बेलायतमा पनि ‘प्रतिभा पलायन’

लन्डन : कुनै समय ‘सूर्य नअस्ताउने साम्राज्य’का रूपमा परिचित बेलायत अझै पनि विश्वका कैयौँ मानिसका लागि सपनाको संसार हो । अक्सफोर्ड र क्याम्ब्रिजजस्ता ख्यातिप्राप्त पुराना विश्वविद्यालय भएको बेलायततर्फ खासगरी पढेलेखेका मानिस आकर्षित हुने गरेका छन् । तर, बेलायतबाट पढेलेखेका मानिस पलायन हुन थालेको एक प्रतिवेदनले देखाएको छ । नेपाललगायत तेस्रो विश्वले प्रतिभा पलायन (ब्रेन ड्रेन)को समस्या झेलिरहेका बेला बेलायत पनि यस्तो समस्यामा गाँजिन थालेको थाहा भएको छ ।
सन् २००८ मा पश्चिमी जगत आर्थिक संकटले ग्रस्त भएपछि बेलायतमा प्रतिभा पलायन आरम्भ भएको हो । बेलायतको उच्च शिक्षा तथ्यांक एजेन्सीले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत वर्ष बेलायतका विश्वविद्यालयबाट उत्तीर्ण ५२ सय विद्यार्थी विदेसिएका थिए । सुदूरपूर्व, उत्तर अमेरिका र अन्य युरोपेली मुलुकमा जागिर खान उनीहरू विदेशिएका थिए । यो संख्या आर्थिक संकट सुरु भए लगत्तैको भन्दा एक हजारले बढी हो ।
राम्रा विश्वविद्यालयबाट उत्तीर्ण हुनेहरू विदेशीन थालेपछि बेलायती अधिकारीलाई चिन्तित भएका छन् । प्रतिवेदनअनुसार सन् २०११ मा क्याम्ब्रिज, दुर्हाम, अक्सफोर्डस्ता नाम चलेका विश्वविद्यालयबाट उत्तीर्ण भएर जागिर खान थालेका दस विद्यार्थीमध्ये एक विदेसमा पाइएका थिए । सेन्ड एन्ड्रिउज विश्वविद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीमध्ये १२ प्रतिशत रोजगारका लागि विदेशिएको पाइएको थियो । ठूला अन्तर्राष्ट्रिय व्यापारीक प्रतिष्ठानले जागिर मेला आयोजना गरी राम्रा विश्वविद्यालयबाट उत्तीर्ण छात्रालाई जागिर दिन थालेपछि बेलायतमा प्रतिभा पलायनको दर बढेको विज्ञहरूको भनाइ छ । (एजेन्सी)

प्रतिक्रिया