्चेर अहिलेको मन्त्रिपरिषद्लाई हटाउन खोजेको आरोप लगाए । उनले भइरहेको सहमतिलाई बिगार्न राष्ट्रपतिको वक्तव्य आएको बताए । कार्यक्रममा एमाओवादी नेता जनार्दन शर्मा, खिमलाल देवकोटालगायतले बोलेका थिए ।
यस्तै, सरकारविरोधी आन्दोलन गरिरहेको नेविसंघले देशभरिका सरकारी क्याम्पसमा कालोझन्डा गाडेको छ । राजनीतिक सहमतिका लागि दबाब दिन संघ क्याम्पसहरूमा कालो झन्डा गाडेको संघका केन्द्रीय सदस्य लक्ष्मण पोखरेलले जानकारी दिए ।  बुधबार आधा घन्टा चक्काजाम गर्दै आन्दोलनमा उत्रिएको संघले बिहीबार अर्धनग्न विरोध जुलुस प्रदर्शन गरेको थियो  ।

प्रतिक्रिया