चित्र भत्काउँदै चित्र मानसिक शान्ति र यात्राको मूल्यबोध

काला पहाडहरू भन्दा पर, क्षितिजपारि कतै शान्ति अवस्थित छ भन्ने दृश्यको कल्पनाले कुनै मान्छेलाई (फकिर जस्तै) घर छाड्न प्रेरित गर्छ होला । मलाई लाग्छ, घर छोडेर ‘घर’कै खोजीमा हिँड्ने कामलाई ‘महाआख्यानको खोज’का रूपमा लिन सकिन्छ । घर छोड्दा हुने पीडालाई त्यस मान्छेले आत्मसाथ गरेको हुन्छ र सँगै कतै टाढा केही फरक कुरा पक्कै छ भन्ने आशा पनि उसको मस्तिष्कको भित्री चेपमा टाँस्सिइरहेको हुन्छ । घर छाड्ने मानिसलाई बाहिर कतै द्वन्द्व र समस्याका हिसाबले फरक संसार छ र घर अनि सहरका पर्खालभन्दा अलि फरक दुनियाँ छ भन्ने आशा हुन्छ । यस लेखमा म बुद्धको आदिम स्वरूप र यसका साहित्यिक, सांस्कृतिक प्रस्तुतिबीचको सम्बन्ध देखाउन खोजिरहेको छैन अनि त्यसदिन आगन्तुक खरेलले ‘बुद्ध’ बन्न सानी दूधे छोरीलाई घरमा छोडेर टाढाको यात्रा तय गरेकी पनि थिइनन् ।
तर, ‘कुन रंगको कमी थियो’ कि गायिका आगन्तुक खरेलको अनुहारमा निराशाको रंग पोतिएको छ । सायद, घरकै सम्झनाले उनी आहत थिइन् । त्यसैगरि घर छोड्ने कामलाई दैनिक अनुभवसँग गाँसिएका रंगमञ्चीय क्रियाकलापका रूपमा पनि व्याख्या गर्न सकिन्छ । इब्सनको नाटक ‘अ डल्स हाउस’मा नोरा घर छोडेर बाहिर निस्किएपछिको कथा अलिखित छ र त नोराले घर छोडेपछिको कथा बुन्ने रहर धेरैमा व्याप्त छ । तर, यता आगन्तुक खरेलले दुई/चार दिनको लागि घर छोड्नुपछिको कथाले कुनै महत्त्वपूर्ण मोड लिँदैन । नोरा घरबाहिर निस्केपछि कथा सकिए पनि नोराको कथामा यात्रा छ । तर, हामीजस्ता सामान्य ‘घर’को मोह व्याप्त भएकाहरूका कथामा भन्न लायक खास कुरा हुँदैनन् ।
०००
मध्यरात घडीले १२ हान्यो होला । नाइट बस चर्को हर्न बजाउँदै आफ्नै रफ्तारमा रामेछापको मन्थलीबाट ओखलढुंगाको साँघुटारतर्फ हुइँकिँदै छ । सिसाबाट बाहिर हेर्छु, रात चकमन्न छ । बाघ, भालु लाग्ने काला र अग्ला ठुल्ठूला रूखले ढाकेको बाक्लो जंगलबीच बनाइएको साह्रै साँघुरो बाटोमा कुनैबेला त बसका ठुल्ठूला चक्का लेनबाहिर पनि पुग्छन् । सुनसान रातमा ड्राइभर बेलाबेला यात्रु ओराल्छन् र लेनबाहिर गएको बस ‘सेफ लाइन’मा आएपछि उकाल्छन् । कुनै कन्सर्टको लागि घरबाट टाढा जाँदै गरेका गायक हेमन्त शर्मा, नवराज घोरासैनी र उनै खरेलको मुटुको ढुकढुकी पक्कै बढेको हुनुपर्छ । आगन्तुक त यति डराएकी थिइन् कि मैले सोचेको थिएँ, यदि उनी सुँक्क–सुँक्क रोइहालिन् भने…†
बसभित्रको मधुरो प्रकाशमा आगन्तुकको धुमिल अनुहार देख्दै छु । यी युवती निद्रा चोर्ने (सायद घरमा मस्त निदाएकी १४ महिनाकी छोरीको) सपनाबाट एक्कासि टुटेर छट्पटाइरहेकी होलिन् । मेरो अनुमान † खराब बाटोमा कुनै बेला बिस्तारै र कुनै वेला स्पिडमा हुइँकिँदो बसमा पेट्रोल डकारिरहेको इन्जिनको चर्को आवाजले हामीलाई निदाउन दिँदैन ।
म पछाडिको आफू बसेको सिट छोडेर ड्राइभरनेरको बाकसे सिटमा बस्न पुगेँ ।
दाइको नाम के हो ?
–विश्वराम कार्की
कहाँबाट ?
–धुलिखेलबाट
रोड साथी बनेको कति भयो ?
