माथवरसिंका जस्ता मेरा जुँगा


माथवरसिंको प्रेरणा

जन्मिँदै मानिसको जुँगा पलाउने होइन । किशोर उमेरमा रेखी बस्न थाल्ने हो । मेरो पनि १८ वर्षको उमेर टेक्दै गर्दा ओठमाथि जुँगाले रेखी हाले । बिस्तारै दाह्री पनि पलाउन थाल्यो । केही वर्षमै हलक्कै बढ्यो । त्यसबेला इतिहासका महापुरुषहरूको तस्बिर हेरेको थिएँ । माथवरसिं थापाको तस्बिरले मेरो ध्यान तान्यो । उनको रहरलाग्दो मोटो जुँगा उदेक मानेर हेर्थेँ । मनमनै अठोट गरेँ– म पनि अब यस्तै जुँगा बनाउँछु । त्यसो त हाम्रो समाजमा लोग्नेमान्छेले जुँगा पालेको राम्रै मानिन्छ । बाबुआमा भएका लोग्नेमान्छेले जुँगा काट्न नहुने एकखाले संस्कार नै छ नि ।
साथी पिटेँ, पढ्न छाडेँ
मलाई सामान्य लेखपढ गर्न मात्र आउँछ । कक्षा एक पढ्दै गर्दा एउटा केटोसँग झगडा पर्‍यो । सधँै किचकिच गरिरहन्थ्यो । त्यस दिनचाहिँ अति भयो भनेर झगडा गरेँ । भक्कु कुटाइ खायो त्यसले । पछि स्कुल छोड्नपर्ने भयो, छोडिदिएँ । बाले नयाँ लुगा किन्दिउँला स्कुल जा नभनेका होइनन् तर मलाई जाँगरै चलेन । लाग्यो– झगडालुहरूसँग बसेर स्कुलमा के सिकिन्छ र π प्रस्ट सम्झना छ– म माटाका चिटिक्क भाँडा बनाएर पुरस्कार जित्थेँ । सायद मेरो कलाकारिताको जग त्यही थियो । सानैदेखि रमाइलो मन पराउने मानिस । हाँसो, ठट्टा, गीत, नाच मेरा लागि प्रिय थिए ऊ बेला नै । स्कुल जान छाडेपछि म ठुल्दाइसँग भारत पसेँ ।
भारतमा फोटो स्टुडियोमा काम सिकँे । त्यहीँ फिल्मी कलाको काम पनि सिकेँ । अलि पछि वृन्दावन स्टुडियोमा काम थालेँ । त्यहीँबाट कलाकारिताको संघर्षयात्रा सुरु गरेको हुँ । नेपालमा काम गर्न त मलाई गुरु गोपाल भुटानीले ल्याएका । ४३ सालमा ‘सन्तान’ फिल्ममा भेषभुषा व्यवस्थापकको काम गरेँ । भारतमा कामको कमी थिएन । अहिलेसम्म उतै काम गरिरहेको भए केही बढी नै पैसा कमाउँथेँ होला । तर, नेपाल नै प्यारो लाग्यो ।
नामै ‘जुँगे’ भयो
‘मायाप्रीति’ फिल्मको सुटिङ सेटमा थिएँ । त्यतिखेर मलाई तपाईको नाम ‘जुँगे भट्टराई’ राखौँ है भन्ने प्रस्ताव आयो । सहज रूपमा लिएर ‘हुन्छ’ भनिदिएँ । अनि त मेरो नाम नै उद्धवराज भट्टराईबाट जुँगे भट्टराई रहन पुग्यो । आज मलाई यही नाम प्यारो लाग्छ । यही नामले आममानिसबीच परिचित छु । मलाई चलचित्र क्षेत्रका मात्रै होइन बाहिर पनि सबैले जुंगे नै भन्छन् । परिवार र आफन्तले पनि । सालीले समेत जुँगे भिनाजु भन्छिन् । जुँगे भन्दा कत्ति पनि रिस उठ्दैन । आखिर यति लामो जुँगा भएको मान्छेलाई जूगे नभनेर के भन्ने, होइन त ?
