जेलमै गाडियो कसाबलाई

मुम्बई : सन् २००८ मा भारतको आर्थिक राजधानी मुम्बईमा गराइएको आतंककारी हमलामा संलग्न भई पक्राउ परेका अजमल कसाबलाई बुधबार मृत्युदण्ड दिइएको छ । मृत्युपछि उनको शव जेल परिसरमै गाडिएको छ । काराकारभित्रै कसबलाई फाँसी दिइएको हो । उनी पाकिस्तानी नागरिक हुन् ।
भारतीय राज्य महाराष्ट्रका मुख्यमन्त्री पृथ्वीराज चौह्वानले कसाबको लास येरावदा जेलपरिसरभित्रै गाडिएको जानकारी दिए । कासबलाई पुनेको येरावदा जेलमा दुई दिनअघि सारिएको थियो ।
सन् २००८ को नोभेम्बर २६ मा अन्य दस साथीका साथ पाकिस्तानबाट समुद्री मार्ग हुँदै मुम्बई भित्रिएर आतंकवादी हमलामा कसाब संलग्न भएका थिए । मुम्बईको शिवाजी रेलवे स्टेसन, ताज होटल र ट्राइटेड होटलसहित सहरका विभिन्न इलाकालाई उनीहरूले आक्रमणको निसान बनाएका थिए । आक्रमणमा परी एक सय ६६ को ज्यान गएको थियो भने अन्य सयौँ घाइते भएका थिए । सो घटनाका उनी एकमात्र जीवित दोषी थिए ।
महाराष्ट्रका गृहमन्त्री आरआर पाटिलले कसाबलाई बुधबार बिहान स्थानीय समयअनुसार बिहान साढे सात बजे फाँसी दिएको जानकारी दिए । उनको मृत्युदण्ड मुम्बई हमलामा मारिएकाप्रतिको श्रद्धाञ्जली भएको उनले सुनाए ।
उनलाई भारतको सुरु अदालतले सन् २०१० को मे महिनामा दोषी ठहर गरेको थियो । आतंकवादी हमला भएको चार वर्षपछि उनलाई मृत्युदण्ड दिइएको हो । यसअघि मृत्युदण्डविरुद्ध उनले गरेको अपिललाई भारतको सर्वोच्च अदालतले अस्वीकार गरिदिएको थियो । अदालतको फैसलापछि पनि उनले भारतीय राष्ट्रपति प्रणव मुखर्जीसमक्ष क्षमादान मागेका थिए । तर, मुम्बई हमलामा मारिएका परिवारका आफन्तले क्षमादानको चर्को विरोध गरेपछि राष्ट्रपति मौन बसेका थिए ।
पाकिस्तानलाई औपचारिक जानकारी
कसाबलाई दिइएको मृत्युदण्डबारे भारतले पाकिस्तान सरकारलाई बुधबार औपचारिक जानकारी गराएको छ । भारतका केन्द्रीय गृहमन्त्री सुशीलकुमार सिन्धेले विदेश मन्त्रालयले बुधबारै पाकिस्तान सरकारलाई यसबारे खबर गरिसकेको जानकारी दिए ।  (एजेन्सी)

यरावेदा जेलका अधिकारीका अनुसार फाँसी लाग्नुअघि पाकिस्तानी नागरिक अजमल कसाबले प्रार्थना गरेका थिए । मृत्युअघि उनी उदास देखिएको र शान्त मुद्रामा उनले प्रार्थना गरेका थिए ।
‘उनको ‘बडी ल्याङवेज’ हेर्दा उनी साह्रै उदास छन् भन्ने प्रस्ट देखिन्थ्यो । तर, उनलाई राखिएको जेलबाट फाँसी दिने ठाउँसम्म पुर्‍याउँदा उनी केही बोलेनन्,’ जेल अधिकारीलाई उद्धृत गर्दै टिओआईले लेखेको छ । झुन्ड्याइनुपूर्व कसाबले मृत्युदण्डबारे आफ्नो परिवारलाई अग्रिम जानकारी गराइए–नगराएकोबारे जिज्ञासा राखेको र जवाफमा जेल अधिकारीले जानकारी गराइएको जवाफ दिएको समाचारमा जनाइएको छ ।
येरावदा जेलमा लगिनुअघि कसाबलाई मृत्युदण्डसम्बन्धी पत्रमा हस्ताक्षर गराइएको थियो । एक जेल अधिकरीले पत्र पढेर सुनाउँदै राष्ट्रपतिसमक्ष कसाबले गरेको क्षमादानको अपिल अस्वीकृत भएको जानकारी दिएका थिए ।

प्रतिक्रिया