‘कु’ को प्रतिवाद गर्छौं : पौडेल

काठमाडौं, ९ मंसिर । एमाओवादीका नेता समेत रहेका प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देबेन्द्र पौडेलले राष्ट्रपतिको कदमलाई ‘कु’ को संज्ञा दिएका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले राष्ट्रपतिको कदमको प्रतिवाद गर्ने चेतावनी दिए । ‘शुक्रवार वक्तव्य मार्फत चालेको कदम ‘कु’ हो,’ उनले भने, ‘त्यसको प्रतिवाद गर्छौं ।’
सहमतीय सरकारका लागि राष्ट्रपतिले गरेको आह्वानलाई सल्लाहकार पौडेलले पूर्व राजाहरुले कदमसँग जोडेका छन् । उनले भने, ‘राष्ट्रपतिको कदमले संविधानको मर्म र भावनालाई उल्लंघन गरेको छ ।’
उनले संविधानको धारा उल्लेख गरेर राष्ट्रपतिले मुख्य सचिवलाई पत्र पठाएको जानकारी दिए । राष्ट्रपति डा.यादवको सो कार्यले खतरनाक कदम चाल्न खोजेको आशंका उब्जीएको दाबी गरे । राष्ट्रपतिले मुख्य सचिवलाई पत्र पठाएकोमा सल्लाहकार पौडेलको आपत्ति थियो ।
‘राष्ट्रपतिलाई उक्साएर अन्तरिम संविधानलाई समाप्त पार्ने खेल भएको छ,’ उनले भने, ‘बाबुराम भट्टराईलाई हटाएर अब मुलुकमा कुनै बैधानिक सरकार बन्दैन ।’

प्रतिक्रिया