मैले पहिलोचोटि ०४५ सालमा जुँगा काटेको थिएँ । त्यसबेला मेरो बुवा स्वर्गे हुनुभएको थियो । त्यसपछि ०५५ सालमा आमा स्वर्गे हुँदा पनि काटेँ । त्यसयता दुई पटक जुँगा काटेको छु । केही समयअघि मात्र डिस होम टिभीको विज्ञापनमा खेल्न अफर आयो । त्यसबेला जुँगा काट्न भनियो । पछि फेरि आइहाल्छ नि भन्ने सोचेर काटिदिएँ । अहिले फेरि पहिलेकै जत्रो भइसकेको छ ।
जुँगा : फूलका थँुगा
जुँगालाई खुबै स्याहार्छु म । दिनदिनै कोर्छु । २/३ वर्षको बीचमा मात्रै काँटछाँट गर्ने गर्छु । श्रीमती र केटाकेटी पनि मेरा जुँगा भनेपछि हुरुक्क हुन्छन् । श्रीमती त मेरा जँुगालाई फूलका थुँगा नै सम्झिन्छिन् । श्रीमतीसित माया साटासाट गर्दा जँुगाले भिलेन खेल्छ भन्ने मानिसहरूलाई लाग्दो हो । तर, खाने मुखलाई जँुगाले के छेक्थ्यो । किस गर्दा गालामा जँुगाको स्पर्शले उनलाई झनै कुत्कुती लाउँछ रे †
म आपैँm ससुरालीमा केटी माग्न भनेर गएको थिएँ । त्यस बेला पनि मेरो जुँगा लामै थियो । ससुराले केही नभनी कन्यादान दिए । सुरुसुरुमा त श्रीमतीले जुँगा छोटो राख्नु भन्थिन्, तर पछि लामा जँुगासितै उनको प्यार बस्यो । मेरा ३ छोरा र १ छोरी छन् । सबै हुर्किसके । केटाकेटीहरूलाई मेरो जँुगा मनोरञ्जनको सामग्री भएको छ । छोराछोरी साना छँदा उनीहरूलाई खेलौना किनिदिने मेरो हैसियत थिएन । मेरो जुँगा नै उनीहरूको खेलौना थियो । घर पुग्नासाथ छोराछोरीहरू मेरा जुँगामा झुत्ती खेल्थे, सुम्सुम्याउँथे । म पनि सन्चो मानेर दिन्थेँ । पहिलोचोटि भेट्दा अरू बालबच्चा मेरो जुँगा देखेर अनौठो मान्छन् ।
थुप्रै छन् जुँगाका ‘फेन’
मेरो जुँगाका ‘फेन’ कति छन् कति । कतै भेटिँदा मसँग फोटो खिच्न रुचाउँछन् । कतिपयले त ‘जुँगे दाइ’ भन्दै किस पनि खान्छन् । मानिसले गरेको यति धेरै मायाले म खुसी छु । कलाकार किरण केसी त मेरो जुँगाका ठूलै ‘फेन’ हुन् । मेरो जुँगा मन पराउने नेपाली मात्र होइन, विदेशी पनि धेरै छन् । उनीहरू मलाई देख्नेबित्तिकै अनौठो मान्छन् र अंकमाल गर्छन् । कतिपय विदेशी फिल्ममा मैले काम गर्दाका अनुभव हुन् ती । बलिउड स्टारहरूले समेत मेरो जुँगाको प्रशंसा गरेका छन् । बलिउड सुपरस्टार देवानन्दले गरेको प्रशंसा अझै बिर्सेको छैन । उनी एकपटक नेपाल आएका थिए, भृकुटीमण्डपमा सुटिङ थियो । मेरो जुँगा देखेर उनको मुखबाट फुत्कियो– ‘वाह, क्या अच्छा मुछ है आपका ।’ शत्रुघ्न सिन्हा, अनुपम खेर आदिले पनि खुब प्रशंसा गरेका थिए ।
त्यसो त मेरो जुँगा कतिपयलाई मन पर्दैन भन्ने पनि थाहा छ । अचेलका केटीहरूलाई मेरो जुँगा मन पर्दैन । उनीहरू खिल्ली उडाउँछन् पनि । उनीहरूलाई चिल्ला गाला मात्र मनपर्छ । सबैको आ–आफ्नो सोख हो । अभिनेता राजेश हमाल र शिव श्रेष्ठले भनेका पनि छन्, ‘के जुँगा राख्नुभा’को ? काट्दिनुस्, ह्यान्डसम देखिन्छ ।’ म के काट्थेँ ।
इन्डियन पुलिसले समायो
०५४ माघको घटना अविस्मरणीय छ । ‘रानीखोला’ फिल्मको सुटिङको क्रममा भारतको सिलिगुढी गएको थिएँ । त्यहाँको प्रहरीले मलाई समात्यो । त्यतिखेर भारतीय कुख्यात डाँकु बिरप्पन प्रहरीको मोस्ट वान्टेड सूचीमा थियो । बिरप्पनको जुँगा पनि ठ्याक्कै मेरै जस्तो । भारतीय प्रहरीले मलाई  बिरप्पन नै ठानेछ । मैले नागरिकता, परिचयपत्र देखाएर अनेक गर्दा पनि छाडेन । उचाइ नाप्दा बिरप्पनभन्दा दुई इन्च होचो पाएपछि बल्ल छाडे । त्यसपछि भने  सम्मानजनक व्यवहार गरे । संयोगले त्यो घटना मेरो जन्मदिनमा भएको थियो । त्यहाँ तीन घन्टा जति लफडा भएको थियो । जुँगाले दिलाएको चर्चाकै कारण संकटकालमा भने मलाई निकै सजिलो भयो । नेपालका सेना–प्रहरी मलाई ‘जुँगे भट्टराई’ भनेर चिनिहाल्थे, केरकार नै नगर्ने ।
