बहराइनमा सिरियाली शरणार्थीको विद्यालय

मनामा : जोर्डनमा रहेका सिरियाली शरणार्थी बालबालिकाका लागि बहराइनले विद्यालय स्थापना गर्ने भएको  छ । जोर्डनको जातरी शरणार्थी शिविरमा ४६ हजार ६ सय स्क्वायर मिटर क्षेत्रफलमा विद्यालय स्थापना गरिने भएको हो ।
जातरी शरणार्थी शिविरमा करिब दुई वर्षअघिबाट सुरु भएको सिरियाली आन्दोलनका कारण आफ्नो देश छोडी भागेका ४१ हजार सिरियाली शरणार्थीले शरण लिएका छन् । बहराइनको रोयल च्यारिटी अर्गनाइजेसन (आरसिओ) नामक संस्थाले  ४० लाख अमेरिकी डलरको लगानीमा सो शिक्षा परियोजना सुरु गर्न लागेको हो । विद्यालय स्थापनाबाट शरणार्थी शिविरमा रहेका  हजारौँ बालबालिका लाभान्वित हुनेछन् । त्यसैगरी बहराइनले सिरियाली शरणार्थीका लागि अस्पताल भवन बनाउन पनि सहयोग गर्ने भएको छ ।
सिरियामा सन् २०११ को मार्चदेखि सुरु भएको आन्दोलन तथा सशस्त्र विद्रोहमा ४० हजारभन्दा बढीले ज्यान गुमाइसकेका बताइएको छ । मृत्यु हुनेमध्ये २८ हजार २६ सर्वसाधारण र बिद्रोही, एक हजार तीन सय ७९ भगौडा सैनिक, १० हजार एक सय ५० सरकारी सैनिक र पाँच सय ७४ परिचय नभएका नागरिक रहेको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ ।  आन्दोलन तथा विद्रोहबाट प्रभावित २५ लाखभन्दा बढी सिरियाली नागरिकलाई मानवीय सहायताको आवश्यकता परेको विभिन्न समाचारमा जनाइएको छ ।
त्यसैगरी, तीन लाख ४० हजारभन्दा बढी व्यक्ति सिरियाको सीमा पार गर्दै छिमेकी राष्ट्र लेबनान, जोर्डन, टर्की र इराकमा शरणार्थीको रूपमा पुगेको संयुक्त राष्ट्रसंघको अनुमान गरिएको छ । सिरियामा जारी नरसंहार रोक्न अन्तर्राष्ट्रिय दबाब परिरहेको भए पनि राष्ट्रपति आसादले राजीनामा नदिने बताउँदै आएकाले संकट समाधान हुन सकेको छैन । (एजेन्सी)

प्रतिक्रिया