–१५ वर्ष
यति भनेर उनी चुप बसे । मुटु छेड्ने जाडोमा पातलो फिसफिसे ज्याकेट लगाएका, गाडी रोकेपिच्छे सिग्रेट सल्काइरहने ‘गुरुजी’ निकै थाकेजस्ता लाग्थे । बिहान ७ बजे काठमाडौबाट गाडी हाँक्न थालेका उनी यो मध्यरातसम्म हाँकिरहेका छन् । एकाएक मबाट प्रश्न बर्सन थालेपछि उनले राता आँखाले एकपटक पुलुक्क हेरे मतिर र फेरि कच्ची रोडमै आँखा फाले ।
ड्राइभिङमा पेसाको रोमाञ्चकता सायद ‘स्पिड’ मात्रै हो । ड्राइभरहरू सधैँ रोडमा हुन्छन् र उनीहरूको लाइफ नै स्पिड र स्टेरिङमा हुन्छ । स्टेरिङ गलत दिशातिर मोडियो भने जिन्दगीले नै अर्को मोड लिन्छ । रोमान्टिक पाराले रोडमा गुडिरहेको लामो जिन्दगी बाँचेका ड्राइभर सानो गल्तीले पनि परमधाम हुन्छन् र गाडीका यात्रुको एकै चिहान हुन्छ ।
म दिउँसोदेखि एउटा किताबमा घोत्लिएको थिएँ, कोलकाताबारे डोमेनिक लापियरको ‘दि सिटी अफ ज्वाय’ । किताबमा मान्छेले तान्ने दुइपाङ्ग्रे रिक्सा चलाउने एकजना पात्र छन्, हजारीपाल । उपरखुट्टी लाएर बसेको मान्छेलाई अर्को मान्छेले नांगै खुट्टा सडकमा असिनपसिन भएर तान्दै हिँडेको दृश्यले भारतकै वौद्धिक भनिने राजधानी कोलकाताको मन किन पोल्दैन होला ? लापियरले ‘सबैभन्दा धनी यहीँ छन्, अनि भिखमंगा र तन्नमहरूको भीड पनि यहीँ छ’ भन्दै कोलकाताको कुरूप परिचय प्रस्तुत गरेका छन् किताबमा ।
यात्रुहरू हल्का तन्द्रामा थिए । मचाहिँ गुरुजीसँगको गफमा मस्त थिएँ । हामीकहाँ एउटा उखान छ, ‘पेसामा ड्राइभर, कपडामा फाइबर ।’ मधेसलाई पहाड उकाल्ने, पहाडबाट मधेस झार्ने, पूर्वबाट पश्चिम वा पश्चिमबाट पूर्व हुइँकिने राजमार्गका ‘सिपाही’का नाममा किन यस्तो उखान बनाइयो थाहा छैन । सभ्यताको ओसारपसार र एकताको योगदानमा यी ड्राइभरको योगदानबारे चाहिँ हामी कहिल्यै सोच्दैनौँ वा सोच्न चाहँदैनौँ ।
‘भाडाको गाडी चलाउनेलाई कसले पो गन्छ र ? लामो दुरीका ड्राइभरलाई त मान्छेको व्यवहार पनि गर्दैनन्,’ १५ वर्षको करिअरमा यी गुरुजीले आफ्ना सबै समय काठमाडौं–रामेछाप रुटमै बिताएका छन् र उनलाई सधैँ यस्तै लाग्छ । कतिलाई कुदाए, उनलाई हेक्का छैन । जब क्यू हुन्छ सडक नाप्ने काम सुरु हुन्छ । एसएलसी पास गरेपछि आफन्तको गाडीमा हिँड्दाहिँड्दै उनी रोडका मालिक भए । रोड उनको भयो । जब उनी जागिरे भए परिवारको सम्पूर्ण जिम्मेवारी उनैको काँधमा पर्‍यो । ‘घरको तनाव आफ्नै ठाउँमा छ’ भन्दै सधैँभरि दायाँबायाँ नहेरी गाडी कुदाउनु उनको कर्म बन्यो । एउटै नियति, एउटै दैनिकी । ‘सर यो पेसामा लाग्नेको चाडपर्व, घरपरिवारको केही ख्याल हुँदैन रहेछ । रातदिन रोडमा दौडियो बस् । आज यहाँ भोलि कहाँ ?’ गुरुजीले यस्तै भनेका थिए ।
०००
मध्यरात बसको हेडलाइटले फालेको चर्को उज्यालोले झ्यालबाहिर कालाकाला रूख फ्याट्टफ्याट्ट वर सर्दै गएको देखिन्थ्यो । कुनैबेला स्याल कराउँथ्यो हुइँय्य्य् । मैले आँखा अलि टाढा लगेँ । उनी चुप लागे । म हेमन्त शर्मा, आगन्तुक खरेलहरूको गफमा मिसिएँ । उनीहरूको मुखबाट अनायासै आइरहेका थिए अरुण थापा, जिमी ह्यान्ड्रिक्स, बब मार्ले, एलेन गिन्सवर्ग…। गिन्सवर्गको कृति ‘हाउल एन्ड अदर पोयम्स’ले उनलाई अमेरिकाको विद्रोहीका रूपमा स्थापित गरायो । औद्योगिक क्रान्तिमा मान्छेले गुमाउनुपरेको स्वतन्त्रता र मानवीय अस्मिताका कुराले यी नराम्ररी रिसाएका थिए । जब भियतनामलाई अमेरिकाले आक्रमण गर्‍यो, एकदमै झोक्किएका गिन्सवर्गले सन् १९५६मा ‘अमेरिका’ शीर्षकमा कविता लेखे :
जबसम्म मेरो दिमाग ठीक रहन्नँ
म कविता लेख्दिनँ
अमेरिका तिमी आफ्नो लुगा कहिले फुकाल्छौ ?