आगो सल्किने डर
म चुरोट तान्छु । जुँगामा आगो लाग्ने सम्भावना थुप्रै हुन्छ । त्यसैले मुखमा नहालीकनै सल्काउँछु । हुन पनि दुईपटक त झन्डै आगो सल्किएको † धेरै वर्षअगाडि म स्टोभ बालिरहेको थिएँ । एक्कासि जुँगामा आगोले टिपिहाल्यो बल्लतल्ल निभाएँ । अर्को पटकचाहिँ ‘थ्री गर्ल’ भन्ने म्युजिकभिडियोको सुटिङमा पानीमा आगो बाल्न खोज्दा जुँगामा आगो सल्केको थियो ।
अहिले मेरो जुँगाको लम्बाइ लगभग ७ इन्च जति छ । कानको रौँको लम्बाई पनि कम छैन, ३ इन्च । हालसम्म मैले जुँगाको स्टाइल परिवर्तन गरेको छैन । पहिलादेखि जस्तो छ त्यही ठीक लाग्छ । बढ्दो उमेरसँगै जुँगा सेताम्मे भइसके तर कालो रंग लगाएर त्यसलाई ढाक्ने प्रयास गर्छु । सेतै जुँगा राखेर हिँड्दा त बूढो देखिइहालिन्छ नि ।
दु:खैदु:खको जीवन
यसपालिको माघ १ गतेले मलाई ५७ वर्षमा टेकाउनेछ । बैतडीमा निम्नवर्गीय परिवारमा जन्मिएको । बुवा रामदत्त भट्टराई र आमा सरस्वतीदेवीले संसार छोडिसक्नुभएको छ । मैले सुरुदेखि अहिलेसम्म धेरै दु:ख गरेको छु । रिक्सा पनि हाकेँ कुनै समय । मैले रिक्सा चलाउने बेलामा यो सहरको सडक साँघुरो थियो । अहिले सडक फराकिलो भयो, थुप्रै कुरा फराकिला भए भन्छन्  तर म सबै उस्तै देख्छु । किनकि अहिले पनि म उस्तै संघर्षमा छु । केही महिनाअघि मात्र शुल्क तिर्न नसक्दा जेठो छोराको कक्षा १२ को परीक्षा छुट्यो । स्कुलमा पढिरहेका अरू बच्चाको फी तिर्न सकेको छैन । घरबेटीको भाडा उस्तै बाँकी छ । काम गरे पनि पैसा दिन निकै गाह्रो मान्छन् । पैसा दिन बाँकी दुइटा कम्पनीले झुलाएको झुलायै छन् ।
कला र भेषभूषाका कामबाहेक मैले अभिनय र गायनमा पनि हात हालेको छु । ०३२ सालमा रेडियो नेपालबाट देउडा गीत रेकर्ड गराएको थिएँ । सिरियल र विज्ञापनमा पनि अभिनय गरेको छु । विज्ञापनका लागि अफर आइरहन्छ । जर्मनी, जापान, हङकङ, थाइल्यान्ड, मलेसिया र भारतका विभिन्न विज्ञापनमा खेलेको छु । जुँगाकै कारण मलाई ती विज्ञापन हात परेका हुन् ।  मैले विभिन्न विदेशी ज्वाइन्ट भेन्चर फिल्महरूमा पनि काम गरेको छु । कतिमा कलानिर्देशक भएर त कतिमा भेषभूषा डिजाइन गरेर ।
त्यसताका भारतीय, पाकिस्तानी, श्रीलंकन, बंगलादेशी र नेपाली फिल्मको सुटिङ हुन्थ्यो यहाँ । ‘धर्तीआकाश’, ‘जीवन ज्योती’, ‘टाइगर’, ‘ममता’, ‘भावदी चुरिया’लगायत फिल्ममा काम गरेँ । नेपाली फिल्म कम बन्थे । मुस्किलले १/२ वर्षको अन्तरालमा फिल्मको काम पाउँथेँ । फिल्ममा मात्र भर परेर पेट पाल्न सक्ने स्थितिमा थिइनँ । अनेक काम गरें । रिक्सा चलाएँ, गुच्चावाला सोडा बेचेँ । कपडा कारखानामा काम गरेँ । अनि सामान ओसारपसार गरेँ । जुँगा एकदम लामालामा हुन्थे, कानमा बेरिएर गुजुल्टिएका । बाकसहरू काँधमा राखेर बोक्दा जुँगा तानिएर साह्रै दुख्थ्यो । त्यसबेला त काटिदिऊँ कि क्या हो जस्तो पनि पनि लाग्थ्यो । अब त जेठो छोरोको पनि दाह्री–जुँगा आइसकेको छ, मेरो जस्तै गरी । मेरो जुँगा र उसको जुँगामा एउटै रङ देख्छु – निम्नवर्गीय कलरको ।
प्रस्तुति : सरोज ढुंगाना

प्रतिक्रिया