वैदेशिक रोजगारीमा साढे छत्तीस करोड ठगी

काठमाडौं, ८ मंसिर । वैदेशिक रोजगारीका नाममा चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा मात्र साढे ३६ करोड रुपियाँ ठगी भएको छ । रोजगारीका लागि विदेश पठाउने भन्दै म्यानपावर कम्पनी, एजेन्ट र विभिन्न कन्सल्टेन्सीले सो रकम ठगी गरेको भन्दै वैदेशिक रोजगार विभागमा दाबी रकमसहित उजुरी परेको हो ।
विभागका अनुसार चालु आवको कात्तिक मसान्तसम्म वैदेशिक रोजगारीका नाममा म्यानपावर कम्पनी, एजेन्ट र कन्सल्टेन्सीबाट भएको ठगीलाई लिएर सात सय ८२ उजुरी परेका छन् । ती उजुरीमा ३६ करोड ४६ लाख ५६ हजार तीन सय सात रुपियाँ ठगी भएको भन्दै बिगो दाबी भएको विभागले जनाएको छ ।
यसरी ठगी भएको रकममध्ये सबैभन्दा बढी व्यक्तिगत उजुरीमा रहेको जनाइएको छ । यो अवधिमा व्यक्तिगत ठगीलाई लिएर चार सय ७० वटा उजुरी परेका छन् । ती उजुरीमा २७ करोड २७ लाख ९१ हजार तीन सय आठ रुपियाँ ठगी रकम बिगो दबी भएको विभागले जनाएको छ । यसैगरी कात्तिक मसान्तसम्म संस्थागत रूपमा (म्यानपवार कम्पनीबाट) भएको ठगीलाई लिएर तीन सय १२ वटा उजुरी परेका छन् । ती उजुरीमा नौ करोड १८ लाख ६४ हजार नौ सय ९९ रुपियाँ बिगो दबी भएको जनाइएको छ ।
यस्तै, कात्तिक महिनामा मात्र रोजगारीका नाममा व्यक्तिगत रूपमा ३४ लाख ५४ हजार एक सय रुपियाँ ठगी भएको भन्दै बिगो दाबीसहित ५५ उजुरी विभागमा परेका छन् । सो महिना संस्थागत रूपमा एक करोड १६ लाख ७७ हजार पाँच सय ५९ रुपियाँ ठगी भएको दाबी बिगोसहित ४३ उजुरी वैदेशिक रोजगार विभागमा परेका छन् । विगतका महिना संस्थागतभन्दा बढी व्यक्तिगत ठगीका उजुरी र बिगो दाबी हुने गरेको भए पनि कात्तिकमा भने व्यक्तिगत ठगीका घटनालाई लिएर कम उजुरी परेको विभागले जनाएको छ ।
वैदेशिक रोजगारीलाई सरकारले समयसापेक्ष व्यवस्थित र मर्यादित बनाउँदै लगेको बताइरहँदा ठगीका घटनालाई लिएर परेका उजुरीको फरफारक भने ज्यादै न्यून हुने गरेको छ । विभागकै तथ्यांकअनुसार चालु आवको कात्तिक मसान्तसम्म व्यक्तिगत रूपमा परेका उजुरीमा भएको बिगो दाबीमध्ये ९१ लाख ४७ हजार एक सय रुपियाँ मात्र बिगो फरफारक भएको छ । यस्तै, संस्थागत उजुरीमा दाबी भएको रकममध्ये सो अवधिसम्म ७५ लाख ७१ हजार आठ सय रुपियाँ रकम फरफारक भएको छ । साथै सो अवधिमा एक सय ३४ जाहेरी फरफारक भएको र ५१ उजुरीमाथि अदालतमा मुद्दा दायर भएको विभागले जनाएको छ ।
चालु आवमा रोजगारीका लागि विभागबाट अन्तिम स्वीकृति लिनेको संख्या एक लाख २४ हजार तीन सय ९४ जना पुगेको विभागले जनाएको छ । यद्यपि यो संख्या गत आवको सोही अवधिको तुलनामा भने २० दशमलव ६३ प्रतिशतले कमी हो । गत आवको कात्तिक मसान्तसम्म एक लाख ५६ हजार सात सय ३० जना रोजगारीका लागि बिदेसिएका थिए । चालु आवको कात्तिकसम्म घर विदामा आई पुन: श्रम स्वीकृति लिएर बिदेसिनेको संख्या ४१ हजार तीन सय ७७ जना पुगेको छ ।

प्रतिक्रिया