राष्ट्रपतिको कदम सच्याउन माग

काठमाडौं : सत्तारूढ मोर्चा ‘संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन’ले राष्ट्रपतिको कदम असंवैधानिक भएको निष्कर्ष निकाल्दै सच्याउन आग्रह गरेको छ । शनिबार बसेको गठबन्धनको बैठकले राष्ट्रपतिले संसद् नभएको अवस्थामा अन्तरिम संविधानको धारा ३८ प्रयोग गर्न नपाउने निष्कर्ष निकालेको हो ।
गठबन्धनका प्रवक्ता प्रेमबहादुर सिंहले विज्ञप्तिमार्फत राष्ट्रपतिद्वारा प्रधानमन्त्रीको नाम सिफारिसका लागि आह्वान गर्नु संविधान र कानुनको बर्खिलाप मात्रै होइन, आलंकारिक राष्ट्रपतिको काम, कर्तव्य र मर्यादाविपरीत भएको जनाएका छन् । ‘राष्ट्रप्रमुखलाई मर्यादित र सम्मानित गर्ने संविधानको धारा ३६(क) लाई समेत प्रयोग गरी सम्माननीय राष्ट्रपतिले कार्यकारी अधिकार आºनो हातमा लिन खोजेको मनसाय प्रस्ट रहेको बैठकको ठहर छ । अत: यसलाई अविलम्ब सच्याउन बैठकले जोडदार माग गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
बैठकले राष्ट्रपतिको कदम असंवैधानिक भएकाले त्यसविरुद्ध संयुक्त रूपमा विरोध गर्नुपर्ने निष्कर्ष निकालेको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले बताए । (सौस)

प्रतिक्रिया