उज्यालो खोज्दै अँध्यारोतिर

वि.सं. ०४४ को एसएलसीको रिजल्ट ०४५ को जेठ अन्तिमतिर भयो । रिजल्टको समाचार रेडियो नेपालबाट सुनेँ तर रिजल्ट थाह पाउने कुनै उपाय थिएन । पास हुन्छु भन्ने त थियो तर रिजल्ट नहेरी के भन्न सकिन्थ्यो र † मनमा तुलबुल भइरह्यो । भोलिपल्ट, पर्सिपल्ट, हप्तादिनसम्म म गोरखापत्र कतै आएको छ कि भनेर तीन/चार कोस टाढाका हाइस्कुलमा पुगेँ । दशौँ दिनमा मैले खिम्ती स्कुलमा गोरखापत्र भेट्टाएँ । हेर्न धुकचुक भयो, नजानिँदो गरी हात कामे । साहस बटुलेर हेरँे । प्रथम श्रेणीकै लहरमा आºनो सिम्बोल नम्बर भेट्टाएँ । खुसीले मेरा खुट्टा त्यतिखेर भुइँमा थिएनन् कि † आºनो रिजल्ट थाहा पाउन दश दिनसम्म पर्खिने मान्छे अहिले दश मिनेट मात्र पर्खिन सक्छ ? सञ्चार–सञ्जालमा भएको चरम विकासले मानिसलाई सजिलो त पारेको छ तर धैर्य, सहनशीलता, संवेदनशीलता जस्ता मानिसमा नभई नहुने गुणलाई भने जरैदेखि निर्मूल पार्दै लगेको छ ।
हतार–हतार गाउँमा आएर आºनो समाचार आफैँले सुनाएँ । आमा धेरै खुसी हुनुभयो ।
मैले र भीमेश्वर रुद्र माध्यमिक विद्यालय, चिसापानी, रामेछापका विद्यार्थी बालकृष्णले गाउँ पञ्चायतभरिमै पहिलोचोटि प्रथम श्रेणीमा एसएलसी गरेका थियौँ । मैले शिवपुरी माध्यमिक विद्यालय महाराजगन्जबाट एसएलसी दिएको थिएँ । उनलाई दुई प्रतिशतले उछिनेको रहेछु । बालकृष्णको बुबा आर्मीमै जागिरे भएकाले उनले वीरेन्द्र सैनिक आवासीय महाविद्यालयमा आइए पास गरी सोझै सेकेन्ड लेºिटनेन्ट भए । उनी कर्णेल हुने लाइनमा छन् । मेरो भने प्रावि शिक्षकमै कपाल फुल्यो । म भाग्यवादमा पटक्कै विश्वास राख्दिनँ तर बालकृष्ण कर्णेलको दाबेदार, म भने प्रावि शिक्षक † ‘भाग्यमा लेखेरै ल्याउनुपर्छ’ भनेको यही त होइन ?
०००
०४५ भदौ ५ गतेको भूकम्पले चिरा–चिरा पारेको घर मैले भदौ ८ गते छाडिदिएँ । कुम्लोकुटुरो बोकेर काठमाडौं लागेँ । घरमा आमा र भाइ मात्र थिए । घ्यू र अमिलो कोसेली थियो । घर जीर्ण भए पनि मेरो मन फुरुंग थियो । प्रथम श्रेणीमा एसएलसी पास गरेको छु, दु:खै गरेर भए पनि दुई/चार वर्ष पढ्छु । मनमा विश्वासको सगरमाथा ठड्याउँदै काठमाडौं पुगेँ । सोझै महाराजगन्ज गएँ । मालिक्नीले बधाई दिइन् । झन् घ्यू, चुकअमिलो देखेपछि छोरैजस्तो गरिन् ।
‘नोकर कोटा’को मेरो दरबन्दी पदपूर्ति भएछ । मैले यहीँ बस्छु भनिनँ । घ्यू र अमिलोको बास्ना आउन्जेल राम्रै गरे । त्यसपछि मुखै फोरेर भने, ‘बाजे, हामी तिमीलाई भात ख्वाएर राख्न सक्दैनाँै । आफँै व्यवस्था गर ।’ त्यो सुनेर म हतप्रभ भएँ । अब कता जाने † काठमाडौंमा आºना भनेका ठूलीआमा र दुईजना मामा थिए । एउटा मामा नक्सालमा गौतम थरका धनाढ्यकोमा नोकर बसेका थिए । अर्का मामा कालिकास्थानस्थित नेपालकै सबैभन्दा पुरानो आरोग्य भवनमा आयुर्वेदिक औषधि बनाउने काम गर्थे । ठूलीआमा भान्से बस्नुभएको थियो । त्यतातिर सधैँ ‘भात खान’ जानु उचित थिएन । त्यहाँका ‘मालिकहरू’ले रिस गर्थे । एक/दुई दिन कान्छो मामाकोमा लुकीलुकी भात खाएँ । ‘महामानव गौतम’ले थाहा पाएछन् । मुखले केही नभने पनि रिस गर्न थाले । म थोत्रो झोला बोकेर गन्तव्यहीन यात्रामा निस्किएँ । मन भतभत पोल्न थाल्यो, भ्रान्ति भयो । म भ्रान्त पथिक सडक–सडक, गल्ली–गल्ली चाहार्दै कामको खोजीमा हिँडेँ । मेरो आर्तपुकार कसैले सुनेन । ०४५ भदौ २४ गते शुक्रबार भावनामा डुबेर मैले यस्तो डायरी लेखेको रहेछु–
‘मेरो वर्तमान कसरी दगुरिरहेको छ, कसैलाई मतलव छैन । काठमाडौं आएको १५/१६ दिन भइसक्यो । खानेबस्ने कुनै टुंगो छैन । सडकमा पागलझैँ लखर–लखर डुलिरहेछु । पहिले बसेको घरमा खान–बस्न नदिने भए । गल्ली–गल्ली काम खोजेर हिँडिरहेको छु । नपढ्ने भए त तुरुन्तै घर जाने थिएँ । पढ्ने मन अति भएकाले काम मिल्छ कि भनेर बसेको छु । पाइला त्यसै अगाडि बढ्छन् । कहाँ पुगँुला भन्ने पत्तो छैन । तैपनि, घर जाने अन्तिम निर्णय गर्न सकेको छुइनँ । भोकै बसेको दुई दिन भयो । अब त हिँड्न पनि नसक्ने भएको छु । आज आधा किलो चिउरा किनँे । त्यै मुक्क्याउनुपर्ला । साँझ मामाको डेरामा पुगँे, ताल्चा मारेको रहेछ । आज सडकमै बास होलाजस्तो छ । केही नलागे पुलिसको शरणमा जानुपर्ला ।’
ठूलीआमाले काम गर्ने घरबेटीको होटल रहेछ–‘होटल रेडहाउस’ । ज्ञानेश्वरबाट सिनामंगल–मैतीदेवीतिर झर्ने डाँडोमा । बिहानै त्यहाँ पुगेँ । काम गर्ने मान्छेको खाँचो रहेछ, काम पाइने भइयो भनेर मेरो मन उत्फुल्ल भयो । ठूलीआमाले अफिसमा लगेर मेरो बारेमा कुरा गर्नुभयो । होटलमालिकले मासिक ५ सय रुपियाँ दिने भयो । मैले ‘आठ सयसम्म भएदेखि मेरो पढाइ अगाडि बढ्थ्यो हजुर’ भनँे । उसले मलाई खाउँलाझैँ गरी हेर्‍यो र भन्यो, ‘तिम्रो पढाइको हामीलाई मतलव छैन, हामीलाई त १०–५ को काम चाहिन्छ । पढ्ने मान्छे राख्दा पनि राख्दैनौँ ।’
मैले धनुषटंकारी अनुनय गरेँ, ‘हजुर, राम्रो डिभिजनमा एसएलसी पास गरेको छु । साइन्स पढ्न स्कोर पनि पुगेको छ । दिउँसो काम गरेर राति पढ्छु ।’ उसले भन्यो, ‘यस्ता पढन्ते मान्छेले काम गर्दैनन् । तिमी जाऊ ।’ मलाई पनि झोक चलेछ, भनिदिएँ, ‘म भीख माग्न आएको होइन । पाखुरी बजारेर काम गरी खाने मान्छे हुँ । जा नभने पनि गइहाल्छु नि † कृपया मलाई जस्तो रुखो व्यवहार अरूलाई चाहिँ नगर्नुहोला । इज्जत सानु–ठूलो सबैको हुन्छ ।’ त्यसले मलाई सलक्कै निलुलाझैंँ हेर्‍यो । म हिँडेँ ।
घरबाट लगेको पैसाले मैले सरस्वती, अमृत साइन्स र शंकरदेव क्याम्पसमा फर्म भरेको थिएँ । सरस्वतीमा नाम निस्केको थाहा पाएँ । अन्तको थाहा पाइनँ । बुझ्न पनि गइनँ । मैले काठमाडौंमा बसेर पढ्न सक्ने अवस्था नै थिएन, के बुझ्नु † मेरो माइलो काका पनि आर्मीमा हुनुहुन्थ्यो । नेपालगन्जबाट भर्खरै छाउनी आउनुभएको थियो । त्यहीँ गएँ । काकाले मेरा बुबाका समकालीनहरूलाई चिनाइदिनुभयो । कतिपय त अफिसर भइसकेका रहेछन् । एकजना अफिसरले भने, ‘ए, धर्मानन्दको छोरा हो ? ठूलो भइसकेछ ।’ काकाले मेरो पढाइको कुरा गर्नुभयो तर त्यो सम्भ्रान्त अफिसरले त्यति ध्यान दिएन । औपचारिकता मात्र निभायो,
‘दुई/चार महिनापछि केही गर्न सकिन्छ कि ?’
मलाई काठमाडौं र त्यहाँका मानिसको अनुहारै हेर्न मन लागेन । मैले काकालाई मेरो अन्तिम निर्णय सुनाएँ, ‘म घरै बसेर प्राइभेट पढ्छु । जाँच दिन मात्र आउँछु । किताब लैजान्छु । गाउँमा स्कुल खुलेको छ । त्यहीँ जागिर खान्छु ।’
हामी भोटाहिटी गयौँ । इतिहास, संस्कृति, राजनीतिशास्त्र मूल विषयमा आर्टस् पढ्ने भएँ । किताबको मूल्य ८ सय रुपियाँ भएछ । काकाले पैसा तिरिदिनुभयो । काका र म छुट्टियाँै । ब्यारेकतिर खाने–बस्ने व्यवस्था हुँदैनथ्यो । भोलिपल्ट बिहानै तामाकोसीको बसको टिकट काटेर मैले त्यो कृतघ्न काठमाडौंलाई छाडिदिएँ । सायद म त्यतिखेर उज्यालोबाट अँध्यारोतिर हिँडेको थिएँ कि †
०००
यसपटकको दसँैमा मेरा मेजर मित्र बालकृष्ण बाह्र वर्षपछि सपरिवार आºनै गाडीमा पहाडघर आएका रहेछन् । म उनलाई भेट्न गएँ । उनले युकेमा स्टाफ तालिममा एक वर्षको बसाइ, सोमालिया, कंगो आदि द्वन्द्व र भोकमरीग्रस्त आधा दर्जन मुलुकमा काम गर्दाको अनुभव सुनाए । उनकी श्रीमती एयरहोस्टेज हुनाले टीकाकै दिनमा हङकङबाट काठमाडौं झरी छोराछोरीसहित पहाड आएकी रहिछन् । छोराछोरीलाई ‘आइस्योस् र गइस्योस्’ सम्भ्रान्त संस्कृतिले गाँजिसकेको रहेछ । बालकृष्णलाई मैले लेखेका साहित्यिक पुस्तक उपहार दिएँ । मास्टरबाहेकको मेरो अर्को परिचय पनि छ भन्ने कुरा बालकृष्णलाई थाहा रहेनछ क्यारे † उनले भने, ‘तपाईंले किताब पनि लेख्नुभएको रहेछ । एकदमै खुसी लाग्यो ।’
हामी छुट्टियौँ । उनलाई भोलि नै काठमाडौं पुग्नु छ । उनकी श्रीमतीलाई अन्तरदेशीय ºलाइटका लागि तयार हुनु छ । अहिले बालकृष्णसँग के छैन ? अनि मसँग के छ ? तर, जहाँ जे–जे भए पनि मलाई
‘भाग्यमा लेखेरै ल्याउनुपर्छ’ भन्ने भाग्यवादी सोचप्रति पटक्कै विश्वास छैन । मसँग यही ‘आत्मविश्वास’ छ । र, छ निष्कपट नानीहरूको चेहराको निश्चल प्रतिविम्ब ।

प्रतिक्रिया