अमेरिका तिम्रा पुस्तकालयहरू
किन आँसुले भरिएका छन् ?
अमेरिका, जब म केटाकेटी थिएँ
म कम्युनिस्ट थिएँ
मलाई कुनै पश्चात्ताप छैन
जब मौका पाउँछु
मारिजुआना पिउँछु
तिमी हेर
म माक्र्सलाई पढिरहेको छु

गिन्सवर्गका कविताको पहिचान भनेकै राजनीतिक मुद्दालाई कलात्मक अभिव्यक्ति दिनु हो । गिन्सवर्गको कल्पना कति सुन्दर † अरुण थापासँग २० वर्षसम्म संगत गरेका साथी राजु थापासँग एक वर्षअघि गरेको अन्तर्वार्ताले होला लागुपर्दाथको बाटोबाट आफूलाई सिध्याएका ती गायकको रन्कोले पछ्याइरहेको थियो । ‘सिरिन्ज, टिडिजेसिक एम्पल र रक्सी मेरो चितामा राखिदेऊ है भुन्टे,’ मर्नुअघि गायक थापाले एक दिन राजुलाई भनेका थिए । तर, राजुले अरुणको चितामा ‘रक्सी’ मात्र राखिदिए । किनकि सिरिन्ज र टिडिजेसिक राजुलाई नै चाहिन्थ्यो । कस्तो भयानक निराशा † विश्वका थुप्रै महान् कलाकार, स्रस्टाले आफूलाई ड्रग्समा समाहित गरे ।
०००
म अरूण थापामाथि घोत्लिरहेको बेला गुरुजी बोल्दैथिए–‘हामी करोडपतिदेखि रोडपतिसम्म बोक्छौँ नि ।’
‘हगि,’ मैले यति मात्रै भन्न सकेँ ।
यस्तो बाक्लो जंगलमा राति बस कुदाउन डर लाग्दैन ? यो प्रश्न सायद गुरुजीलाई मनपरेन । ‘केको डराउनु नि ? म त धेरैपटक यातायात व्यवसायीले गरेको बन्दको मारमा रातैभर वनमा पनि बसेको छु ।’
यी ड्राइभर पनि घाम, पानी र चिसोको प्रदूषणले अक्सिडाइज्ड भएका छन् । रातभरि गाडी हाँकेर एक बजे साँघुटार पुगेपछि थाहा लाग्यो, मुख्य आयोजकको पिताको देहान्त भएकाले कन्सर्ट क्यान्सिल भएछ † व्यापक तनाब झेलेर काठमाडौंबाट ओखलढुंगा पुगेका कलाकार रिसले चुर भए । एक शब्द पनि नबोली तनाबमै गाडी हाँकेर झुल्के घाममा मन्थली आइपुगेका गुरुजी एउटा मैलो लोकल होटल अगाडि चुरोट सल्काउँदै आकाश हेरिरहेथेँ । अगाडि टेबुलमा उनको चिया– कप थियो । चिसोमा मैले पनि उनीसँग चुरोट मागेँ । ड्राइभरले मलाई हेरे र होटलको फुच्चेलाई अर्डर गरे, ‘ब्रदर † अर्को कप चिया ल्याऊ ।’
गोरो अनुहारका यी ड्राइभरको चेहरा र डोमिनिक लापियरको रिक्सा चलाउने पात्र हजारीपालको अनुहार उस्तै थिए, साह्रै थकित र निरीह । बसको लामो यात्रापछि थकित भएर मन्थलीमै हेलिकोप्टर मगाएर दु:स्वप्नको सहर काठमाडौं फर्केकी आगन्तुक खरेलको रुमानी अनुहार र ड्राइभरको असिन–पसिन चेहरा परस्पर विरोधीका रूपमा मेरो अघिल्तिर उभिए । घरभन्दा पर रोमाञ्चकता उभिएको हुन्छ, वा फेरि घर फर्कने सपना व्याप्त हुन्छ । यी आशाहरू नहुँदा हुन त मान्छे (बुद्धको कुरा अर्कै)ले सामान्यतया सत्य, अस्तित्व र रोमाञ्चको खोजमा घर छाड्ने थिएनन् ।

प्रतिक्रिया