शान्तिप्रक्रियाको थालनी

माओवादी लडाकुहरू बुधबारदेखि नेपाली सेनाको ब्यारेक छिरेका छन् । वितण्डा मच्चाउँदै सुरु भएको माओवादीको युद्ध–मोर्चा सम्हालेर नेपाली सेनासँग लडेका ती लडाकु अहिले आफ्ना तथाकथित ‘कमरेडी’ बिल्ला खुइल्याएर तीनै नेपाली सेनाको अधीनस्थ स्वीकार गर्न पुगेका छन् । शान्तिप्रक्रियाको जटिल पाटो मानिएको लडाकु समायोजन र व्यवस्थापन कार्यले समाजमा थोरै भए पनि शान्ति छाउने अपेक्षा गरिएको छ । वास्तवमा माओवादीको कार्यशैलीले नेपाली समाजलाई तर्साएको थियो । एक खालको वितण्डा मच्चाउँदै समाजलाई आतंकित पार्ने कार्य माओवादीले गरेको थियो । अब, त्यस्ता गैरकानुनी र अमर्यादित कार्य नहुने विश्वास गर्न सकिन्छ । तर, समायोजन रोजेका लडाकुहरूले पार्टीगत सोच र व्यक्तिगत स्वार्थ त्यागेर नेपाली सेनाको ‘चेन अफ कमान्ड’ स्वीकार गर्दै त्यहाँको अनुशासन पूर्णरूपमा पालना गर्न सक्नुपर्छ । नेपाली सेना राष्ट्रको गौरव हो । त्यसको गरिमा र इतिहास जोगाउने काम सबैले गर्नुपर्छ । अर्थात्, सेनामा राजनीति स्वीकार्य हुँदैन । र, विकृत राजनीति सेनाभित्र हुल्नु पनि हुँदैन ।
समाजमा आमूल परिवर्तन गर्ने, सर्वहारा वर्गको अधिनायकत्व स्वीकार गर्दै सबैखाले सामन्ती शोषणको अन्त्य गर्ने र शोषण, दमन, उत्पीडनबाट मुक्त हुने सपना देखाएर युद्धमा होमेका लडाकुलाई माओवादी नेतृत्वले राज्यको सैनिक ब्यारेकमा पुर्‍यायो । ती लडाकुले नजानेरै १० वर्षसम्म ‘मुक्ति युद्ध’ लडेका थिए । अहिले त्यो सशस्त्र युद्ध चहर्‍याउने घाउ बनेर इतिहासमा थन्किएको छ । माओवादीमा लागेका लडाकुहरूको मन भाँचिएको छ । उनीहरू ब्यारेकभित्र छिरे पनि व्यवस्थापनमा गए पनि समयको लामो कालखण्ड नराम्रो कार्यमा बिताएको अनुभूति गर्नेछन् । अहिले १ हजार ४ सय ६० लडाकु ब्यारेक छिरेका छन् । उनीहरूले त्यहाँ वास्तविक सेना हुने तालिम लिने र अनुशासन सिक्ने मौका पाउनेछन् । यसपछि शान्तिप्रक्रियाको एउटा पाटो सम्पन्न हुनेछ । तर, शान्तिप्रक्रिया टुंग्याउन यो भन्दा जटिल काम बाँकी नै छन् । एमाओवादीले त्यो जटिल प्रक्रियामा हात हाल्न रुचाइरहेको छैन । त्यो काम भनेको माओवादीबाट लुटिएका, कुटिएका, लखेटिएका, सम्पत्ति खोसिएका र मारिएका परिवारको व्यवस्थापन हो । यो समस्या कहालीलाग्दो र जटिल अवस्थामा छ । माओवादीको विचारसँग विमति राख्नेहरूले दुर्गम गाउँमा अहिले पनि राम्रोसँग हिँडडुल गर्न पाएका छैनन् । जबसम्म यी मुद्दा सुल्झदैनन् तबसम्म शान्तिप्रक्रिया टुंगिँदैन ।
माओवादी लडाकुहरूको समायोजन प्रक्रियाले शान्ति चाहनेहरूलाई आशा जगाएको छ । नेपाली सेनाको नीतिगत मर्यादा, अनुशासन, चेन अफ कमान्ड र पद्धतिभित्र रहेर लडाकुहरूले आफूलाई नेपाली सेना बनाउन सक्नुपर्छ । यसो भएमा मात्र समायोजनको सार्थकता रहन्छ । यसबाहेक अन्य प्रक्रियामा पनि सरकारले तदारुकता देखाउनुपर्छ । सेना समायोजन विशेष समिति जस्तै अर्को समिति बनाएर भए पनि माओवादीबाट पीडितको उचित व्यवस्थापन गरिनुपर्छ । ती पीडितहरूले १०औँ वर्षदेखि अमानवीय जीवन बिताइरहेका छन् । खुल्लमखुल्ला ज्यान मार्ने र अदालतले दण्ड दिएकाहरूलाई राज्यले कारबाही नगरेसम्म पीडितहरूले राहत पाएको ठहरिने छैन । आफ्नो सम्पत्ति फिर्ता नपाएसम्म सम्पत्ति खोसिएकाहरूले न्याय पाएको र शान्ति प्रक्रिया टुंगिएको भन्न मिल्दैन । बेपत्ताहरूको बारेमा काम नगर्ने हो भने शान्तिप्रक्रिया अधुरै रहेको मान्नु पर्ने हुन्छ । यी तमाम विषय बाँकी हुँदाहँुदै पनि लडाकु समायोजनको झन्झटिलो प्रक्रिया टुंग्याएर सरकारले राम्रो काम गरेको छ । अब, शान्तिप्रक्रियामा बाँकी रहेका अन्य कार्यको थालनी हुनुपर्छ । यसले मात्र समाजमा वास्तविक शान्ति ल्याउनेछ ।

प्रतिक्रिया