इन्जिनियरको आदेशमा सहायकले घुस लिए

हेटौंडा, ८ मंसिर । हेटौंडा नगरपालिकाका इन्जिनियर सत्यनारायण शाहले आफू मातहतका कर्मचारी प्रयोग गर्दै सेवाग्राहीबाट काम गरेबापत कमिसन उठाउने गरेको खुलासा भएको छ ।
नगर क्षेत्रभित्र निर्माण हुन लागेका घरका नक्सा बनाउने क्रममा सेवाग्राहीलाई विभिन्न बहानामा काम गलत भएकाले नक्सा दिन नमिल्ने भन्दै फर्काउने गरेको र आफू मातहतका कर्मचारी प्रयोग गर्दै काम गरिदिएबापत रकम लिने गरेको खुलेको हो । नक्सा बनाउनुभन्दा पहिले घर निर्माण सुरु गरेको वा नक्साबमोजिम नभई घर ठूलो बनेको बहानामा शाहले रकम असुलेको सेवाग्राहीले बताए ।
नगरपालिकामा आएका सेवाग्राहीलाई भने अनुसारको काम नभएको भन्दै जरिवाना कटाउँदै पुन: काम गर्नका लागि पाँच हजार रुपियाँभन्दा बढी रकम माग्ने गरिएको सेवाग्राहीले गुुनासो गरे । शाहले आफू मातहतका प्राविधिक सहायक केवलकुमार श्रेष्ठलाई प्रयोग गर्दै आर्थिक चलखेल गरेका हुन् । घरको नक्सा पास गर्न पटकपटक नगरपालिका धाएका हेटौंडा–४ का कपिलप्रसाद खतिवडा र कर्राका हरिप्रसाद दुवाडीसँग श्रेष्ठले काम बिग्रिएको बहानामा घुस लिएका थिए । एक हातले घुस दिँदै गर्दा अर्को हातले फोटो खिच्न भ्याएका खतिवडाले घटनालाई सार्वजनिक गरेका हुन् ।
घटना सार्वजनिक भएपछि बेपत्ता भएका इन्जिनियर शाह पटकपटक फोन गरेपछि मात्र कार्यालय आएका थिए । श्रेष्ठले आफूसँग पाँच हजार रुपियाँ नभएको र तीन हजारले हुने भए दिन्छु भनेपछि काम गरिदिएको उनले बताए । दिइएको रकममध्ये आठ सय रुपियाँको रसिद पाएको र अन्य रकम उनीहरूले खाएका थिए । शाहको टोलीले कर्राका दुवाडीसँग पनि एक हजार सात सय रुपियाँ लिएका थिए । सिमरास्थित सूर्य टोबाकोमा कार्यरत दुवाडीले आफूसँग एक हजार पाँच सय रुपियाँ मात्र रहेको र दुई सय रुपियाँ सिमरा जान भाडा भन्दै राखेको पैसा दिएको बताए । रकम दिइए पनि दुई सय रुपियाँको मात्र बिल पाएको र एक हजार पाँच सय रुपियाँ घुस खाएको पाइएको हो ।
घटना सार्वजनिक भएपछि इन्जिनियर शाहले प्राविधिक सहायक श्रेष्ठले खतिवडालाई दुई हजार दुई सय र दुवाडीलाई एक हजार पाँच सय रुपियाँ फिर्ता गर्न लगाएका थिए । इन्जिनियर साहले आफूले कसैलाई घुस लिन नभनेको दाबी गरे । नगरपालिकाका अधिकांश निर्माणका काममा केही प्रतिशत रकम छुटयाएपछि मात्रै उनले काम गरिआएको बिल सिफारिस गर्ने गरेको सेवाग्राहीको आरोप छ ।
दुवाडी र खतिवडाले फिर्ता गरिएको रकमसहित सिडियो कार्यालय मकवानपुरमा उजुरी दिएका छन् । उजुरी बुझ्दै सिडियो दुर्गा भण्डारीले घुस लिएका कर्मचारीलाई बयानका लागि नियन्त्रणमा लिइएको बताए ।

प्रतिक्रिया