जमिनमुनि लुकाइएको काठ बरामद

सुर्खेत, ९ मंसिर । जिल्ला वन कार्यालय सुर्खेतले वीरेन्द्रनगर–१ बांगेसिमलनजिकबाट तीन सय ८९ थान काठ बरामद गरेको छ ।
जमिनमुनि लुकाएर राखेको अवस्थामा काठ बरामद गरिएको हो । बारीमा खाडल खनेर काठ लुकाइएको जानकारी पाएर घटनास्थल पुगेको वन, सशस्त्र र प्रहरीको टोलीले काठ बरामद गरेको हो । निमित्त डिएफओ रामविचारी ठाकुर, सिडिओ पुरुषोत्तम कुावरलगायतको टोली काठ लुकाइएको स्थानमा पुगेको थियो । काठ स्थानीय ओमबहादुर विक, गौरी विक र लक्ष्मी कुवारको बारीमा लुकाएको अवस्थामा बरामद गरिएको हो । सबैभन्दा बढी ओमबहादुर विकको बारीबाट दुई सय ५६ थान, गोरी विकको बारीबाट एक सय १६ र लक्ष्मी कुावरको घरबाट १७ थान काठ बरामद गरिएको छ । काठ लुकाइएको जग्गाका मालिकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको निमित्त डिएफओ ठाकुरले बताए ।
जिल्ला वनले अनुसन्धानका लागि शर्मिला सुनार, सीता विक, कर्णबहादुर नेपाली, मदन विक र बिनी विकलाई नियन्त्रणमा लिएको छ । घटनास्थलमा सशस्त्र र प्रहरी गरी करिब एक सय सुरक्षाकर्मी पुगेका थिए ।

 

प्रतिक्रिया