बढ्दो क्रममा नेप्से परिसूचक

काठमाडौं, १० मंसिर ।  नेप्से परिसूचक बढ्दो क्रममा रहेको छ । लामो समयदेखि बढ्न नसकेको सेयर बजारमा केही दिनदेखि सुधारको संकेत देखिएको छ । राजनीतिक  दलबीच सहमतिको संभावना देखिएसँगै नेप्से बढ्न थालेको हो । यस्तो अवस्थामा राष्ट्रपतिले सहमतिको सरकार गठन गर्न आग्रह गरेकाले पनि अब बन्ने सहमतीय सरकारसँगै बजारमा थप सुधार आउने अपेक्षा गरिएको छ । गत साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४ दशमलव २७ अंकले वृद्धि भई अन्तिम दिन ४ सय ९७ दशमलव ८ अंकमा पुगेको छ ।
उक्त अवधिमा नेपाल स्टक एक्सचेन्जमा एक सय १५ कम्पनीको कारोबार भएको थियो । जसमा ६ हजार सात सय २२ कारोबारबाट ५३ करोड नौ लाख ९० हजार रुपियाँ बराबरका १५ लाख ५१ हजार दुई सय ४९ कित्ता सेयर खरिदबिक्री भएका छन् । कुल कारोबारमध्ये ‘क’ वर्गका कम्पनीको मात्र ३१ करोड ६१ लाख रुपियाँ बराबरको कारोबार भएको छ । यो कुल कारोबारको ५९ दशमलव ५४ प्रतिशत हो ।
साताको समूहगत परिसूचक हेर्दा वाणिज्य बंैक समूहको सूचकांकमा ७ दशमलव ३९ ले बढेको छ भने होटल समूहको ४६ दशमलव ११, बिमाको १७ दशमलव ५० ले सूचकांक बढेको छ । त्यसैगरी अन्य समूहको परिसूचक ४ दशमलव ७०, जलविद्युत्को ३ र विकास बंैकको २ दशमलव ४५ ले घटेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा शून्य दशमलव ८७ अंकले वृद्धि भई एक सय २६ दशमलव शून्य ९ अंकमा आइपुगेको छ । गत साता कारोबार रकम ६ करोड ३६ लाख रुपियाँको आधारमा नेपाल बंगलादेश बैंक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर दुई लाख ३९ हजार ६ सय ९५ कित्ताको आधारमा पनि नेपाल बंगलादेश बैंक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्याका आधारमा पनि सोही बैंक अगाडि रहेको नेप्सेले जनाएको छ ।
साताको उत्कृष्ठ पाँच कम्पनीमा नेपला बंगलादेश बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, बैंक अफ काठमान्डु, चिलिमे हाइड्रोपावर र बुटवल पावर कम्पनी रहेका छन् । गत साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार हुन नसकेको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया